भर्खरै

नेपालमा नै विद्युतीय सामग्री उत्पादन हुनुपर्छ

  • प्रकाशित मिति : Wed-15-Jan-2020
  • - हरिहर ज्ञवाली, अध्यक्ष,रुपन्देही विद्युतीय व्यवसायी संघ
title

 
बुटवलमा रहेर लामो समयदेखि विद्युतीय व्यावसायिक क्षेत्रमा आवद्ध हुँदै आउनुभएका रुपन्देही विद्युतीय व्यवसायी संघका नवर्निवाचित अध्यक्ष हरीहर ज्ञवाली सँग रुपन्देहीमा विद्युतीय व्यवसायीहरुको अवस्था , संघले गर्दै आएका कार्य, व्यावसायिक हितका लागि महासंघले गरेका कार्य,  आगामी कार्य योजना लगायत विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 
रुपन्देही विद्युतीय व्यवसायी संघको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ, संघलाई अगाडि बढाउन कस्ता योजना ल्याउँदै हुनुहुन्छ ? 

रुपन्देही विद्युतीय व्यवसायी संघ विद्युतीय व्यवसायीहरुको हकहितका लागि स्थापना भएको हो ।  संघले आफ्नो स्थापना देखि नै विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको छ । संघको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट म संघको अध्यक्ष पदमा सर्वसम्मतले निर्वाचित भएको छु । संघमा आवद्ध व्यवसायी साथीहरुको विश्वास बाट नै अध्यक्ष पदमा निर्वाचित भएको हो । व्यवसायीहरुको हक अधिकारका लागि, व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्दै संघलाई अघि बढाउने योजनामा छौ । त्यस्तै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै अघि बढ्ने छौ । व्यवसायीहरुलाई जे जस्ता समस्या पर्दछन् ति समस्या समाधानका लागि म सधै लागि पर्ने छु ।
 
संघले आफ्नो नीजि भवन र सामाजिक सेवाका लागि क्रियापुत्रि भवन निर्माण गर्न लागेको छ, यो कार्य कहिले सम्म सम्पन्न हुन्छ ?

हामीले संघको आफ्नो नीजि भवन निर्माण र सामाजिक सेवाका लागि क्रियापुत्रि भवन निर्माणका लागि पहल गर्दै आएका छौ ।  भवन निर्माणका लागि तिलत्तोमा नगरपालिकाले हामीलाई  तीन कठ्ठा जग्गा उपलब्ध गराईसकेको छ । त्यस्तै भवन निर्माणको डिपिआर समेत तयार गरिसकेका छौ । यद्यपि हामी सँग पर्याप्त मात्रामा बजेट नहुँदा हामीले तत्काल निर्माण कार्य अघि बढाउन सकेका छैनौ । बजेटका लागि हामीले सम्बन्धित निकायसँग पहल गर्दै आएका छौ । बजेटको व्यवस्था भएको दुई वर्ष भित्र यो योजना सम्पन्न हुने अनुमान गरेका छौ । यो आयोजना सम्पन्न गर्नका लागि करिव १ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौ । सो भवन निर्माण भए पश्चात संघलाई आफ्ना गतिविधिहरु संचालन गर्न  र तिलोत्तमा नगरपालिकामा रहेका स्थानीय बासिन्दाहरुलाई क्रियापुत्रि भवनले सहयोग पुग्ने अपेक्षा गरेका छौ । 
 
आगामी दिनमा कति वटा क्षेत्रमा समिति बनाएर काम गर्ने  योजनामा हुनुहुन्छ ? यसको बारे बताइदिनुहोस् न । 

संघलाई पारदर्शी एवं व्यवस्थित ढंगबाट अगाडि बढाउनु मेरो कर्तव्य एवं जिम्मेवारी हो । संघको अध्यक्ष पदमा निर्वाचित भए लगतै मैले ११ वटा फाइल बनाई सकेको छु । संघलाई अघि बढाउनका लागि विभिन्न विभागहरु गठन  गर्दै, यसमा संघको कार्य समितिका पदाधिकारीहरुलाई एउटा एउटा जिम्मेवारी दिदंै संघले गर्ने कार्यलाई व्यवस्थित र मर्यादित बनाउँदै अघि बढ्ने छौ । पदाधिकारीहरुले गरेका कार्यको  अनुगमन तथा मूल्याङ्कन पनि हुने छ । हाल हाम्रो १९ सदस्यीय नयाँ कार्य समितिको चयन भएको हो । 
 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियनहरु बीच कस्तो सम्बन्ध  हुनु आवश्यक छ ? यसका बारेमा बताइदिनुहोस् न ।

बजारमा आएका विद्युतीय सामग्रीहरु उपभोक्ता सम्म पु¥याउने माध्यम इलेक्ट्रिसियन हुन् । कुन विद्युतीय सामग्री गुणस्तरयुक्त छन् कुन–कुन गुणस्तरयुक्त छैन भन्ने विषयमा  इलेक्ट्रियनहरु जानकार हुन्छन् । विद्युतीय व्यवसायीहरु र इलेक्ट्रिसियन बीच गहिरो सम्बन्ध रहन्छ । यद्यपि कतिपय इलेक्ट्रिसियनहरुले विचौलियका रुपमा पनि काम गरी रहेको पाइन्छ । यो गलत कार्य हो । बुटवलमा यस्ता कार्यको अन्त्य भएको भए पनि कतिपय स्थानमा अझै कायम छ । यसको अन्त्य हुनुपर्दछ । अहिले प्रविधिको विकासले उपभोक्ता पनि सक्षम हुँदै गएका छन् । कुन ब्राण्डको विद्युतीय सामग्री हो,कति वर्षको वारेन्टी रहेको छ, कति मूल्यमा पाउन सकिन्छ भन्ने लगायतका जानकारी इन्टरनेटमा नै पाउने हुँदा उपभोक्ताहरु पनि सक्षम हुँदै गएका छन् । 
 
रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत ६ वटा नगर संघ रहेका छन्, नगर संघलाई कसरी परिचालित गर्ने योजनामा हुनु्हुन्छ ?

रुपन्देही विद्युतीय व्यवसायी अन्र्तगत ६ वटा नगर संघ रहेका छन् ।  विद्युतीय व्यवसायीहरुको सहजताका लागि हामीले नगर संघ स्थापना गरेका हौ । विद्युतीय व्यवसायीहरुलाई कुनै पनि समस्या पर्दा जिल्ला संघमा आउनु भन्दा नगर संघमा नै सहज र छिटो हुने हुँदा व्यवसायीहरुको सुविधाका लागि नगर संघ स्थापना गरेका हौ । नगर संघलाई  अघि बढाउनका लागि हामीले जिल्ला संघको हरेक मिटिङमा सहभागी गराउँदै आएका छौ । त्यस्तै हामीले नगर संघलाई व्यवस्थित बनाउनका लागि प्रत्येक नगर संघमा जिल्ला संघको एक–एक जना पदाधिकारीलाई नगर संघको इन्र्चाजका रुपमा खटाउने योजना बनाएका छौ । यस अनुरुप इन्चार्जले नगर संघमा कति काम भयो भएन भन्ने विषयमा अनुगमन गर्ने, व्यवसायीहरुको समस्यामा नगरसंघले कत्तिको सहयोग पु¥याउँदै आएको छ सो बारेमा अनुगमन गर्ने लगायतका काम गर्नका लागि इन्चार्जले  खटाउने व्यवस्था गर्न लागेका छौ । 
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघले जिल्ला संघहरुका लागि कस्ता कार्य गर्नु पर्ला यसको बारेमा बताइदिनुहोस् न । 

नेपाल विद्युतीय व्यवसायी महासंघ देशभरका विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । विद्युतीय व्यवसायीहरुको हक, अधिकारका लागि महासंघले कार्य गर्दै आएको छ । महासंघमा हालसम्म देशभरका २३  जिल्ला संघहरु आवद्ध छन् । महासंघ सम्पूर्ण जिल्ला संघहरुको अभिभावक हो । जिल्ला संघहरुलाई कसरी अघि लैजाने, जिल्ला संघका आवश्यकता तथा समस्या के हो, जिल्ला संघका माग लगायतका विषयमा महासंघले कार्य गर्ने गर्दछ । महासंघले जिल्ला संघहरुका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि महासंघले गरेका कतिपय कार्यहरुमा जिल्ला संघले पनि सुझाव सल्लाह दिदंै आएको छ । महासंघको उच्च गरीमा लाई मध्यनजर गर्दै आवश्यकता अनुसार जिल्ला संघले सुझाव दिने गरेको छ  ।   
 
व्यवसायीहरुको हितका लागि कस्ता कार्य गर्ने योजनामा हुनुहन्छ ?

विद्युतीय व्यवसायीहरुको हकहितका लागि  संघको स्थापना भएको हो । विद्युतीय व्यवसायीहरुको समस्या, आवश्यकता लगायतका विषयमा संघले कार्य गर्दै आएको छ । व्यवसायीहरुको आवश्यकता अनुसार व्यावसायिक हितका लागि काम गर्नु हाम्रो उद्धेश्य हो । आगामी दिनमा पनि व्यावसायिक हितका लागि यस्ता कार्य गर्छु भनेर सम्झौता गर्नु भन्दा आवश्यकता अनुरुप जस्ता कार्य आईपर्छ त्यस्तै गर्दै व्यावसायिक हितमा लाग्ने योजनामा छौ  । व्यवसायीहरुलाई समय समयमा आवश्यकता अनुसार व्यावसायिक प्रवद्र्धन तालिम, ट्याक्स भ्याट सम्बधि तालिम प्रदान गर्दै  जाने छांै । त्यस्तै गुणस्तरीय विद्युतीय सामग्री बिक्रि वितरणका लागि व्यवसायीहरुलाई प्रोत्साहन गर्दै जानेछौ । 
 
विद्युतीय सामग्री आयात गर्दा भन्सारमा कस्ता समस्या हुने गरेका छन् ?

विद्युतीय सामग्री आयातका क्रममा भन्सारमा समस्या हुने गरेको छ । विशेष गरी बुटवल भारतको सीमाना सँग नजिक भएको हुँदा भन्सार छलि गरेर सामग्री आयात गर्ने गरेको पाइन्छ । त्यस्तै उपभोक्ताहरु पनि भारतीय बजारमा गएर विद्युतीय सामग्रीहरु खरिद गर्ने गरेको पाइन्छ । यस सम्बन्धी हामीले समय समयमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौ भने विभिन्न सञ्चार माध्यमबाट पनि सचेना फैलाउँदै आएका छौ । त्यस्तै विद्युतीय सामगी आयात गर्दा भन्सार मूल्याङ्कन एकै किसिमको नहुँदा व्यवसायीहरु पनि मर्कामा पर्ने गरेका छन् यसका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनु जरुरी छ । 
 
व्यवसायीहरुको बीमाका विषयमा संघले कस्ता कार्य गर्दै आएको छ ?

हामीले व्यावसायिक हितका लागि संघ मार्फत बचत तथा ऋण सहकारी संस्था खोलेका छौ । सोही सहकारीमा व्यवसायी मात्र नभई व्यवसायीको परिवारको समेत बीमाको अवधारणा ल्याएका छौ । त्यस्तै स्वास्थ्य तर्फ गौतम बुद्ध सामुदायिक हस्पिटल सँग सहकार्य गरी व्यवसायीहरुका लागि केही छुट तथा सहुलियतको व्यवस्था गर्ने  योजनामा छौ ।
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपालमा जलविद्युत उत्पादन बढ्दै गएको छ । विद्युत उत्पादन बढे सँगै विद्युतीय सामग्रीको व्यवसाय पनि बढ्दै जाने अपेक्षा हामी व्यवसायीहरुको रहेको छ । विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीहरुलाई गुणस्तरीय  सामग्री आयात तथा बिक्रि वितरण गर्न आग्रह गर्दछु । त्यस्तै नेपालमा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग पनि आवश्यकता रहेको छ । उद्योग स्थापनाका लागि उद्योगीहरुलाई सरकारले आवश्यक प्रोत्साहन गर्नुपर्दछ । नेपालमा नै विद्युतीय सामग्री उत्पादन हुने हो भने नेपालबाट वर्षेनी बाहिरी ने अर्बौ रुपैँया नेपालमा रहन्छ । जसका कारण सुखी नेपाल, सम्वृद्ध नेपालको परिकल्पना पुरा गर्न सहयोग पुग्दछ ।  

प्रतिक्रिया