देशभर ‘लक डाउन’ सुरु भएपछि विद्युत माग घट्यो, रातको समयमा विद्युतगृह बन्द गर्नुपर्ने अवस्था आउँदैछ ः घिसिङ

  • प्रकाशित मिति : Wed-25-Mar-2020
  • - Admin
title

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत मागमा भारी गिरावट आउँदा रातको समयमा विद्युतगृह बन्द गर्नुपर्ने अवस्था आउन लागेको बतएका छन् । देशभर ‘लक डाउन’ सुरु भएपछि माग घटेकाले सञ्चालनमा रहेका प्राधिकरणका विद्युतगृह बन्द गर्नुपर्ने सम्भावना बढेको बताएका हुन् ।
 
विद्युत माग आधा घटेपछि भारतबाट आउने विद्युत परिमाण पनि घटेको उनले बताए । उनका अनुसार अहिले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत करिब १ सय ५० मेगावाट हाराहारीमा मात्र विद्युत आयात भइरहेको छ ।
 
‘उद्योगधन्दा, कलकारखाना, होटल, सरकारी तथा निजी कार्यालय बन्द भएपछि विद्युत माग पनि आधा घटेको छ,’उनले भने,‘आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने हुँदा बिहीबारदेखि भारतबाट ५० मेगावाटमात्र ल्याउने तयारी हुँदैछ।’ उनले निजी क्षेत्र र प्राधिकरणका नदी प्रवाही जलविद्युतगृहको उत्पादनले आपूर्ति व्यवस्थापन गर्न सम्भव भएकाले कुलेखानी जलाशय पनि बन्द गरेको बताए ।
 
उनले माग घटेसँगै वितरण प्रणालीमा कुनै समस्या नरहेकाले ढुक्क भएर विद्युतीय उपकरण चलाउन ग्राहक वर्गमा अनुरोध गरेका छन् । ‘लक डाउन’ अवधिभर अत्यावश्यक सेवाबाहेक अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत प्रयोग भइरहेकाले विद्युतीय चुलो, कुकर, आइरनलगायत बढी विद्युत खपत गर्ने उपकरण निर्धक्कले चलाउन ग्राहकसमक्ष आग्रह गरेका हुन् ।
 
घिसिङले वर्षा, हावाहुरी, प्राविधिक गडबडीबाहेकका कारणले सेवा अवरुद्ध हुने अवस्था आए पनि तत्कालै मर्मत गरेर सुचारु गर्न कर्मचारीहरु तयारी अवस्थामा राखिएको बताए । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न सरकारले देशभर लक डाउन गरेपछि विद्युतको माग आधा घटेको छ । लक डाउन अघि १२ सय मेगावाट रहेको विद्युत माग बुधबार मध्यान्ह ६ सय २८ मेगावाटमा झरेको छ ।
 
लक डाउन सुरु भएपछि बढी विद्युत खपत गर्ने उद्योग, कलकारखाना, होटल, निजी तथा सरकार कार्यालय बन्द हुँदा मागमा पनि भारी गिरावट आएको घिसिङले बताए । बुधबार बिहानको माग अझै कम ४ सय ४६ मेगावाटमा झरेको छ । मंगलबार रातिको माग ४ सय ८३ मेगावाट थियो ।
 
बुधबार बिहानसम्म आइपुग्दा माग अझै घटेको उनले बताए । मंगलबारको अधिकतम माग ९ सय ४५ मेगावाट  थियो ।सबैभन्दा बढी विद्युत खपत हुने काठमाडौं उपत्यकाको माग पनि ह्वातै घटेको छ । लकडाउनअघि साढे ३ सय मेगावाट रहेको माग अहिले घटेर २ सय ९०  मेगावाटमा झरेको प्राधिकरणले जनाएको छ । बुधबार बिहान १ सय ४ मेगावाट रहेको उपत्यकाको माग मध्यान्ह १२ बजे बढेर १ सय ८२ मेगावाट पुगेको छ ।
साभार ः ऊर्जा खबर 

प्रतिक्रिया