भर्खरै

देशभर लकडाउनको कारण ऊर्जा, सडक र सुरुङलगायत सबै आयोजना प्रभावित, काम ठप्प रहँदा निर्धारित लक्ष्य पर धकेलियो

  • प्रकाशित मिति : Fri-27-Mar-2020
  • - Admin
title

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलनबाट रोक्न सरकारले अत्यावश्क बाहेकका सेवा रोक्दै एक साताका लागि पूरै देश लकडाउन गर्दा पूर्वाधार निर्माणका सबै आयोजना प्रभावित छन्।  

ठुला सडक, सुरुङमार्ग, हाईड्रोपावर, खानेपानी, रेल र विमानस्थल लगायतका आयोजनाहरु सबैका काम रोकिएका छन्। निर्माण कम्पनीले जिम्मा लिएर निर्धारित अवधिमा पूरा नगर्दा कारवाही गर्न थालेको सरकारका लागि अब सबै आयोजनामा काममात्रै ढिला हुने नभइ लागत पनि बढ्ने स्थिति छ।

सडक विभागका सबैजसो आयोजना ठप्प छन्। विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनादेखि लिएर अन्य सबै खालका कामहरु प्रभावित भएका छन्। हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग, पूर्व-पश्चिम राजमार्ग लगायतका राष्ट्रिय गौरवका र अरु सबै जसो आयोजनाहरु ठप्प छन्। ‘हामीले यस्तै गर उस्तै गर भन्न मिल्दैन। कतै अलि अलि मात्रै काम भएको थियो भने ती पनि केही दिन रोकिन्छ,‘ उनले भने ‘मानिसको जीवनभन्दा ठूलो केही छैन।’

जापान सरकारको सहयोगमा निर्माणको प्रक्रिया अघि बढाइएको थालिएको नागढुंगा-नौविसे सुरुङमार्गको काम पूर्ण रूपमा रोकिएको छ। सरकारले चैत ११ गते मंगलबार विहान ६ बजेबाट लकडाउन गर्ने निर्णय गरेसँगै आयोजनाको काम पूरै बन्द गरिएको प्रोजेक्ट म्यानेजर श्यामप्रसाद खरेलले बताए। ‘धेरै कामदारहरु घर फर्किसके। जापानी टोली यहीँ हाउस क्वारेन्टाइनमा बसेको छ,‘ उनले भने।

केहीमा कामदार भने फर्किने क्रममा छन्। बर्दियाका केही कामदार फर्किन बाँकी रहेको उनले बताए। ‘जोखिम लिनै भएन नी । काम गर्ने ठाउँमा दुरी कायम गर्न सकिँदैन,’ उनले भने। आयोजनामा प्राविधिक र कामदार गरि २ सय ८४ जना थिए। काम रोकिएसँगै ४२ महिनामा तयार पार्ने लक्ष्य राखिएको नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग निर्माणमा ढिलाइ हुने भएको छ। चन्द्रागिरी नगरपालिकाको टुटिपाखाबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्ग करिब २.७ किमिको हुने डिजाइनमा छ। 

जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब आन्तरिक स्रोत खर्चेर निर्माण हुन लागेको आयोजनालाई जग्गा अधिग्रहण र खाली गराउने प्रक्रियामा पनि समय लागेको थियो। 

उता निर्माणाधीन बुटवल-नारायण सडकको काम पनि रोकिएको छ। आठ महिनामा बल्ल साइट क्लियर गराउने काम भएर विस्तार थालेको दुई महिना पनि बित्न नपाउँदै पुनः काम रोकिएको हो। एसियाली विकास बैकको सहयोगमा निर्माणाधीन उक्त सडकमा ठेकेदार कम्पनी चिनियाछ छ। आयोजनाका अनुसार चिनियाँ कम्पनी रहेका कारण नेपाल लकडाउन हुनुपूर्व नै काम रोकिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए। 

त्यसैगरि रसुवागढी जोड्ने स्याफ्रुवेंसी–रसुवागढी १७ किमि सडक चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा चार अर्ब खर्चेर विस्तार हुन लागेको थियो। मार्च ८ बाट काम थाल्नेगरि शिलान्यास गरिएको थियो तर कोरोनाकै कारण काम सुरु हुनै पाएन। सडकका विभागका साना ठुला गरि थुप्रै आयोजना कोरोना कारण प्रभावित छ।

रेल आयोजना ठप्प
जनकपुर-जयनगर रेल सेवा सञ्चालनको तरखर भइरहेको थियो। रेलवे ट्रयाक तयार छ भने भारतको चेन्नइमा तयार ट्रेन सेट ल्याउने तयारीसँगै रेल विभागले आवश्यक कर्मचारी पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।

'देश नै लकडाउन भएको अवस्थामा हाम्रो काम पनि ठप्प छ,' विभागका महानिर्देशक बलराम मिश्रले भने, 'सबैतिर प्रभावित भयो। केही काम भएको छैन्। हाम्रा आयोजनाहरु जे जहाँ जस्तो अवस्थामा थिए, त्यहीँ ठप्प भयो । काम गर भनेर कसैलाई भन्न सकिँदैन, मानिसलाई मानिसको डर हुन थाल्यो।’

पूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा खण्डमा काम भइरहेको थियो। त्यसैगरि केरुङ-काठमाडौं र रक्सौल-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गर्ने प्रक्रिया थाल्न लागिएको थियो। यो काम पनि कोरोनाका कारण केही पछाडि धकेलिने भएको छ।

जयनगर-जनकपुर खण्डमा चैतबाट भारतबाट दुई सेट रेल ल्याएर चालु महिनाभित्रै सेवा सञ्चालनमा ल्याउने  योजना थियो। अब योजना पछाडि त सरेको छ नै, कहिले थाल्ने भन्ने पनि टुणगो हुन सकेको छैन। कर्मचारी नियुक्ति प्रक्रियामै समय लाग्ने भएकाले यो वर्ष रेल चलाउन कठिन पर्ने देखिएको छ। 

मेलम्ची खानेपानीको पनि रोकियो मुख्य काम 
काठमाडौं उपत्यकामा पानी ल्याउने वर्षौंदेखि निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको पनि मुख्य काम रोकिएको छ। परामर्शदाता र इन्जिनियर साइटमा छैनन् । आयोजना प्रमुख तिरेश खत्रीले आयोजनाको मुख्य काम नै रोकिएको बताए। उनका अनुसार अहिले चिनियाँहरूले सानातिना काम गरिरहेको भए पनि मुख्य काम रोकिएको छ। निर्माण जिम्मा पाएको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनले काम रोकेको पत्र आयोजनालाई पठाएको हो।

पछिल्लो संशोधित तालिकाअनुसार मेलम्ची पानी सुन्दरीजल झार्ने बताइए पनि काम रोकिएकाले लक्ष्य निर्धारित अवधिभन्दा पर धकेलिन सक्ने देखिएको छ। आयोजनाका साइट इन्जिनियर शेखर खनालका अनुसार 'फुल फेज' मा काम गरे अझै तीन महिना समय लाग्छ। अहिले अस्थायी बाँध (कफर ड्याम) बनाएर ड्राइभर्सन आउटलेटमा पानी हालिएको छ। 

आउटलेटमा गेट हाल्नेबित्तिकै पानी सुरुङमा जान्छ। तर त्यसका लागि सुरुङमार्ग तयार अवस्था छैन। अम्बाथान, सिन्धु र ग्याल्थुमका अडिट टनेलमा गेट हाल्नुपर्छ। एउटा गेट हाल्नमा कम्तिमा एकदेखि डेढ महिना लाग्ने इन्जिनियरहरुको भनाइ छ। झण्डै तीन महिना त गेट हाल्न नै लाग्ने देखिन्छ।

'भेन्ट साफ्ट' को काम बाँकी नै छ। सुरुङमार्गको भित्रबाट हावा बाहिर जानका लागि प्वाल पार्ने काम भेन्ट साफ्ट हो। तीनवटा भेन्ट साफ्ट बनाउनुपर्ने छ। जसमा एउटामात्रै तयार छ। त्यसैगरि खोलाको पानीसँग आउने गिटी र बालुवा लगायतलाई पुनः मेलम्ची खोलामा नै पठाउनेगरि अम्बाथानमा 'फ्लसिङ सिस्टम' बनाउन लागिएको छ, जसको काम नै सुरु भएको छैन्। सुरुङमार्गको अवस्थामा बारे जानकारी लिन र सर्भिलेन्स गर्न इन्ट्रमेन्ट जोड्ने फाइनल फेजको फिनिसिङका केही काम बाँकी नै छन्।

कोरोनाका कारण विकासका आयोजनाहरुका काम रोकिएका कारणले राज्यले यसको थप व्ययभार बोक्नुपर्ने भएको छ। आयोजनाहरुका लागि समय लम्बिँदा खर्च समेत बढ्न जान्छ। स्रोत ः बिजमाण्डू अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago