१० युनिट विद्युत ३० रुपैयाँमा उपलब्ध गराउने प्रधिकरणको तयारी

  • प्रकाशित मिति : Mon-06-Jan-2020
  • - Admin
title

काठमण्डौ, पुस । नेपाल विद्युत प्राधिकरणले १० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमा विद्युत उपलब्ध गराउने तयारी गरी रहेको छ । १० युनिट भन्दा कम विद्युत खपत गर्ने परिवारहरु गरिबिको रेखामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया तिरे पुग्ने व्यवस्था गर्न प्राधिकरणले तयारी गरेको हो । 
 
त्यस्तै विद्युत खपत बढाउन शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने योजना बनाएको ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए ।
 
 विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको भएपनि तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो । सुरुवातमा १० हजार चुलो अनुदानमा दिने र बिस्तारै बढाउँदै जाने मन्त्री पुनले बताए । 
 
विद्युतीय चुलोमा आगामी बजेटबाट अनुदान दिने तयारी भएको उनले बताए ।  विद्युतीय  चुलोमा ३ हजार देखि ३५ सय रुपैयाँ सम्म छुट दिने गरी तयारी भएको छ । विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय चुलो बनाउने कम्पनी खोल्न रुची देखाएको र कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए । 
 
मन्त्री पुनका अनुसार हाल मासिक २० युनिटसम्मका ग्राहक २० लाख घर धुरी छन् । यसमा १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गर्ने र सो भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ । १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन् ।
 
उनले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भइरहेको बताए । त्यस्तै ‘विद्युत्को डेडिकेटेड शुल्क पनि हटाउने तयारी भएको उनले जानकारी दिए । यसका लागि आवश्यक अध्ययन समिति बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको मन्त्री पुनले बताए । 

प्रतिक्रिया