भर्खरै

विद्युतीय व्यवसायीहरुलाई एक गराउनु प्रमुख उद्धेश्य हो

  • प्रकाशित मिति : Wed-19-Feb-2020
  • - पुरुषोत्तम भुषाल अध्यक्ष, नवलपुर विद्युतीय व्यवसायी संघ
title

 
विद्युतीय व्यवसाय क्षेत्रमा काम गर्दै आउनु भएका इलेक्ट्रिसियन पेशामा स्वेदश तथा विदेशको अनुभव बटुल्नु भएका नवलपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुषाल सँग नवलपुर क्षेत्रमा विद्युतीय व्यवसायीहरुको अवस्था, सरकारले व्यवसायीहरुका लागि गर्दै आएका कार्य, संघले गरेका कार्य, व्यवसायीहरुको समस्या लगायतका विषयमा  विद्युत संसार साप्ताकिका भीमलाल श्रेष्ठले गरेको कुराकानिको सम्पादित अंशः
 
 
नवलपुर विद्युतीय व्यवसायी संघका बारेमा बताईदिनुहोस् न ।

नवलपुर विद्युतीय व्यवसायी संघ नवलपुर क्षेत्रमा रहेका विद्युतीय व्यवसायीहरुको व्यावसायिक हकहितका लागि स्थापना भएको हो । यो संघ स्थापना भएको धेरै समय भएको छैन,  मेरो अध्यक्षतामा नै १५ सदस्यीय कार्यसमिति गठन भए पश्चात २०७६ साल जेठ २९ गते नवलपुर विद्युतीय व्यवसायी संघ दर्ता भएको हो । हाल यस संघमा १ सय १६ भन्दा बढी साधारण सदस्य रहेका छन् । स्थापनाको छोटो समयमा नै संघमा १ सय भन्दा बढी सदस्य आवद्ध हुनु हाम्रा लागि खुसीको विषय हो । व्यावसायिक हितका साथै घरहरु निर्माण गर्दा विद्युतीय नक्सा अनिवार्य गराउने विषयमा पहल गर्नु हाम्रो मूख्य उद्धेश्य रहेको छ ।  
 
यस संघ नेपाल विद्युतीय व्यवसायी महासंघमा आवद्ध छ, महासंघले जिल्ला संघका लागि  कस्ता कार्य गर्नुपर्ला ?

हाम्रो यस संघ स्थापना भएको धेरै भएको छैन । यद्यपि हामी महासंघमा आवद्ध भईसकेका छौ । महासंघ देशभरका विद्युतीय व्यवसायीहरुको छाता संगठन  हो । महासंघले विद्युतीय व्यवसायीहरुको हक हितका लागि गर्दै आएका कार्य उपयुक्त छन् । जिल्ला संघहरुलाई आवश्यकता परेको खण्डमा महासंघले व्यवसायीहरुलाई मध्यनजर गर्दै ट्याक्स, भ्याट सम्बन्धि तालिम प्रदान गर्नका लागि आवश्यक सहयोग पु¥याउँदै आएको छ । महासंघको सहयोग मार्फत व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि हामीले तालिम पनि सञ्चालन गर्दै आएका छौ ।
 
यस संघमा सदस्यता लिनका लागि कस्ता प्रावधानहरु रहेका छन् ? त्यसका बारेमा बताइदिनुहोस् न । 

यस संघमा सदस्यता लिनका लागि शुद्ध विद्युतीय व्यवसायी हुनुपर्दछ ।  त्यस्तै संघमा सदस्यता लिनका लागि विद्युतीय व्यावसायिकको व्यवसाय दर्ता भएको प्यान नम्बर, नागरिकताको फोटोकपी , फोटो आवश्यक पर्दछ भने सदस्यता शुल्क एक हजार पर्दछ । त्यस्तै सदस्य नवीकरण शुल्क ५ सय रहेको छ । 
 
नवलपुर विद्युतीय व्यवसायी संघलाई अघि बढाउन कस्ता योजनाहरु ल्याउँदै हुनुहुन्छ ?, यसका बारेमा बताइदिनुहोस् न । 

नवलपुर विद्युतीय व्यवसायी संघ व्यवसायीहरुको हक हितका लागि स्थापना भएको संघ हो । विद्युतीय व्यवसायीहरु बीच व्यावसायिक  एकता हुनुपर्दछ भन्ने हाम्रो प्रमुख धारणा रहेको छ । नवलपुर क्षेत्रमा रहेका विद्युतीय व्यवसायीहरुलाई एक गराउनु हाम्रो प्रमुख उद्धेश्य रहेको छ । व्यावसायिक एकताबाट नै बजारमा गुणस्तर सामाग्रीको विक्रि वितरण हुनुका साथै उपभोक्ता निश्चित मूल्यमा गुणस्तरी सामग्री प्राप्त गर्न सक्दछन् । व्यवसायीहरुमा व्यावसायिक एकताका साथै व्यवसायीहरुको क्षमता अभिवद्धि गर्ने, सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै संघलाई समय सापेक्ष अघि बढाउँदै जाने हाम्रो प्रमुख योजना रहेको छ । 
 
विद्युतीय व्यवसायमा एकता कायम गर्दै गर्दा व्यवसायीहरुले सिन्डिकेट लागु गर्न खोज्यो भन्ने पनि सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

हामी व्यवसायीले सिन्डिकेट लागु गर्न खोजेका होइनौ । हाम्रो संघ यसै वर्ष मात्रै स्थापना भएको हुँदा संघमा सबै विद्युतीय व्यवसायीहरु आवद्ध हुन सकेका छैनन् । अहिलेको हाम्रो प्रमुख योजना भनेको नै नवलपुर क्षेत्रका विद्युतीय व्यवसायीहरुलाई एक गराउनु नै रहेको छ । 
 
नवलपुर विद्युतीय व्यवसायी संघ र महासंघमा आवद्ध अन्य जिल्ला संघ कस्तो सम्बन्ध रहँदै आउएको छ ?

स्थापनाको अवधिलाई हेर्ने हो भने महासंघमा आवद्ध जिल्ला संघहरु मध्ये नवलपुर विद्युतीय व्यवसायी संघ सबैभन्दा कान्छो जिल्ला संघ हो । महासंघमा आवद्ध सबै जिल्ला संघ हाम्रा मित्र हुन् । संघमा आवद्ध सदस्यहरु बीच जस्तो सम्बन्ध रहन्छ , महासंघमा आवद्ध जिल्ला संघहरु सँग पनि हाम्रो उस्तै सुमधुर सम्बन्ध रहन्छ । हामीले अन्य जिल्ला संघले गर्दै आएका कार्य बारे बुझेर उपयुक्त कार्यको अनुसरण गर्दै हाम्रो संघलाई अघि बढाउँदै लैजाने छौ । त्यस्तै हामी भन्दा अग्रज जिल्ला संघहरुले पनि हाम्रा कार्यमा सहयोग पु¥याउँदै आएको छ । यसमा विद्युतीय व्यवसायी संघ चितवन, रुपन्देही विद्युतीय व्यवसायी संघले हामीलाई गरेको सहयोग महत्वपूर्ण छ ।
 
व्यावसायिक हितका लागि सरकारले कस्ता कार्य गर्नुपर्ला ?

नेपालमा विभिन्न मुलुकबाट विद्युतीय सामग्रीहरु आयात हुने गर्दछ । आयातित कुन सामग्री गुणस्तर युक्त छ या छैन भन्ने विषयको निर्धारणका लागि सरकारले विद्युतीय सामग्रीको गुणस्तर मापन गर्ने प्रयोगशालाको व्यवस्था  गर्नुपर्दछ । त्यस्तै विद्युतीय सामग्रीको निश्चित मापदण्ड निर्धारण गर्नुपर्दछ । बजारमा आएका सामाग्रीको गुणस्तरका सम्बन्धमा सरकारले नियमित अनुगमन गर्नुपर्दछ । त्यस्तै उपभोक्ता हितका लागि सरकारले इलेक्ट्रिसियनहरुलाई तालिमको व्यवस्था गर्नुपर्दछ । दक्ष इलेक्ट्रिसियनहरु मार्फत विद्युतीय क्षेत्रमा काम गराउनु पर्दछ । इलेक्ट्रिसियन बीच हँुदै आएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नुपर्दछ । 
 
यस संघले व्यवसायीहरुको हितका लागि कुनै अक्षयकोषको स्थापना गर्नु भएको छ या छैन ?

हामीले व्यावसायिक हितका निमित्त भनेर हाल सम्म कुनै पनि अक्षकोष स्थापना गरेका छैनौ । यद्यपि हामीले हाम्रा सदस्य साथीहरु समस्यामा परेको खण्डमा हामीले केही आर्थिक सहयोग भने गर्दै आएका छौ । 
 
बजारमा व्यवसायीहरुले गुणस्तरीय सामग्री नल्याउने, यदि काम बिग्रेको खण्डमा काम गर्ने इलेक्ट्रिसियनहरुलाई आरोप लगाउने गरेको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

नेपाली बजारमा आयात हुने विद्युतीय सामाग्रीहरुको गुणस्तर एकै किसिमका हुँदैनन् । विभिन्न ब्राण्डका विभिन्न किसिमका गुणस्तरका सामग्रीहरु बजारमा आउने गरेका छन् । हामीले इलेक्ट्रिसियनहरुलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि  यस विषयमा उपभोक्ता पनि सचेत हुन जरुरी छ । उपभोक्ताले सस्तो मूल्यका विद्युतीय सामग्रीलाई भन्दा केही महंगो मूल्यका गुणस्तरयुक्त विद्युतीय सामग्रीलाई प्राथमिकता दिनुपर्दछ । 
 
नवलपुर क्षेत्रका विद्युतीय व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा रहेको छ भन्ने सुनिन्छ, के यो सत्य हो ?

एकै प्रकारका व्यवसाय बीच प्रतिस्पर्धा हुनु राम्रो हो । यद्यपि अस्वस्थ प्रतिस्पर्धा हुनु भने राम्रा विषय होइन । नवलपुर क्षेत्रका व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा छ जस्तो मलाई लाग्दैन । हामी नवलपुर क्षेत्रका व्यवसायीहरु एक हुने कार्यमा अघि बढी रहेका छौ । 
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?

उपभोक्ताहरुलाई विद्युतीय सामग्री खरिद गर्दा सस्तो मूल्यको भन्दा पनि केही महँगो मूल्यको गुणस्तरीय विद्युतीय सामग्री खरिद गर्न आग्रह गर्दछु । त्यस्तै व्यवसायीहरुलाई पनि गुणस्तरीय विद्युतीय सामग्री आयात तथा बिक्रि वितरण गर्न आग्रह गर्दछु । 
 

प्रतिक्रिया