भर्खरै

म्याग्दीको दिच्याममा बिजुली पुग्दा स्थानीयमा खुसीयाली छायो

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - विद्युत संसार संवाददाता
title

म्याग्दी,पुस । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि गाउँमा खुसीयाली छाएको छ ।
 
साविक दरवाङ गाविसको ७, ८ र ९ वडामा पर्ने दिच्यामका सबै बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयहरुमा खुसीयाली छाएको हो । 
 
यसअघि साविक ९ नं वडाको बस्तीमा बलेको बिजुली वडा नं ८ को बस्तीमा पनि विस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताए । साविकको वडा नं ७ को बस्तीमा एक वर्षअघि नै बिजुली बलेको थियो । नेपाल विद्युत् प्राधिकरणको योजनाअनुसार बाँकी ७९ घरमा पनि विद्युतीकरण भएपछि दिच्यामका सबै बस्तीमा बिजुली बलेको वडा सदस्य रोकाले बताए । 
 
वडा सदस्य रोकाका अनुसार दिच्याममा विद्युत् विस्तार गर्न दुई ट्रान्सफर्मर राखिएको छ । दरवाङबाट गोगनपानी हुँदै दिच्याममा विद्युत् लाइन विस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए ।
विद्युत् सुविधासँगै स्थानीयवासीको दैनिकीमा सुधार आउने र जनजीवन सहज बन्ने अपेक्षा गरिएको स्थानीयहरुको भनाई छ । विद्युत् सुविधा भएपछि टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न र विद्यार्थीलाई पढ्न सहज भएको स्थानीय हरु बताउँछन् । कम्प्युटर, ल्यापटप चलाउन सजिलो हुनुका साथै सूचना प्रविधिमा पनि पहुँच बढेको छ । धुँवाबाट बच्ने र समयको बचत भएको छ । 

प्रतिक्रिया