मिटरको शिल तोडेर विद्युत चुहावट गर्ने कारवाहीमा
- प्रकाशित मिति : Wed-05-Feb-2020
- - विद्युत संसार सम्वाददाता

चितवन, माघ । चितवनमा विद्युत मिटरको शिल तोडेर विद्युत चुहावट गर्ने ८५ जना भन्दा बढी व्यक्ति कारवाहीमा परेका छन् । विद्युत वितरण केन्द्र टाँडीले विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।
२०७६ श्रावणदेखि हालसम्म गरिएको छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
साठी हजार विद्युत मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत शुल्क वापत रु सात करोड उठाउने गरेको छ । त्यस्तै कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा सो कार्यालयले ३०० विद्युत मिटर निःशुल्क वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि निःशुल्क विद्युत मिटर वितरण प्रक्रिया अगाडि बढाएको छ ।