भर्खरै

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

  • प्रकाशित मिति : Tue-07-Apr-2020
  • - रासस
title

 
 
 सिन्धुपाल्चोक चैत । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हँुदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हँुदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव रहेको केमिकल तत्काल आपूर्ति हुन नसके चाँडै नै काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए। 
 
आयोजनालाई कूल छ हजार ३०० मेट्रिक टन मात्र मौज्दात रहेकाले त्यसले धेरै दिन धान्न नसक्ने देखिन्छ । सम्झौताअनुसार शुरुदेखि नै चिनियाँ कम्पनीबाट उत्पादित होङ्सी सिमेन्ट प्रयोग हँुदै आएको छ । हाल उक्त सिमेन्टको कारखानासमेत बन्द भएकाले अन्य सिमेन्ट प्रयोग गर्न नमिल्ने हुँदा नेपाल सरकारलाई समन्वय गरी चाँडै नै आपूर्तिको व्यवस्था मिलाइदिन आयोजना प्रमुख डा लामाले आग्रह गरेको छ ।
 
हाल आयोजनाको चाकुस्थित बाँधको काम एक महिनाभित्र सम्पन्न हुने गरी तीव्रगतिमा भइरहेको छ । बाँधको काम चाँडै सम्पन्न गर्न सकेको खण्डमा नदीमा बाढी आए पनि क्षति नपुग्ने  भनाइ रहेको छ । आयोजनाको कूल सात हजार ११८ मिटर लामो सुरुङमध्ये छ हजार ६१८ मिटर सम्पन्न भई ९३ प्रतिशत काम पूरा भएको छ । त्यस्तै छ मिटर उचाइ र ३७ मिटर लम्बाइको बाँधमध्ये ७० प्रतिशत र विद्युतगृहको २५ प्रतिशत काम सम्पन्न भएको छ । कूल रु १४ अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी २०२० को डिसेम्बर अर्थात् नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने पछिल्लो समयसीमा निर्धारण भएको छ । आयोजनाको सिभिलकार्य चीनको वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एण्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा निर्माण भइरहेको छ ।
 
चिलिमे कम्पनीको सह प्रवद्र्धनमा निर्माण भइरहेको उक्त आयोजना सन् २०१३ डिसेम्बरमा शुरु भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विसं २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र पटक–पटक आएको भोटेकोशी बाढीका कारण निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको थियो ।
रासस

प्रतिक्रिया