भर्खरै

२०७६ साल जलविद्युत् उत्पादनमा चुकेको वर्ष

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - भीम गौतम
title

 
बैशाख काठमाण्डौ । ५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट सुरु भएको विद्युत् उत्पादनको इतिहास १ सय ८ वर्ष लामो छ । वि.सं. १९६८ सालमा सुरु भएको जलविद्युत् उत्पादन २०७५ सालको अन्तिमसम्म आइपुग्दा डिजेल प्लान्ट र मल्टिफ्यूलसहित १ हजार १ सय १२ मेगावाट मात्र थियो तर २०७६ सालमा मात्र १ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि, यो लक्ष्य हासिल गर्न २०७६ साल चुकेको छ ।
 
नेपाल विद्युत् विद्युत् प्राधिकरण मात्र नभै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत २०७६ सालमा जलविद्युत्मै सबैभन्दा बढी उत्पादन हुने बताउँदै इतिहास रच्ने विवरण पेश गरेका थिए । विद्युत् प्राधिकरणको विवरणले निजी क्षेत्रबाट एक सय मेगावाटसहित १ सय ७१ मेगावाट मात्र उत्पादन भएको छ । ३१ मेगावाटका तीन आयोजनाको भने २०७६ भित्रै उत्पादन परीक्षण गरिरहेका छन् भने व्यवसायिक उत्पादन भने २०७७ सालदेखि गर्नेछन् । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी हालसम्म १ सय ७४ मेगावाट बराबरको उत्पादन भएको र आगामी असारसम्म ३ सय ५५ मेगावाट उत्पादन हुने अनुमान गरेको बताउँछन् । प्राधिकरणका अनुसार, २०७६ सालमा विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएका थिए । निजी क्षेत्रले भने ९७ मेगावाट बराबरको निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका थिए । हालसम्म विद्युत् प्राधिकरणबाट ६सय ३५ मेगावाट र निजी क्षेत्रबाट ६ सय ५१ मेगावाट उत्पादन भएको छ ।
 
 
विद्युत् प्राधिकरणले नयाँ बर्ष २०७६ सालमा पनि विगतमा जस्तै एक हजार मेगावाटभन्दा बढी उत्पादन हुने अनुमान गरेको छ । विद्युत् प्राधिकरणको प्रक्षेपण अनुसार, २०७७ सालभित्र ११ सय ८५ मेगावाट बराबर उत्पादन हुनेछ । प्राधिकरणको लक्ष्यले २०७७ मा ५ सय ३० मेगावाट बराबरका आयोजना सम्पन्न हुने अनुमान रहेकोमा २०७६ सालमा सम्पन्न हुन नसकेका ६ सय ५५ मेगावाटका आयोजना पनि २०७७ सालमै सम्पन्न हुनेछन् ।
 
२०७६ सालमा भने स्वदेशी लगानीमा निर्माण भईरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी, ५७ मेगावाटको साञ्जेनलगायतका आयोजनाहरू समेत सम्पन्न हुने अनुमान गरिएको छ । लक डाउन अघि साउनभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी ढिला हुँदा पनि आगामी दशैभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने निजी क्षेत्रका पनि करिब ५ सय मेगावाटका आयोजनाहरू २०७७ सालमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
लक्ष्य अनुसार शतप्रतिशत उत्पादन नभएपनि २०७७ साल सबैभन्दा बढी उत्पादन हुने बर्षको रुपमा रहने अनुमान गरिएको छ । एक हजार मेगावाट लक्ष्य राखेपनि माथिल्लो तामाकोसीसहित कम्तीमा ७ सय मेगावाटको आयोजना निर्माण सम्पन्न हुने दाबी गरिएको छ । प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी विद्युत् उत्पादन २०५९ सालमा १५१.५ मेगावाट उत्पादन भएको थियो । सो वर्ष १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणमार्फत निर्माण सम्पन्न भएको थियो भने निजी क्षेत्रबाट ७.५ मेगावाटको इन्द्रावती तेस्रो उत्पादन भएको थियो । २०७४ सालमा ११७ मेगावाट, २०५७ सालमा नेपालमै पहिलो निजी क्षेत्रका खिम्ती र भोटेकोसीबाट १०५ मेगावाट उत्पादन भएको थियो ।
२०७७ सालमा ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ए, ८२ मेगावाटको लोआर सोलुखोला, ८६ मेगावाटको सोलुखोला दूधकोसी, ३७.६ मेगावाटको काबेली–ए, ३४ मेगावाटको आँखुखोला लगायतका आयोजना पनि सम्पन्न हुने सूचीमा छन् । ३६ मेगावाट माथिल्लो बलेफी ए, २५ मेगावाटको दरवाङ म्याग्दी, १०२ मेगावाटको मध्यभोटेकोसी तथा ५७.३ मेगावाटको अपर र अपर साञ्जेन जलविद्युत् आयोजना पनि २०७७ सालमै सम्पन्न हुने सूचीमा छन् ।
कारोबार दैनिक

प्रतिक्रिया