भर्खरै

कोरोनाले रोकिएको न्यादी जलविद्युत आयोजनाको काम पुन सुचारु

  • प्रकाशित मिति : Sun-15-Mar-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, फागुन । छिमेकी मित्रराष्ट्र चीनबाट एक महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कारण निर्माण कार्य ठप्प भएको न्यादी जलविद्युत आयोजनाको काम सुचारु भएको छ ।  
 
लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादी खोलामा निर्माणाधीन  ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम ढेड महिनापछि सुचारु भएको  हो । 
 
आयोजनामा कार्यरत चिनियाँ कामदार नेपाल फर्केपछि आयोजनाको काम सुचारु भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार आयोजनामा कार्यरत ५७ जना चिनियाँ कामदार दुई महिनाअघि गत माघ ६ गते नयाँ वर्ष मनाउन चीन गएका बेला चीनमा कोरोनाको सङ्क्रमण फैलिएपछि उनीहरू नेपाल फर्कन नसकेर आयोजनाको काम रोकिएको थियो ।  हाल गएका मध्ये विभिन्न चरणमा गरी ३८ जना कामदारको  स्वास्थ्य जाँच गरेर स्वस्थ रहेको पुष्टि भएपछि काममा लागेको उनले बताए । 
 
आयोजनाले वैशाख पहिलो साता आयोजनाको काम सक्ने भने पनि कोरोनाको कारण डेढ महिना काम ठप्प हुँदा निर्माण अवधि लम्बिने भएको आयोजनाले जनाएको छ  । 
आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । आयोजनाको पावर हाउसको काम ९० प्रतिशत , हेडवक्र्सको काम ७५ प्रतिशत सकिएको भने सुरुङ निर्माण कार्य सम्पन्न भईसकेको  छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिका ३, खुदी टारीकुनास्थित नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा विद्युत् पु¥याउन १३२ के.भी. को साढे ५ किलोमिटर प्रशारण लाइन निर्माणको काम  करिब ३० प्रतिशत सकिएको छ । 
 
आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्टरनेसनल कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा ६१ जना चिनियाँ र ६७ जना नेपाली कामदार रहेका छन् । बुटवल पावर कम्पनी (बीपीसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करिब चार अर्ब ३८ करोड रुपियाँको लगानीमा सक्ने गरी डिजाइन भए पनि आयोजना निर्माण सक्दासम्म ब्याजसहित छ अर्ब रुपियाँ लाग्ने आयोजनाले जनाएको छ ।
 
२०७३ चैत ३० बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । 

प्रतिक्रिया