भर्खरै

निर्माण सामग्री ढुवानी सहज बनाइने

  • प्रकाशित मिति : शुक्र, बैशाख १९, २०७७
  • - अनुपमा खनाल,
title

 
 
गोरखा,बैशाख । गोरखा  जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभन्दा बाहिरबाट निर्माण सामग्री ढुवानी गर्नुपरेमा निर्माण ब्यवसायीलाई पटके पास दिने भएको छ ।
लकडाउनका समयमा पनि विकास निर्माणकार्यलाई गति दिन प्रशासनले गोरखा चेम्बर अफ कमर्श वा उद्योग वाणिज्य संघ गोरखाको सिफारिसका आधारमा निर्माण सामग्री ढुवानीका लागि पटके पास जारी गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर अपरेसनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै निर्माण ब्यवसायीले बाहिरी जिल्लाबाट निर्माण सामग्री ल्याएर बिक्री तथा स्टोर गर्नसक्ने भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । “बैठकले विकास निर्माणको कामलाई लकडाउनमा पनि प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ,” उनले भने, “यसका लागि विकास निर्माणका सामग्री ढुवानीलाई सहज र थप ब्यवस्थित गर्ने निर्णय भएको हो । योजना सञ्चालन गर्ने सम्बन्धित कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले निर्माण सामग्री ओसारपसारका लागि पनि पास दिने निर्णय भएको छ ।”
 
गोरखामा लकडाउनका कारण रोकिएका विकास योजना निर्माणको काम सुरु भएको छ । पूर्वाधार विकाससँग सम्बन्धित कार्यालयहरूले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर रोकिएका विकासका काम सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट हालसम्म १ सय १८ विकास योजना सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए । सबैभन्दा धेरै प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले ३८ वटा योजनाको काम अघि बढाउन स्वीकृति लिएको छ । यस्तै पूर्वाधार विकास कार्यालय लमजुङले २१ वटा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २९ वटा योजनाको काम सुरु गर्न अनुमति लिएका छन् । ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले पनि लकडाउनकै बीचमा ११ वटा सडक योजनाको कामअघि बढाउने भएको छ । यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले २ वटा तथा वारपाक–सुलिकोट गाउँपालिकाले ३ वटा योजनाका लागि प्रशासनबाट स्वीकृति लिएको छ ।
लकडाउनका कारण रोकिएको जिल्ला अस्पताल गोरखाको भवन निर्माणका लागि पनि प्रशासनले स्वीकृति दिएको छ । यस्तै हरमटारी रंगशाला स्तरोन्नति, नयाँगाउँ–सिरानडाँडा–भच्चेक सडक कालोपत्रे, सोतीबजारस्थित बूढीगण्डकी पक्की पुल निर्माण, मस्र्याङ्दी काठमाडौं २२० केभी प्रसारणलाइन विस्तार, रिचेत जलविद्युत् योजनालगायतको काम पनि अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले कामदारको अनावश्यक आवतजावत र भीडभाड नहुने गरी कामअघि बढाउन निर्देशन दिएको प्रशासकीय अधिकृत रोकाले बताए ।
कारोबार दैनिक
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago