भर्खरै

प्रसारण लाइनको अनिश्चितता, सिंगटी कोरिडोरका आयोजनाको विद्युत् उत्पादन समय सारिँदै

  • प्रकाशित मिति : बिही, पौष १६, २०७७
  • - Admin
title

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्न नसकेपछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनमा जोडिने आधा दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समय सार्न लागिएको छ ।
 
प्राधिकरणको लाचार प्रवृत्ति र गैरजिम्मेवारीका कारण यस कोरिडोरमा निर्माण भएका आयोजनाको उत्पादन अवधि (आरसिओडी) सारिँदै आएको छ । प्रसारण लाइन निर्माण अन्तिम चरणमा रहे पनि सिन्धुपाल्चोकमा ४ वटा टावरभित्रको जग्गा विवादका कारण काम पूरा हुन नसकेको प्राधिकरणको दाबी छ ।
 
२५ मेगावाटको सिंगटी खोला, ४० मेगावाटको खानी खोला–१, ३० मेगावाटको खानी खोला, ६.४ मेगावाटको सुरी खोला र ११ मेगावाटको तल्लो खारे खोलाले विद्युत् उत्पादनको अवधि थपिदिन प्राधिकरणमा आवेदन दिएका छन् । कहिलेसम्म आरसिओडी थपिरहने भन्ने प्रश्नको जवाफ प्राधिकरणसँग छैन ।
 
एक उच्च अधिकारीका अनुसार प्रसारण लाइन जहिलेसम्म पूरा हुँदैन त्यतिबेलासम्म त्यस क्षेत्रका आयोजनाको विद्युत् उत्पादन अवधि थपिरहनेछ । सिन्धुपाल्चोकको झिंगानेमा निर्माण हुने ४ वटा टावरमा लामो समयदेखि जग्गाको विवाद छ । स्थानीयले कसै गरे पनि टावरमा काम गर्न नदिएपछि शुक्रबार सुरक्षा संयन्त्र परिचालन गरेर भए पनि काम गर्ने तयारी भइरहेको छ ।
 
झिंगानेस्थित १०७ नम्बर टावरमा अझ बढी समस्या रहेकाले त्यहाँ सुरक्षा संयन्त्र नै परिचालन नगरी नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । उपलब्ध सबै विकल्प प्रयोग गरेर ३–४ महिनामा लाइनको काम पूरा हुने जनाइएको छ ।
 
यो प्रसारण लाइनमा जोडिने आयोजनामध्ये सिँगटी खोलाको निर्माण पूरा भइसकेको छ । प्राधिकरणले प्रसारण लाइन तयार गरेको भए सिंगटीबाट गत साउन १ गतेदेखि विद्युत् उत्पादन भइरहेको हुन्थ्यो । तर, अहिले आयोजनाले उपकरण परीक्षण गर्दै विद्युत्गृहका संरचना जोगाएर बसेको छ ।
 
सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अनुसार अहिलेसम्म आयोजनाले करिब ३४ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ । २०६७ सालमा मागेको भन्दा बढी राजस्व तिरेर किनेको यो आयोजना सरकारकै कारण रुग्ण बन्दै गएको छ ।
 
सुपर सिक्स मध्येको सिंगटीमा विद्युत् उत्पादन हुँदासम्म प्रसारण लाइन तयार नभए ४५ प्रतिशतसम्म प्राधिकरणले जरिवाना तिर्नुपर्ने प्रावधान छ । तर, प्राधिकरणले कोरोना महामारीको कारण देखाउँदै काबुबाहिरको परिस्थिति लागू भएकाले यस्तो जरिवाना नतिर्ने जानकारी गराएको छ ।
–ऊर्जा खबर 

प्रतिक्रिया