बुढीगण्डकीको मुआब्जामा असमानता, समान मूल्य निर्धारण गर्न समन्वय समिति धादिङको आग्रह

  • प्रकाशित मिति : Sun-12-Jan-2020
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, पुस । १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित  गोरखा र धादिङ जिल्लाको मुआब्जा निर्धारणमा असमानता देखिएको प्रति जिल्ला समन्वय समिति धादिङले असन्तुष्टि जनाएको छ । एकै प्रकारको जग्गाको पनि गोरखा तर्फ बढी मुआब्जा निर्धारण  भएको र धादिङ तर्फ कम  मूल्य निर्धारण भएको प्रति समन्वय समिति धादिङले असन्तुष्टि जनाएको हो ।  
२०६८ साल देखि चर्चामा आएको सो आयोजना २०७७ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि आयोजनाको बजार क्षेत्रको मुआब्जा निर्धारण उचित ढंगबाट हुन नसकेको समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठले बताए । 
 
गोरखा र धादिङको मुख्य सडक खण्ड

श्रेष्ठका अनुसार गोरखा तर्फ आरुघाट बजारको मुख्य सडकको पुरानो बजारको प्रतिआना रु ७ लाख निर्धाण गरीएको र धादिङ तर्फ विशालनगर आरुघाट बजारकाको मुख्य सडकको पुरानो बजारको रु ७ लाख नै निर्धारण गरीएको भए पनि गोरखा तर्फको मुख्य बजारको प्रतिआना रु ६ लाख ५० हजार र धादिङ तर्फ मुख्य बजारको प्रतिआना रु ६ लाख निर्धारण गरिएको उनले बताए ।  त्यस्तै मुख्य बजार मध्यपहाडी लोकमार्गको पक्कि पुल.( स्थुल खोलाको पुल) देखि भञ्ज्याङ हुँदै प्रहरी चौकी सम्मका दायाँ बायाँका घडेरी र फिल्म हल देखि विद्युत चोक सम्मका  दायाँ बायाँका जग्गाको प्रतिआना रु ६ लाख र धादिङको आरुघाट विशालनगर अन्र्तगत मुख्य बजारको मुख्य सडकमा पर्ने बम्बा कटेज पछि स्वामी चौतारा जाने बाटोको अन्तिम घर ( बासको भञ्ज्याङ) सम्म एवं साविक सल्यानटार गाविसको ८ ग र ९ ग को सीमाना देखि  बुढीगण्डकीको  पक्कि पुलसम्म मूख्य बाटोका दायाँ बायाँका जग्गाको प्रतिआना रु ५ लाख निर्धारण भएको छ । त्यस्तै गोरखा तर्फ अस्पतालचोक देखि चाँप पानी खोला सम्म मुख्य सडकको दायाँ बायाँ प्रतिअना रु ३ लाख र धादिङको मुख्य सडक मध्यपहाडि लोकमार्ग स्वामी चौतारा जाने बाटोको अन्ति घर ( बाँसको भञ्ज्याङ) देखि  साविक सल्यानटार गाविसको ८ ग को सीमाना सम्मका दायाँ बायाँ प्रतिआना रु २ लाख ५० हजार कायम गरिएको छ । 
 
शाखा सडक गोरखाको आरुघाट बजार र धादिङको विशालनगर आरुघाट बजार 

शाखा सडक (क) विद्युत चोकको पछाडि पट्टिको टोल देखि कार्की चोक सम्मको मोटरजाने सडकका दायाँ, बायाँ का जग्गा प्रतिआना रु ५ लाख ५० हजार र धादिङ तर्फ शाखा सडक (क) ग्लोवल बोर्डिङ्ग सम्मका  दायाँ बायाँ जग्गाको प्रतिआना रु ३ लाख कायम गरिएको छ । गोरखा तर्फ शाखा सडक (ख)  अकला अन्नपूर्ण चोकको १४० मिटर उत्तरको विन्दुबाट बुढीगण्डकी पक्कि पुल जाने बाटो सम्मको सडकको दायाँ बायाँ र हस्पिटल चोकबाट बुढीगण्डकी पक्कि पुल तर्फ आउने खोला किनार छेउको बाटोको दायाँ बायाँको जग्गा प्रतिआना रु ४ लाख ५० हजार र धादिङको वनदेवी मार्ग हुँदै सानो गाउँ जाने सडकको दायाँ बायाँको जग्गा प्रतिआना २ लाख ५० कायम गरिएको छ । गोरखा तर्फ अन्य शाखा बााटोको दायाँ बायाँ जग्गाको प्रतिआना रु ४ लाख  र धादिङतर्फ शाखा मोटरबाटोको प्रतिअना रु २ लाख २५ हजार कायम गरिएको छ ।  त्यस्तै गोरखा तर्फ गोरेटो बाटेको दायाँ बायाँ जग्गाको प्रतिआना रु २ लाख र धादिङ्को गोरेटो बाटोको रु १ लाख ५० हजार निर्र्धारण गरिएको छ । त्यस्तै गोरखा तर्फ मुख्य सडक खण्डक क र ख देखि ६० फिट पछाडिको अर्को ६० फिट सम्मका जग्गा प्रतिआना रु २ लाख ५०हजार कायम गरिएको छ । त्यस्तै ६० फिट पछिका गोरखा र धादिङ को जग्गाको प्रतिआना रु ५० हजार कायम गरिएको छ । 
 
गोरखाको आर्खेत बजार र धादिङको खहरे बजार

गोरखाको आर्खेत बजारको मोटर बाटोको दायाँ बायाँ ६० फिट सम्मको प्रतिआना रु  १ लाख २० हजार  र ६० फिट पछाडिका सबै जग्गाको प्रतिआना रु ५० हजार कायम गरिएको छ । त्यस्तै धादिङ तर्फत झोलुङ्गे पुल देखि मध्य पहाडी लोकमार्गमा पर्ने पुरानो बजारबाट आउने बाटोको चोक नजिकैको आँपको रुख सम्मको दायाँ बायाँ ६० फिट सम्म लम्बाई भएको जग्गाको प्रतिआना रु १ लाख २० हजार र ६० फिटभन्दा बढी थप ४० फिट लम्बाई सम्मका जग्गा प्रतिआना रु १ लाख कायम गरीएको छ । मध्यपहाडि लोकमार्गबाट पुरानो खहरे बजार क्षेत्रको पुरानो बाटोका दायाँ बायाँका जग्गा ६० फिट सम्म लम्बाई भएका जग्गाको प्रतिआना रु १ लाख १५ हजार,६० फिटभन्दा बढी थप ४० फिट लम्बाई सम्मका जग्गा प्रतिआना रु  १ लाख ५ हजार र पुरानोबजार बाट आउने बाटोको चोक नजिकैको आँपको रुख देखि निउरिनी खोला सम्म सडकका दायाँ बायाँका ६० फिट लम्बाई भएका जग्गा प्रतिआना १ लाख १० हजार र ६० फिटभन्दा बढी थप ४० फिट लम्बाई सम्मका जग्गा प्रतिआना रु ९० हजार कायम गरिएको छ । पुरानो बजार क्षेत्रमा उत्तर तर्फ ५४५ मिटर सम्म बाटोको भाग बाट १०० फिट पछि बाँकी क्षेत्रलाई प्रतिआना ५० हजार कायम गरीएको छ । 
 
धादिङ र गोरखाको निर्धारित मुआब्जा लाई तुलनात्मक रुपमा हेर्दा गोरखा तर्फ बढी मुल्य निर्धारण भएको र धादिङ तर्फक कम मुल्य निर्धारण गरीएको श्रेष्ठले बताए । धादिङ तर्फको मुआब्जा रकम र वर्गिकरण नमिलेको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसको समाधानका लागि सम्बन्धित सरकारी निकायलाई अनुरोध गर्दै आएको बताए । 

प्रतिक्रिया