भर्खरै

‘इलेक्ट्रिसियन पेशालाई सम्मानित र मर्यादित बनाऔं’

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - विष्णुप्रसाद ढकाल अध्यक्ष,एकता इलेक्ट्रिसियन एशोसिएसन,कास्की
title


इलेक्ट्रिसियन पेशा एउटा आफैमा जोखिमपूर्ण पेशा हो । नेपालमा यो पेशालाई अन्य पेशालाई जति सम्मान र मर्यादित पेशाका रुपमा लिईरहेको अवस्था छैन । अरु पेशाालाई हेरी यस पेशालाई सरकारले पनि बेवास्ता गरिएको अवस्था छ । आफ्नो ज्यानको बाजी राखेर अरुलाई हमेशा उज्यालो दिने यो पेशालाई नै सरकारले किन वेवास्था गरिरहेको छ । यस पेशाका लागि कुनै पनि ऐन नियमहरु निर्माण भएको छैन । त्यसैले सरकारले यो क्षेत्रमा पनि जतिसक्दो चाडो नियमहरु बनाएर पेशालाई सम्मानित र मर्यादित बनाउन जरुरी छ । नेपालमा प्राविधिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुले हाल सम्म भोग्दै आएको समस्या,अबका दिनमा महासंघ तथा संघले चाल्नुपर्ने कदमहरु यस पेशामा सुधार गर्नुपर्ने विषयहरु लगायतका सन्र्दभमा विद्युत संसार साप्ताहिहका शिखर श्रेष्ठले एकता इलेक्ट्रिसियन एशोसिएशन,कास्कीका अध्यक्ष विष्णुप्रसाद ढकालसँग गरेको कुराकानीको केही अंशः
 
 
एकता इलेक्ट्रिसियन एशोसियसन कास्कीको बारेमा बताईदिनुहोस् न ।

एकता इलेक्ट्रिसियन एशोसियसन कास्कीको स्थापना वि.स २०६९ साल भदौ १५ गते कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी स्थापना भएको हो । यस संस्थाले स्थापनाको समयदेखि नै विद्युतीय व्यवस्थापनमा जुटेका सम्पूर्ण इलेक्ट्रिसियन तथा प्राविधिकहरुको हकहितका लागि काम गर्र्दै आईरहेको छ । यस संस्थाले इलेक्ट्रिसियनहरुको साझा समस्याहरुको छलफल गरी यो इलेक्ट्रिसियन पेशालाई मर्यादित र आत्मनिर्भर पेशा बनाउन लागि परेर काम गरिरहेका छौं ।
 
तपाईहरुले यस संंस्था स्थापना गर्नुको मुख्य उद्धेश्य के रहेको छ ? यस बारे केही बताईदिनुहोस् न ।

हामीले यस संस्थाको स्थापना गर्नुको मुख्य उद्धेश्य भनेको इलेक्ट्रिसियन पेशालाई मर्यादित,एक सम्मानित र आत्मनिर्भरको पेशा बनाउनको लागि हामीले संस्था स्थापना गरेका हौं ।  मैले यस पेशामा २०४८ साल देखि निरन्तर रुपमा काम गर्दै आईरहेको छु । त्यो समयमा काम गर्दै जाने क्रममा विभिन्न किसिमका समस्याहरु आईपरे । ती समस्या समाधानका लागि छलफल गर्न कुनै पनि जिल्ला स्तरका संघ संस्थाहरु थिएन । हाम्रा पालामा हाम्रो समस्याहरुको समाधानका लागि छलफल गर्नका कुनै संस्थाहरु नहुँदा हामीले भोगेको समस्या अबका टेक्निसियनहरुले भोग्न नपरोस भनेर नै संस्था स्थापना ग¥यौं । हाम्रा जतिपनि समस्याहरु छन् ती सबै समस्याहरु हामी आफ्नै मञ्चमा छलफल गरौं । यदि आफ्नो मञ्चबाट समाधान गर्न नसके आधिकारिक निकायसम्म जानुपर्ने समयमा हामी पुरा तयारीका साथ एक जुट भई माग गर्न जाउ भन्ने सोचका साथ हामीले संस्थाको स्थापना गरेका हौं ।  हामीले यो संस्थाबाट फाइदा लिने हिसाबले नभई इलेक्ट्रिसियनहरुको हितका लागि काम गर्ने उद्धेश्य संस्थाले लिएको छ । हामीले भावी पुस्ताहरुका लागि यो पेशा मर्यादित र लाभान्वित छ त्यस्तै स्वदेश भित्र नै आत्मसम्मानका साथ बाँच्न सकिन्छ भन्ने उद्धेश्य पुर्तिका लागि लागिपरेका हांै र लागि परिनै रहने छौं ।
 
इलेक्ट्रिसियन संघ भन्ने बित्तिकै इलेक्ट्रिसियनहरुको हकहितका लागि स्थापना भएको मानिन्छ । तपाईहरुको यस संंघबाट इलेक्ट्रिसियनले के पाउने र भोलिका दिनमा कस्तो कुराको आशा गर्ने त ?

अहिलेको अवस्थामा पेशागत हकहितका सवालमा काम गर्ने संघ संस्थाहरु संख्यात्मक रुपमा धेरै नै स्थापना भईसकेका छन् । तर यस्ता संस्थाहरुको प्रचारप्रसारको कमीका कारण संस्थामा कमै मात्रामा सदस्यहरु आवद्ध भएको देखिन्छ । हामी हाम्रो यस संस्थाबाट विभिन्न किसिमका तालिम, अर्धदक्ष इलेक्ट्रिसियनहरुलाई तालिम दिई दक्षता बनाउने र दक्षताको परिचयपत्र दिने , दररेट र इलेक्ट्रिसियनहरुको उचित पारिश्रमिक निर्धारण गर्ने लगायत कामहरु हाम्रो संघबाट हुने छ । त्यसैले हाम्रो संघबाट इलेक्ट्रिसियनहरु यी कुराहरुको आशा गर्न सकिन्छ ।  
हालसम्म वास्तवमा भन्नुपर्दा राजनैतिक रुपमा ट्रेड युनियन कांग्रेस,क्युपेकहरु स्थापना भएको छ तर यिनीहरुले समग्रमा कामदारहरको प्रतिनिधित्व गरेका छौ भन्छन् तर कुनै पनि निकायगत कामदारहरुको समस्या समाधान भने गरेको अहिले सम्म पाएका छैनौं ।
 
इलेक्ट्रिसियनहरुको परिचयपत्र, दररेटका कुराहरु बेला–बेलामा संघहरुले कुरा उठाईरहेको छ तर पनि यसको उचित कार्यान्वयन भने भएको देखिदैन । के यसको कार्यान्वयन सम्भव छैन ?

असम्भव भन्ने चिज त केहि पनि हुँदैन , गरे जे पनि सम्भव छ  । हामीले पनि यस विषयमा धेरै समय पहिले देखि नै कुरा उठिरहेको सुन्दै आईरहेका छौं । कुरा धेरै समय पहिले उठेपनि  पनि यसको उचित कार्यान्वयन  भने हुन सकिरहेको छैन । हिजोको समयमा समस्या नै उठाउन नसकेको अवस्था देखि अहिले समस्याको समधान खोजी कार्यान्वयन निकाय सम्म पुग्नुपर्छ भन्ने सवालमा हामी धेरै नै आशावादी छौं । अहिले यो विषय रफ्तारमा अघि बढी नै रहेको छ । यसलाई पूर्ण रुपमा अघि बढाई कार्यान्वयनको पक्षमा लैजान देशको राजनैतिक माहोल देख्दा सतप्रतिशत हुन्छ भन्न सकिदैन त्यसैले हामी जति सक्दो छिटो कार्यान्वयन गर्न अनवरत रुपमा प्रयासरत नै छौं । हामी यो पेशालाई विवाद रहित बनाई एउटा सम्मानित ,सुनिश्चित र मर्यादित पेशा बनाउन लागि परिरहनेछौं । 
 
तपाईहरु इलेक्ट्रिसियनहरु कै हकहितका लागि भनेर हालसालै मात्र महासंघ गठन गर्नु भएको छ ,त्यसो भए महासंघले अबका दिनमा इलेक्ट्रिसियनहरुका लागि के कस्ता कार्यहरु गर्नुपर्ला त ?

जिल्ला संघले जिल्ला भित्रका इलेक्ट्रिसियनहरुको गतिविधिलाई मात्र हेर्ने भएकोले सिंगो देशैभरका इलेक्ट्रिसियनहरुको गतिविधिलाई नजिक बाट नियाल्न कै लागि हामीलाई महासंघको आवश्यकता परेको हो । त्यसैले नै हामीले केही समय पहिले मात्र इलेक्ट्रिसियनहरुको गतिविधि नियाल्न नेपाल विद्युतीय प्राविधिक महासंघ गठन गरेका छौं । अब यस महासंघले एउटा आनै किसिमको कार्यक्रम प्याकेज बनाएर इलेक्ट्रिसियनहरुको  माग र समस्याहरुलाई समाधान गर्न सरकार तथा सम्बन्धित निकायसम्म पु¥याउने काम गर्नुपर्दछ । यस महासंघले जिल्ला संघको गतिविधिलाई कार्यान्वयनमा ल्याएसँगै अनुगमन समेत गरेर अगाडि बढ्नुपर्दछ । यस्तो गरेमा पटक–पटक आइरहेको इलेक्ट्रिसियनहरुको समस्याहरुमा अलि सुधार आउने छ भन्ने विश्वास महासंघबाट लिएका छौंं ।

तपाई एकता इलेक्ट्रिसियन एशोसिएशन को अध्यक्ष भईरहँदा अब कास्कीका इलेक्ट्रिसियनहरुको आशा के मा जाओस् भन्ने चाहनुहुन्छ ?
 
सबैभन्दा पहिले त यो पेशा मर्यादित हुनु आवश्यक छ । पेशा मर्यादित भएपछि यो पेशाबाट पनि जीवन गुजारा चलाउन सकिन्छ भन्ने अनुभुति हरेक सदस्यमा हुनुपर्छ । आफ्नो देश भित्रनै पसिना बगाई स्वदेशमा नै केहि गर्न सके आफ्नो सँगै देशको पनि हित हुनेछ भन्ने सोच हरेक इलेक्ट्रिसियन सदस्यहरुमा आउनुपर्छ । त्यस्तै यो पेशामा इलेक्ट्रिसियनहरुको पारिश्रमिक निर्धारण, बीमा, सुरक्षाका हिसाबले सेफ्टी साधनहरु बारेमा जानकार छैन, काम गर्ने दररेट निर्धारण भएको छैन त्यसैले यी कुराहरुमाको समाधान भई सहज वातावरणमा काम गर्न सकिने आशा गर्न सकिन्छ । 
 
अन्त्यमा संघमा आवद्ध नभएका इलेक्ट्रिसियनहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?

यो पेशामा काम गर्ने सबै इलेक्ट्रिसियनहरु संघमा आवद्ध हुन जरुरी छ किनकी यो पेशा अरु पेशा जस्तो सम्मानित र मर्यादित पेशा हुन सकिरहेको छैन । त्यसैले सम्मानित र मर्यादित र सम्मानित बनाउन सम्बन्धित निकायसम्म पुग्न हामी एक जुट भएर लाग्नुपर्ने देखिन्छ  । यसैले सबै सदस्यहरुलाई संघमा आवद्ध हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया