भर्खरै

जलविद्युत र प्रसारण लाइनलाई १९६ हेक्टर वन क्षेत्र प्रयोगको अनुमति

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title

काठमाण्डौं, माघ । सरकारले जलविद्युत र प्रसारणलाइन सम्वद्ध विभिन्न परियोजनालाई १९६ हेक्टर वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइन, हेटौंडा–ढल्केबर–दुहबी प्रसारणलाइन र रुकुमगाड जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।   
सञ्चार मन्त्रालयमा बिहिबार राखिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने यसघिदेखि नै यी परियोजनामा सरकारसँगको समन्वयका आधारमा काम सुरु भएपनि मन्त्रिपरिषदले वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको थिएन ।  
तामाकोशी–काठमाडौं २२०÷४०० के.भी. प्रसारणलाईनको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र भक्तपुरका वन क्षेत्रमा काम गर्नुपर्छ । यो परियोजनामा परेका विभिन्न ५६ वटा सामुदायिक वनलगायतको कूल १०३.२२० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।
 
यस्तै हेटौंडा–ढल्केबर–दुहबी ४०० के.भी. प्रसारणलाइनको चौंथोखण्ड (मकवानपुर)को ‘राइट अफ वे’मा पर्ने हेटौंडा, छतिवन, हर्नामडी र राइगाउँका विभिन्न १७ वटा सामुदायिक वन र दुई वटा कबुलियती वनलगायत सहित केही टावर संरचना तयार गर्नुपर्नेछ । सरकारले यी वनका करिब ८०.६६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पनि स्वीकृति प्रदान गरेको छ ।
यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले बनाइरहेको कुमगाड जलविद्युत आयोजनाको ३३ के.भी. प्रसारणलाइनको ‘राइट अफ वे’सहित केही पोल र टावर संरचना तयार गर्न पनि वन प्रयोग गर्न अनुमति दिइएको छ । रुकुममा रहेका विभिन्न पाँच वटा सामुदायिक वन लगायतको कूल ४.०४९९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले बताए । 

प्रतिक्रिया