भर्खरै

व्यावसायिक मर्यादा भित्र रहेर व्यवसाय गर्नुपर्दछ

  • प्रकाशित मिति : Wed-29-Jan-2020
  • - राजु भण्डारी, अध्यक्ष, पोखरा इलेक्ट्रिक एशोसिएसन
title

विद्युतीय व्यवसायको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनुभएका शुभकामना इलेक्ट्रिकल्स पोखराका संचालक तथा पोखरा इलेक्ट्रिक एशोसिएसनका अध्यक्ष राजु भण्डारीसँग पोखरामा विद्युतीय व्यवसायीहरुको अवस्था, व्यवसायीहरुको समस्या, व्यावसायिक हितका लागि एशोसिएसनले गर्दै आएका कार्य लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः
 
 
पोखरा इलेक्ट्रिक एशोसिएसनको बारेमा बताईदिनु होस् न । 

पोखरा इलेक्ट्रिक एशोसिएसनले कास्की जिल्ला भित्र रहेका विद्युतीय व्यवसायीहरुको हक अधिकारका लागि काम गर्दै आएको छ ।  स्व. मोहन रत्न शाक्यको नेतृत्वमा यस एशोसिएसनको स्थापना २०५६ पुस २ गते भएको हो । व्यवसायीहरुलाई परेको समस्या र त्यसको समाधानका लागि एशोसिएसनले कार्य गर्दै आएको छ । यस एशोसिएसन व्यवसायीहरुको सुख दुःखको साथी हो । एशोसिएसनले व्यवसायीहरु का लागि आवश्यकता अनुसार व्यवसाय, अभिवृद्धि तालिम, क्षमता अभिवृद्धि तालिम, ट्याक्स, भ्याट सम्बन्धि तालिम प्रदान 
गर्दै आएको छ । त्यस्तै सामाजिक सेवामूलक कार्यमा पनि संघ सक्रिय रुपमा लाग्दै आएको छ । 
 
यस एशोसियनमा आवद्ध हुनका लागि कस्ता प्रक्रिया पुरा गर्नु पर्दछ ? 

यस एशोसिएसनमा आवद्ध हुनका लागि विद्युतीय व्यवसायमा संलग्न व्यवसायी हुनु पर्दछ । नेपाल सरकारको कर कार्यालयमा दर्ता भए व्यवसायीमा यस एशोशिएसनमा आवद्ध हुन सक्दछन् । एशोसिएसनमा आवद्ध हुनका लागि तीन हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ । त्यस्तै सदस्यता नवीकरणका लागि एक हजार लाग्दछ । 
 
एशोसिएसनले सामाजिक कार्य अन्र्तगत कस्ता कार्य गर्दै आएको छ ?

हामीले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक  सेवामुलक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छौ । एशोसिएसन मार्फत हामीले भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेका पिडितहरुको राहतका लागि खाद्य, लत्ताकपडा वितरण गरेका थियौँ, त्यस्तै वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग गर्दै आएका छौ भने रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौ । 
 
एशोसिएसनको भवन निर्माण सम्बन्धि केही विवाद आएको छ भन्ने सुनिन्छ, यसका बारेमा बताइदिनु होस् न । 

पोखरा इलेक्ट्रिक एशोसिएसनको आफ्नै भवन रहेको छ  । हामीले भवन निर्माण गर्दा सार्वजनिक स्थलमा नै नगरपालिका सँग स्वीकृति लिएर नै भवन निर्माण गरेका हौ । यद्यपि हाल आएर खोलाको मापदण्डमा परेको हुनाले अलि अप्ठ्यारो स्थिति रहेको छ ।  हामीले यसको समाधानका लागि हामीले महानगरसँग समन्वय गरिरहेका छौ । संस्थागत सम्पति राज्य कै सम्पति भएको हुनाले यस विषयमा हामी छलफलकै क्रममा छौ । हामीले भवनको संरक्षण समिति समेत बनाएका छौ । यसमा हाम्रो एशोसिएसनका पूर्वाध्यक्ष  एवं सल्लाहकार प्रेम बहादुर जिसि रहेका छन् । 
 
एशोसिएसनलाई अघि बढाउन कस्ता योजनाहरु ल्याउनु भएको छ ?

यस एशोसिएसन विद्युतीय व्यवसायीहरुको हकहित तथा अधिकारका लागि स्थापना भएको हो । व्यवसायीहरुको आवश्यकता माग लाई सम्बोधन गर्दै  एशोसिएसनलाई अघि बढाउने हाम्रो योजना रहेको छ । 
कुनै पनि व्यक्ति व्यवसायीमा संलग्न हुनु पूर्व आपूmले कस्तो व्यवसाय गर्दै छु, आगामी दिनमा कस्ता समस्या तथा चुनौतीहरु आउन सक्छन्, व्यवसाय गर्दा उपयुक्त हुन्छ या हँुदैन भन्ने विषयमा पूर्व सचेत हुन जरुरी छ । यसर्थ हामीले नेपाल विद्युतीय व्यवसायी महासंघको प्राविधिक सहयोगमा  विद्युतीय व्यवसायीहरुलाई  व्यावसायिक प्रर्वद्धन तालिम, क्षमता अभिवृद्धि तालिम संचालन गर्दै आएका छौ । आगामी दिनमा पनि व्यावसायिक हितका लागि समय सापेक्ष काम गर्दै जाने हाम्रो उद्धेश्य रहेको छ । 
 
अहिले यस एशोसिएसनमा हाल कति व्यवसायीहरु आवद्ध छन् ? 

कास्की  जिल्ला भर मूख्यतया पोखरामा मात्रै विद्युतीय व्यवसायीहरुको बढी सक्रियता रहेको छ । हाम्रो यस एशोसिएसनमा हाल १ सय ४५ भन्दा बढी व्यवसायीहरु  आवद्ध छन् । 
कास्की जिल्ला भर पोखरा बाहेक अन्य स्थानमा विद्युतीय व्यवसायीहरुको सक्रियता कम रहेका कारण यस एशोशिएसन मार्फत नगर संघहरु स्थापना गर्न सकिरहेको छैनौ । यद्यपि एशोसिएसनमा विद्युतीय व्यवसायीहरुलाई आवद्ध गराउनका लागि हामीले पहल गर्दै आएका छौ । 
 
पोखरामा विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध रहेको छ ?

विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन एक अर्काका परिपुरक जस्तै हुन् । इलेक्ट्रिसियन मार्फत नै विद्युतीय व्यवसायीहरुले ल्याएका विद्युतीय सामग्री उपभोक्ता सम्म पुग्ने हो । हामीले इलेक्ट्रिसियनका लागि छुटै तालिमको व्यवस्था गरेका 
छैनौ यद्यपि औपचारिक कार्यक्रमहरुमा हामीले इलेक्ट्रिसियनहरुलाई पनि आमन्त्रण गर्ने गरेका छौ । त्यस्तै इलेक्ट्रिसियनहरुको कार्यक्रममा पनि हामीलाई आमन्त्रण आएको खण्डमा जाने गरेका छौ । 
 
पोखरामा विद्युतीय व्यवसायीहरु बीच कत्तिको अस्वस्थ प्रतिस्पर्धा रहेको छ ?

कुनै पनि व्यापार व्यवसाय गर्दा एकै प्रकारका व्यवसायीहरु बीच प्रतिस्पर्धा हुनु स्वभाविक हो । व्यपार व्यवसायमा स्वच्छ प्रतिस्पर्धा हुनु पर्दछ । अस्वस्थ प्रतिस्पर्धाले बजारमा गुणस्तर हिन सामग्री आउने गर्दछ । व्यवसायीहरुले आफ्नो व्यवसाय लामो समय सम्म टिकाउने हो भने अस्वस्थ प्र्रतिस्पर्धा गर्नुहुँदैन । पोखरामा व्यवसायीहरु बीच प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धा भने छैन । 
 
सरकारले व्यवसायीहरु माथि करको भार थप्दै आएका छ, यसका लागि एशोसिएसनले कस्तो पहल गर्दै आएको छ ?

सरकारले व्यवसायीहरु माथि करको भार थप्दै आएको छ । सरकारले व्यवसायीहरु माथि थप्दै आएको करका कारण व्यवसायीहरु समस्यामा पर्ने गरेका छन् । सरकारले व्यवसायीहरुलाई एकै पटक करको भार थर्पनु भन्दा सरकारले क्रमश विस्तारै कर थप्दा उपयुक्त हुन्छ । यसका लागि हामीले नेपाल विद्युतीय व्यवसायी महासंघमा कुरा उठाउँदै आएका छौ । महासंघले सम्बन्धित निकायसँग पहल गर्दछ भन्ने हाम्रो विश्वास रहेको छ । 
 
व्यावसायिक मर्यादा भन्दा बाहिर गएर काम गर्ने व्यवसायीहरुलाई पनि एशोसिएसनले संरक्षण दिदंै आएको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

व्यावसायिक मर्यादा भन्दा बाहिर गएर कार्य गर्ने कुनै पनि व्यवसायीलाई एशोसिएसनले संरक्षण गरेको छैन र 
गर्दैन । जसले निष्पक्ष ढंगबाट नेपालको कानुन, विधि र विधान अनुसार व्यवसाय गर्दछन् त्यस्ता व्यवसायीहरुका लागि हामी सधै सहयोग गर्न तयार हुन्छौ अन्यथा मर्यादा भन्दा बाहिर गएर व्यवसाय गर्ने व्यवसायीको संरक्षण हामीले गर्दैनौ । 
 
 व्यवसायीहरुलाई एशोसिएसन तथा महासंघले कस्तो प्रशिक्षण दिनु पर्दछ ?

कुनै व्यवसायीहरुले व्यवसाय दर्ता गर्ने क्रममा नै यस्ता कार्य गर्नुपर्छ, यस्तो नियम कानुन रहेको छ भन्ने विषयमा सरकारले नै जानकारी दिनु पर्दछ । त्यस्तै व्यवसायीहरुले पनि बुझेर मात्र व्यवसाय मा संलग्न हुनुपर्दछ । कस्तो प्रकारको व्यवसाय हो भन्ने विषयमा नबुझि लहलहैमा व्यवसाय गर्नु हुँदैन । 
हामीले व्यवसायीहरुको अभिवृद्धिका लागि एशोसिएसन मार्फत तालिम दिदंै आएका छौ । यद्यपि व्यवसायीहरुले पनि व्यवसाय गर्नु पूर्व व्यवसायको बारेमा बुझ्न जरुरी छ । 
 
सरकारले विद्युतीय व्यवसायीहरुका लागि कस्ता कार्य गर्नु पर्ला ?

सरकारले विद्युत व्यवसायीहरुका लागि प्रत्यक्ष यो नै गर्नुपर्दछ भन्ने हुँदैन ।  सरकारले गर्ने भनेको नीति गत कुरा हुन् तसर्थ नीतिगत सुधारहरु गर्नुपर्दछ जस्तो मलाई लाग्छ । मूख्य रुपमा व्यवसायीहरुले शिक्षा लिनुपर्दछ , व्यवसाय गर्ने क्रममा आउने समस्या समाधानका लागि शिक्षा नै जरुरी हुन्छ । 
 
अन्त्यमा के भन्न चहनु हुन्छ ?

व्यवसायीहरुलाई  गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि वितरण गर्न आग्रह गर्दछु । त्यस्तै उपभोक्ताहरुलाई पनि गुणस्तरीय सामग्रीको पहिचान गरी गुणस्तरयुक्र सामग्री खरीद गर्न आग्रह गर्दछु । आनो घरका लागि आवश्यक पर्ने विद्युतीय सामग्री खरीद गर्दा मध्यस्तकर्ताका माध्यमबाट खरिद नगर्न आग्रह गर्दछु । 

प्रतिक्रिया