भर्खरै

बन्द रहेको गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन शुरु

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title

 
नवलपरासी,पुस । विगत करिव दुई महिनादेखि विद्युत उत्पादन बन्द रहेको गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन शुरु भएको छ । भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो । गत मङ्सिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको हो । पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत केन्द्रमा वर्षौँ देखि क्षमता भन्दा निकै कम विद्युत उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रमा जडित तीन टर्वाइन मध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ । 
 
हाल सञ्चालनमा रहेको २ नं टर्वाइन (एउटा मात्र) टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेको एउटा टर्वाइनसमेत उपकरण र मेसिनरीका सामान पुरानो हँुदासमेत टर्वाइनले समेत लक्ष्य अनुसारले विद्युत उत्पादन गर्न नसकेको हो । 
नेपाल–भारतबीच भएको गण्डक सम्झौता अनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । 
केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । नहरमा आवश्यकता अनुसार पानी आए पनि र राम्रा उपकरण नहँुदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरूपमा 
उत्पादन हुन सकेको छैन । करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरणहरु मर्मत वा फेर्नुपर्ने अवस्थामा रहेका छन् । 
 
केन्द्रलाई पूर्ण क्षमता अनुसार सञ्चालनमा ल्याउन मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्राविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ ।
 दैनिक १५ मेगावाट विद्युत उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब रु एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ । सो केन्द्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका छन् ।
केन्द्रमा रहेको सवस्टेशन मार्फत विद्युत भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ कबाट परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । सो विद्युत्गृह सन् १९७९ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया