भर्खरै

स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग विद्युत प्राधिरकणले माग्यो निःशुल्क फ्रिक्वेन्सी

  • प्रकाशित मिति : आईत, पौष २६, २०७७
  • - विद्युत संसार
title

काठमाडौं २६ पुस । नेपाल विद्युत प्राधिकरणले ग्राहकको जोडिने स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन सरकारसँग ३९५ देखि ४०० मेगाहर्ज ब्यान्डका निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । 
प्राधिकरणले गत साउन २५ गतेबाट काठमाडौंका सीमति क्षेत्रमा पुराना मिटर हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको थियो । ग्राहकको स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत मिटरको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो ।
फ्रिक्वेन्सी लिनेबारे सञ्चार मन्त्रालयसँग प्राधिकरणले छलफल अगाडी बढाएको छ । सरकारले तोक्ने दरमा शुल्क तिरेर फ्रिक्वेन्सी लिँदा ग्राहकलाई विद्युत शुल्क बढाउनुपर्ने भएकाले निःशुल्क फ्रिक्वेन्सी पाउनुको विकल्प नरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले शुल्कबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग्दा करिब ९८ हजार स्मार्ट मिटरमा सो फ्रिक्वेन्सी प्रयोग गर्दा वर्षमा करिब १ अर्ब ९७ करोड शुल्क लाग्ने जानकारी दिएकोे थियो । डिभाइसको संख्या अनुसार फ्रिक्वेन्सी दस्तुर लाग्ने जानकारी आएको मिटरको संख्या बढ्दै गएर शुल्क पनि बढ्दै जाने दूरसञ्चार प्राधिकरणले जनाएको ।
पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब ९८ हजार पुराना मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिँदैछ । अहिलेसम्म करिब २८ हजार मिटर प्रतिस्थान भएको छ । त्यसमध्ये करिब २५ हजार मिटर रिड गर्न अब मिटर रिडर जान बन्द भएको छ ।
पहिलो चरणमा करिब १ अर्ब रुपैयाँ खर्चिएर स्मार्ट मिटर प्रतिस्थान गर्न एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ । ऊर्जा मन्त्रालयले दुई वर्षअघि स्वेतपत्र मार्फत ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने घोषणण गरेको थियो । प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ ।
 
स्मार्ट मिटर किन ?
स्मार्ट मिटर जोडेपछि विद्युत् खपतको डाटा दुबैतर्फ प्रसारण हुन सक्ने हुँदा प्राधिकरणबाटै मिटर रिडिङका साथै, समयमै बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन मार्फत काट्न सकिन्छ । यो सँगै विद्युत् चुहावट नियन्त्रण हुने प्राधिकरणको अपेक्षा छ । 
स्मार्ट मिटरमा पिक, अफ पिक र अन्य समयमा ग्राहकको हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिन्छ । विद्युत बढी उत्पादन हुँदा वर्षायाममा खपत बढाउन सिजन अनुसार सस्तो महसुल कायम गर्न र हिउँदयामको महसुल फरक तोक्न पनि सकिने छ ।
स्मार्ट मिटरमा ‘पोष्ट–पेड एन्ड प्रि–पेड फङ्सन’ हुने हुँदा ग्राहको ईच्छा अनुसार पोष्ट पेड र प्रि पेड पनि गर्न सकिने छ । ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्ने हुँदा सजिलो पनि हुन्छ ।

प्रतिक्रिया