भर्खरै

फोहरबाट बायोग्यास उत्पादन गर्दै वीरेन्द्रनगर नगरपालिका

  • प्रकाशित मिति : Thu-12-Mar-2020
  • - Admin
title

सुर्खेत,  फागुन । वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट बायोग्यास उत्पादन गर्ने  भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नगरपालिकाले फोहोबाट बायोग्यास उत्पादन गर्ने भएको हो । 
फोहोबाट बायोग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र , नगरपालिका  र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता  भएको छ । 
 
३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । यसबाट वीरेन्द्रनगरका करिब १३०० घरधुरी लाभान्वित हुनेछन् । 
 
विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ । नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्ष भित्रै परियोजना सम्पन्न हुने बताए । फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गरिनेछ उनले बताए ।  वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ । परियोजना निर्माणबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सहयोग पुग्ने भएको छ । 
आयोजना निर्माणका लागि केन्द्रले ४० प्रतिशत अनुदाने प्रदान गर्नेछ । बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले जुटाउनुपर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने यो परियोजना २० वर्ष अवधिको हुनेछ । सम्झौतामा परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । परियोजना सञ्चालन गर्न रु १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान गरिएको छ ।
 
कच्चा पदार्थको रूपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट सङ्कलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उत्पादन हुने जैविक फोहरसमेत उपयोग गरिनेछ । 
 

प्रतिक्रिया