“सीन ट्रेनिङ्ग सेन्टर स्थापना गर्ने योजनामा छौ”

  • प्रकाशित मिति : Wed-18-Mar-2020
  • - इन्जिनियर दिल्ली रत्न शाक्य ,अध्यक्ष, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन)
title

 
वि.स २०३० मा विद्युत करर्पोरेशन बाट विद्युतीय क्षेत्रको कार्य प्रारम्भ गर्दै नेपाल विद्युत प्राधिकरण वि.स २०४९ सम्म कार्य गर्नु भएका सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष इन्जिनियर दिल्ली रत्न शाक्य सँग सीनको अवस्था, नेपालमा इलेक्ट्रिकल इन्जिनियरहरुको महत्व, इलेक्ट्रिकल इन्जिनियरले गर्दै आएका कार्य, सरकारले दिएको प्राथमिकता लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स  एशोसिएसन नेपाल (सीन) का बारेमा बताईदिनुहोस् न । 

इलेक्ट्रिकल इन्जिनियरहरुको हकतिहका लागि वि.स २०५१ सालमा मानकाजी श्रेष्ठ, एल.आर तामाङ, बालसुधर मल्ल र मेरो नेतृत्वमा यस सीनको स्थापना भएको हो । यस सीनले स्थापना देखि नै इलेकिट्रकल इन्जिनियरहरुको हक अधिकारका लागि काम गर्दै आईरहेको छ । सीनको स्थापना भएको लामो समय भएको भए पनि एशोसिएसनको आनै भवन छैन । आनै भवन निर्माण गर्नु हाम्रो प्रमुख उद्धेश्य रहेको छ । 
 
सीन ले हाल सम्म कस्ता–कस्ता कार्यहरु गर्दै आएको छ ? यसको बारेमा बताईदिनुहोस् न । 

सीनले विभिन्न प्रविधिहरुलाई मध्यनजर गर्दै समय समयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सीनले केही वर्ष अघि सम्म नेपाल विद्युतीय व्यवसायी महासंघसँग सहकार्य गरी इलेक्ट्रो टेक कार्यक्रम संयुक्त रुपमा आयोजना गर्दै आएको थियो तर हाल भने महासंघले मात्र सो कार्यक्रमको आयोजना गर्ने गरेको छ । सीनले सार्क लाईटिङ्ग कन्फर्मेशनको समेत आयोजना गरेको थियो । सीनले हाल सम्म गरेको कार्यक्रम मध्ये सार्क लाईटिङ्ग कन्फर्मेशन सबै भन्दा ठूलो कार्यक्रम हो । 
 हामीले इलेक्ट्रिसियनहरुको सुरक्षालाई मध्यनजर गर्दै सीन ट्रेनिङ्ग सेन्टर स्थापना गर्ने योजनामा छौ । यसमा इलेक्ट्रिसियनहरुलाई कसरी सुरक्षित भई काम गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गर्ने छौ । यसका लागि नेपाल विद्युत प्राधिकरण सँग हामीले छलफल गर्दैछौ । दुर्घटना न्युनिकरण गर्न र गुणस्तरीय विद्युतीय सामग्री प्रयोगमा ल्याउनुका साथै सरकारले गर्नुपर्ने नीति नियमको लागि पनि हामी हाम्रो प्रयास जारी राख्ने छौं ।  
 
सीनमा आवद्ध हुनका लागि के–के आवश्यक पर्दछ ? यसका बारेमा बताइदिनुहोस् न । 

सीन इलेक्ट्रिकल इन्जिनियरहरुको संस्था हो । यसमा आवद्ध हुनका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री गरेको हुनुपर्दछ  भने सदस्यता लिनका लागि एक सय रुपैँया र हरेक वर्ष सदस्यता नवीकरणका लागि पाँच सय रुपैयाँ लाग्दछ । त्यस्तै आजीवन सदस्यताका लागि असार मसान्त सम्म ३ हजार एक सय रुपैयाँ निर्धारण गरेका छौ । असार पछि भने आजीवन सदस्यको ४ हजार एक सय रहेको छ । 
 
नेपाल विद्युत प्राधिकरण र सीनका इलेक्ट्रिकल इन्जिनियरहरु बीच तालमेल नभएको भन्ने सुनिन्छ, यसलाई एकिकृत गराउनका लागि कस्ता कार्य गर्ने योजनामा हुनुहुन्छ ?
 
नेपाल विद्युत प्राधिकरण र सीन एकै किसिमको होइन । सीनमा नेपाल विद्युत प्राधिकरणका मात्रै इन्जिनियर हुन्छ भन्ने छैन । नेपालभरका सबै इन्जिनियरहरुलाई सीनले समेटेर अघि बढ्नु पर्दछ । इन्जिनियरहरुको आवश्यकता उनिहरुको समस्या लगायतका विषयलाई समेट्दै जनतालाई उचित सेवा पु¥याउनु हाम्रो प्रमुख उद्धेश्य हो । 
 
सीनमा हाल सम्म कति सदस्यहरु आवद्ध छन् त ? 

स्थापना देखि हाल सम्म सीनमा करिब तीन सय भन्दा बढी इलेक्ट्रिकल इन्जिनियरहरु आवद्ध छन् । आगामी दुई वर्षमा कम्तिमा एक हजार सदस्य पु¥याउने हाम्रो लक्ष्य रहेको छ । 
 
घर निर्माण गर्दा सरकारले घरको नक्शा पास गर्नु पर्ने प्रावधान बनाएको भए पनि विद्युतीय नक्शा पास अनिवार्य गराएको छैन, यसमा के भन्नुहुन्छ  ?
 
घर निर्माण गर्दा घरको नक्शा अनिवार्य रुपमा बनाउनु पर्ने भए पनि विद्युतीय नक्शा अनिर्वाय बनाउनु पर्ने प्रावधान छैन । विद्युत क्षेत्र जोखिम पूर्ण क्षेत्र भएका कारण विद्युतीय नक्शा पनि अनिर्वाय रुपमा बनाउनु पर्ने प्रावधान सरकारले निर्माण गर्नुपर्दछ । हाल हाउजिङ्गहरु निर्माण गर्दा विद्युतीय नक्शा अनिर्वाय गराएको भए पनि नीजि आवास निर्माण गर्दा विद्युतीय नक्शा अनिर्वाय गराएको छैन । आगामी दिनमा विद्युतीय नक्शा अनिर्वाय गराउनका लागि सीनले पनि सरोकारवालाहरु सँग आवश्यक पहल गर्दै अघि बढ्ने छ । 
 
विभिन्न एनजिओ तथा आइएनजिओहरु ले इलेक्ट्रिसियनहरुलाई  तालिम दिदै आएको भए पनि तालिम प्रभावकारी भएन भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?
 
 मैले सुने अनुसार इलेक्ट्रिसियनहरुलाई विभिन्न एनजिओ आइएनजिओहरुले तालिम दिदैं आएको भए पनि इलेक्ट्रिकल इन्जिनियरहरुले नै भने तालिम दिएको पाइदैन । एनजिओ, आइएनजिओहरुले तालिम  दिए पनि तालिम प्रभावकारी नभएको, र तालिम भत्ता लिने माध्यम जस्तो मात्र भएको देखिन्छ । इलेक्ट्रिसियनहरुलाई दिइने तालिम प्रभावकारी हुनुका साथै सुरक्षित पनि हुनुपर्दछ । तालिम लिने क्रममा मात्र सेफटी फस्टलाई प्राथमिकता दिने, तालिम लिइसके पछि त्यसको पालना नगर्ने गर्नुहुँदैन । 
 
विभिन्न देशमा अध्ययन गरेर आएका इलेक्ट्रिकल इन्जिनियर र नेपालमा नै अध्ययन गरेका इन्जिनियरहरु बीच काम गर्ने क्रममा ग्राफिक सिम्वोल नमिल्ने हुँदा काम गर्न समस्या भएको गुनासो सुनिन्छ, यसका लागि के गर्नु पर्ला ?
 
इलेक्ट्रिक विषयमा विभिन्न देशबाट अध्ययन गरेर आएका इलेक्ट्रिकल इन्जिनियरहरु र नेपालमा नै अध्ययन गरेका इलेक्ट्रिकल इन्जिनियरहरु बीच काम गर्ने क्रममा ग्राफिक सिम्बोल नमिल्ने हुँदा काम गर्न असहज हुने देखिएको छ । यस्ता समस्या समाधानका लागि हामीले गुणस्तर विभागसँग छलफल गर्दै आएका छौ । हामीले सीन मार्फत उपेन्द्र बडाल र दिवाकर वैद्यलाई गुणस्तर विभागसँग आवश्यक सहकार्य गर्न प्रतिनिधिका रुपमा पठाएका छौ । यसबाट आवश्यक प्रतिक्रिया आए पश्चात के गर्नु पर्दछ सो विषयमा हामी पुन छलफल गर्ने छौ । 
 
सीनलाई नेपाल सरकारले आगाामी दिनमा कस्तो सहयोग गर्नुपर्ला जस्तो लाग्छ ?
 
नेपाल सरकारले सीन लाई  आर्थिक रुपमा कुनै पनि सहयोग गर्नु पर्दैन । नीतिगत रुपमा भने सहयोगको आवश्यक छ । सरकारले सेफ्टी ऐनलाई कार्यान्वयनमा ल्याउनु पर्दछ । सरकारले ऐन निर्माण गरे पश्चात त्यसको कार्यान्वयनको पक्षलाई अनुगमन गर्नुपर्दछ । सेफ्टीका विषयमा स्थानीय निकायले समेत ध्यान दिनु पर्दछ । यसको कार्यान्वयन स्थानिय तह देखि नै हुनुपर्दछ । त्यस्तै इलेक्ट्रिसियनहरुले पनि आफ्नो सुरक्षाका लागि काम गर्ने क्रममा आफूले नै सुरक्षित सामग्री प्रयोग गर्नुपर्दछ । 
 
न्जिनियरहरुले काम गर्ने क्रममा ठगी गरेका घटनाहरु पनि सुन्ने गरिन्छ, यसको नियन्त्रणका लागि के गर्नुपर्ला ?
 
हामीले हचुवाका भरमा इन्जिनियरहरु लाई लान्छना लगाउनु उपयुक्त हुँदैन । एक जना इन्जिनियरले ठगी ग¥यो भन्दैमा सबै इन्जिनियरहरुले त्यस्ता कार्य गर्दछन् भन्ने हुँदैन । यसमा सीनले भन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्नुपर्दछ । यदि कुनै ठाउँमा इन्जिनियरहरुले ठगी गर्दै आएको पाइएमा सम्बन्धित निकायले कारवाही गर्नुपर्दछ । 
 
नक्शा निर्माण गर्दा आर्थिक लेनदेनमा इन्जिनियर पिच्छे फरक फरक हुने गरेको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ? 

कुनै पनि घर तथा भवन निर्माणका लागि नक्शा बनाउँदा हामीले के बुझ्नु पर्दछ भने नक्शा नगरपालिका तथा वडाले बनाउने होइन । बनेको नक्शा नगरपालिका तथा वडाले पास गर्ने हो ।  हाम्रो विडम्बना के छ भने नक्शा बनाउन नगरपालिका तथा वडाले भनेका इन्जिनियरहरुबाट नै नक्शा बनाउनु पर्ने देखिन्छ । अन्य इन्जिनियरहरुलाई नक्शा बनाउन लगाउँदा नक्शा पासमा समय लाग्ने गर्दछ । नक्शा बनाउनमा इन्जिनियरहरु पोख्त भएको भएपनि नगरपालिकाले त्यसको अनुगमन गर्दैन । 
 
सीन लाई अघि बढाउन कस्ता योजनाहरु ल्याउनु भएको छ ? यसको बारेमा बताइदिनुहोस् न । 
 
सीनलाई अघि बढाउनका लागि मेरो कार्यवधिभरमा सीन ट्रेनिङ्ग सेन्टर स्थापना गर्ने मेरो प्रमुख उद्धेश्य रहेको छ । त्यस्तै सीनको आफनै भवन निर्माणका लागि जग्गा खरिद गर्ने, भवन निर्माण गर्ने योजना रहेको छ भने यस सीनमा एक हजार भन्दा बढी इलेक्ट्रिक इन्जिनियरहरुलाई आवद्ध गराउने योजना रहेको छ । त्यस्तै विद्युतीय क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्दै अघि बढ्ने योजना रहेको छ ।

प्रतिक्रिया