भर्खरै

उपत्यकामा अनियमित बिजुली काटिने समस्या आजबाट अन्त्य हुन्छः प्राधिकरण

  • प्रकाशित मिति : बुध, पौष १५, २०७७
  • - ऊर्जा खबर
title

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिन यता उपत्यकामा हुँदै आएको अनियमित विद्युत् कटौतीको समस्या आज (पुस १५ गते, बुधबार) बाट अन्त्य हुने दाबी गरेको छ । चिसो बढेसँगै विद्युत्को माग बढ्दा प्राविधिक कारणले आएको समस्या समाधानको काम भइरहेको छ ।
 
माग र आपूर्तिबीच सन्तुलन (लोड) मिलाउने काम भइरहेको हुँदा आजबाट समस्या करिब समाधान हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘माग बढ्दा मिनभवन सबस्टेसनले लोड धान्न नसक्दा ट्रिप हुने समस्या दोहोरिएको छ,’ उनले  भने, ‘साँझसम्म सबै समस्या समाधान हुन्छ ।’
 
न्यौपानेका अनुसार मिनभवनस्थित ६६ केभी सबस्टेसनमा भक्तपुर र लखनखेलको पाटन सबस्टेसनबाट आपूर्ति लिन मिल्छ । तर, त्यहाँ एउटा मात्र बसबार रहेको हुँदा एक पटकमा एक ठाउँबाट मात्र अर्थात् भक्तपुर (ठिमी) वा पाटनबाट मात्र विद्युत् लिन मिल्छ । दुबै ठाउँबाट एकै पटक विद्युत् लिन मिल्ने भएको भए समस्या हुने थिएन ।
 
प्राधिकरणले भक्तपुरका लागि आवश्यक लोड (विद्युत्) बानेश्वरबाट दिने र बानेश्वर अर्थात् मिनभवन ११ केभी लाइनमा भएको ओभर लोड (चाप) पाटन सबस्टेसन सार्ने काम गरिरहेको छ । यो व्यवस्थापन मिल्ना साथ अनियमित वा झ्याप–झ्याप लाइन काटिने समस्या अन्त्य हुने न्यौपानेले दोहोर्याए ।
 
गत वर्ष यही समयमा पनि भक्तपुर सबस्टेसन ओभर लोड भएर करिब एक साता समस्या देखिएको थियो । त्यतिबेला त्यहाँ १३२/११ केभिएको ट्रान्सफर्मर फेरेपछि समस्या समाधान भएको थियो ।
 
केही दिन अगाडि मध्यमस्र्याङ्दी जलविद्युत्गृहको एउटा युनिटमा समस्या आउँदा देशैभरि विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । मध्यमस्र्याङ्दीको उत्पादन घट्नु, भारतबाट आयात हुने विद्युत्को चाप बढ्नु र ढल्केबरबाट काठमाडौं आउने लाइन ओभरलोड हुँदा समस्या देखिएको प्राधिकरणले जनाएको थियो ।
 
यही विषयलाई विभिन्न व्यक्ति तथा क्षेत्रबाट पुनः लोडसेडिङ हुन लागेको प्रचार गरिएको थियो । पछिल्लो केही दिन यता उपत्यकामा भइरहेको अनियमित आपूर्तिलाई समेत लोडसेडिङसँग जोडेर हल्ला फैलाइएको छ । यद्यपि, गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरण व्यवस्थापन संवेदनशील र जिम्मेवार हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया