भर्खरै

विद्युतीय नक्शा अनिर्वाय रुपमा लागु गर्नुपर्दछ

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • - भरत प्रसाद लामिछाने ,अध्यक्ष, विद्युतीय व्यवसायी संघ, चितवन
title

विद्युतीय व्यवसायी संघ चितवन विद्युतीय व्यवसायीहरुको हकहितका लागि स्थापना भएको संघ हो । वि.स २०६६ सालमा स्थापना भएको यस संघले व्यवसायीहरुको हकहितका लागि, व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने संघमा आवद्ध व्यवसायीहरु समस्यामा पर्दा सहयोग पनि गर्दै आएको छ । संघले व्यवसायीहरुलाई मध्यनजर गर्दै विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था समेत सञ्चालनमा ल्याएको छ । संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा संघले प्रभावितहरुलाई राहत वितरण गर्दै आएको छ भने वृद्ध, वृद्धा तथा अनाथ बालबालिकाहरुलाई पनि सहयोग गर्दै आएको छ । व्यावसायिक हित तथा सामाजिक क्षेत्रमा संघले गर्दै आएका कार्य प्रशंसनिय छन् । यसैबीच संघको अवस्था, महासंघले गरेका कार्य, व्यवसायीहरुको  अवस्था लगायत विषयमा संघका अध्यक्ष भरत प्रसाद लामिछाने सँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

विद्युतीय व्यवसायी संघ चितवनका बारेमा बताईदिनुहोस् न ।
विद्युतीय व्यवसायीहरुको हक अधिकारका लागि काम गर्दै आएको विद्युतीय व्यवसायी संघ चितवन वि.स २०६६ सालमा स्थापना भएको हो । स्थापनाका समय देखि नै संघले व्यावसायिक हित सँगसँगै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस संघ नेपाल विद्युतीय व्यवसायी महासंघको संस्थापक सदस्य समेत रहेको छ ।

यस संघको कार्य क्षेत्र र सदस्य संख्या कति रहेका छन् ? सोको बारे बताईदिनुहोस् न ।
यस संघको कार्यक्षेत्र चितवन जिल्लाभर नै रहेको छ । चितवन जिल्लाभर रहेका विद्युतीय व्यवसायीहरुलाई हामीले संघमा आवद्ध गराउँदै व्यवसायीहरु लाई एकिकृत गराउने कार्य गर्दै आएका छौ । हामीले प्यान भ्याटमा विद्युत व्यवसाय दर्ता भएका व्यवसायीहरुलाई मात्रै सदस्यता प्रदान गर्दै आएका छौ । हाल चितवन जिल्लाभरका २ सय ३६ जना भन्दा बढी विद्युतीय व्यवसायीहरु संघमा आवद्ध छन् ।

यस संघमा आवद्ध हुनका लाागि कस्ता प्रक्रियाहरु पुरा गर्नुपर्दछ ?
संघमा आवद्ध हुनका लागि विद्युतीय व्यवसाय प्यान वा भ्याटमा अनिर्वाय दर्ता भएको हुनुपर्दछ । प्यान वा भ्याटमा दर्ता भएका व्यवसायीहरुलाई मात्र हामीले संघमा सदस्यता प्रदान गर्ने गरेका छौ । संघकम सदस्यता लिनका लागि नयाँ सदस्य शुल्क रु १५ सय र सदस्य नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लिने गरेका छौ ।

संघलाई अगाडि बढाउन कस्ता योजनाहरु ल्याउनु भएको छ ? यसको बारे बताईदिनुहोस् न ।
विद्युतीय व्यवसायीहरुको हक हित तथा अधिकारका लागि यस संघको स्थापना भएको हो । हामीले व्यवसायीहरुलाई आवश्यक सहयोग संघ मार्फत गर्दै आएका छौ । संघलाई अझै माथि लैजानका लागि हामीले संघको आनै भवन निर्माण गर्न जग्गा खरिद गर्ने योजनामा छौ, त्यस्तै अगामी वर्षको क्यालेण्डर प्रकाशन गर्ने योजनामा छौ, क्यालेण्डर प्रकाशन वापत उठेका केही रकम सामाजिक कार्यमा लगाउने समेत हाम्रो योजना रहेको छ ।

यस संघ अन्य जिल्ला संघ भन्दा आर्थिक रुपमा सबल देखिन्छ, यसको प्रमुख कारण के होला ?
एकै प्रकृतिको कारोबार गर्ने समुह नै संघ हो । संघ सामाजिक कार्यमा अघि बढ्ने संस्था हो । हाम्रो यस संघ आर्थिक रुपमा केही सबल हुनुका पछाडि संघमा आवद्ध सदस्यहरु बीचको एकता नै हो । यस संघको नाफा आर्जन गर्ने आयस्रोत छैन । हामी सफल हुँदै जानुका पछाडि कार्यसमितिको एकता नै कारण हो । हामीले संघलाई आर्थिक रुपमा सबल बनाउनका लागि च्यारेटी सो गर्ने योजनामा छौ ।

संघ मार्फत यहाँहरुले विद्युत सहकारी संस्था खोल्नु भएको छ, यसले विद्युतीय व्यवसायी क्षेत्रमा कस्तो सहयोग पुर्याउ“दछ ?
हामीले विद्युतीय व्यवसायीहरुको हकहित सँगै व्यावसायिक सहजतका लागि विद्युत सहकारी संस्था स्थापना गरेका हौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले समेत नगरेको यस्ता कार्य हामीले गर्दै आएका छौ । यस सहकारी संस्थामा संघमा आवद्ध सबै सदस्यहरुको सहभागिता रहेको छ । यसले विद्युतीय व्यवसायीहरुलाई सहयोग पु¥याएको छ भन्नेमा म आश्वस्त छु ।

महासंघमा आवद्ध जिल्ला संघहरु र विद्युतीय व्यवसायी संघ चितवन बीच कस्तो सम्बन्ध रहेको छ ?
नेपाल विद्युतीय व्यवसायी महासंघमा हाम्रो संघ सहित देशभरका २२ वटा विद्युतीय व्यवसायी संघ आवद्ध रहेको छ । देशको मध्य भागमा पर्ने यस जिल्ला संघ महासंघमा आवद्ध सम्पूर्ण जिल्ला संघहरुसँग मित्रवत व्यवहार गर्दै आएका छौ । हाम्रो संघ र अन्य जिल्ला संघ बीच कुनै पनि विषयमा दुईमत छ जस्तो मलाई लाग्दैन ।

नेपालमा विभिन्न मुलुकबाट विद्युतीय सामग्री आयात हुन्छ, चितवन जिल्लामा बाह्य मुलुकबाट विद्युतीय सामग्री आयात गर्ने व्यवसायीको संख्या कति रहेको छ ?

नेपालमा विभिन्न मुलुकबाट विद्युतीय सामग्रीहरु आयात हुने गर्दछ । विशेषगरी सबै भन्दा बढी विद्युतीय सामग्री आयात हुने स्थान काठमाण्डौ नै हो । विद्युतीय सामग्री आयातकर्ता धेरै जसो काठमाण्डौमा नै रहेका छन् यद्यपि हाल पोखरा, चितवन, रुपन्देही, विरगञ्ज लगायत देशका प्रमुख शहरहरुमा पनि आयातकर्ताहरु रहेका छन् । चितवन जिल्लामा आयातकर्ताको संख्या यति नै छ भन्ने एकिन तथ्याङ्क त छैन । यद्यपि १० देखि १५ जना आयातकर्ता रहेको पाउन सक्छौ ।

जिल्ला संघलाई अघि बढाउन महासंघको भूमिका कस्तो रहन्छ ? यसको बारेमा बताईदिनुहोस् न ।
महासंघ विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । देशभर छरिएर रहेका विद्युतीय व्यवसायीहरुलाई एकिकृत गराउने तथा व्यवसायीहरुको हकहितका लागि महासंघले कार्य गर्दै आएको छ । जिल्ला संघहरुको सहभागितामा नै महासंघको स्थापना भएको हो । जिल्ला संघलाई अगाडि बढाउन महासंघको महत्वपूर्ण भूमिका रहन्छ । महासंघले ल्याएका कार्यक्रमलाई सफल बनााउन समन्वयकारी भूमिका निर्वाह गर्दै हामी अघि बढ्छौ ।

विद्युतीय व्यवसायीहरु सरकारले निर्धारण गरेको करको मारमा पर्दै आएको छ भन्ने सुनिन्छ नि, यसमा तपाई के भन्नु हुन्छ ?
विद्युतीय व्यवसायीहरु सरकारले निर्धारण गरेको करको मारमा पर्दै आएका छन् । व्यवसायीहरुले व्यावसायिक कर, घरवहाल कर जस्ता करहरु तिर्नु पर्ने हुँदा व्यवसायी दोहोरो करमा पर्दै आएका हुन् । यसको अन्त्यका लागि महासंघले आवश्क पहल गर्नुपर्दछ ।

विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध रहन्छ ?
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन एक अर्काका परिपुरक जस्तै हुन्  । हरेक विद्युत व्यवसायीका इलेक्ट्रिसियन हुने गर्दछ । त्यस्तै इलेक्ट्रिसियनहरुको पनि छुट्टै संघ रहेको छ । इलेक्ट्रिसियन संघ स्थापनाका समयमा सक्रिय देखिएको भए पनि पछिल्लो समय त्यति सक्रिय रहेको पाएका छैनौ । हामी इलेक्ट्रिसियन संग सहकार्य गरी इलेक्ट्रिसियनहरुलाई ऊर्जा दिने काम गर्दछौ ।

घर निर्माण गर्दा विद्युतीय नक्शा अनिर्वाय गर्नु पर्ने विषयलाई यस संघले कसरी लिदै आएको छ ?
घर निर्माण गर्नु पूर्व जसरी नक्शा बनाइन्छ त्यसरी नै हाउस वायरिङ्ग गर्नु पूर्व विद्युतीय नक्शा अनिर्वाय रुपमा बनाउनु पर्दछ । सम्भावित विद्युतीय दुर्घटनाबाट हुन सक्ने क्षतिको न्यूनिकरणका लागि तथा कामको सहजताका लागि विद्युतीय नक्शा अनिवार्य रुपमा लागु गर्नुपर्दछ । हामीले यस संघका निवर्तमान अध्यक्ष शशिधर जैसी लामिछानेको समयमा नै हामीले भरतपुर महानगरपालिकामा विद्युतीय नक्शा अनिवार्य गराउनका लागि पहल गर्दै आएका छौ । जसरी नक्शा विना महानगरपालिकाले घर तथा भवन निर्माणको स्वीकृति दिदंैन त्यसरी नै विद्युतीय नक्शा विना हाउस वायरिङ गर्न स्वीकृत दिनु हुँदैन भन्ने प्रस्ताव हामीले महानगरसँग गरेका छौ । यद्यपि सो प्रस्ताव पास भएको छैन यसका लागि हामी महानगरसँग फेरी छलफल गर्न जाने छौ ।

प्रतिक्रिया