भर्खरै

कहाँ चुक्यो विद्युत प्राधिकरण ?

  • प्रकाशित मिति : बुध, पौष २९, २०७७
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं २९ पुस । नेपालका अधिकांश जलविद्युत आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । यस्ता आयोजनाबाट वर्षात्को समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन भएता पनि हिउँदको समयमा कम मात्रामा विद्युत उत्पादन हुने गर्दछ । जसकारण विद्युत माग अनुसार वर्षातमा नेपाललाई आफ्नै देशमा उत्पादित विद्युतले नै पुग्दछ तर हिउँदमा छिमेकी मुलुक भारतबाट आयात नै गर्नुपर्ने बाध्यता छ ।
 
यद्यपि देश यतिखेर लोडसेडिङ्ग मुक्त छ बितेको तीन वर्षयता नेपालमा औपचारिक लोडसेडिङ्ग नेपाली जनताले सुन्न परेको छैन । लोडसेडिङ्ग अन्त्यमा ठूलो योग्दान दिएका कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल पश्चात् उनि पदमुक्त भएका छन् । उनको पुनःनियुक्ति गर्नुपर्ने माग सहित विभिन्न आन्दोलनपनि भएका थिए तर त्यसको सुनुवाइ हुन सकेन । 
हाल कामुको रुपमा हितेन्द्र देव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी रुपमा नियुक्ति पाएका छन् संयोग भन्नुपर्छ उनको नियुक्तिको केही समयमा प्राधिकरणको अध्यक्ष तथा ऊर्जा मन्त्रालयको नेतृत्वमा पनि नयाँ मन्त्री नियुक्ति भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन पश्चात् भएको राजनैतिक परिवर्तनले ओली पक्ष निकट टोपबहादुर रायमाझीले दोस्रो पटक ऊर्जामन्त्रीमा नियुक्ति पाएका हुन । 
 
संयोग नै भनौ, प्राधिकरण र ऊर्जा मन्त्रालयमा नयाँ नेतृत्व आएसँगै समय–समयमा बत्ति जाने समस्या धेरै भएको आम जनताको गुनासो छ । यतिसम्म कि सामाजिक संञ्जाल र केही मिडियाले अघोषित लोडसेडिङ्ग गरेको आरोप समेत प्राधिकरणले व्यहोर्नुप¥यो र प्राधिकरण लोडसेडिङ्ग नभएको भन्दै विज्ञप्ती समेत निकाल्न बाध्य भयो । 
प्राधिकरणका निर्देशका शाक्यले विगतमा पनि अहिलेजस्तै फोर्स लोडसेडिङ्ग हुने गरेको बताउँदै आएका छन साथै उनले विकास निमार्णका काममा, पोल ट्रान्सर्फमर परिवर्तन गर्दा, विद्युत सेवा अवरुद्ध भएको र यसलाई लोडसेडिङ्ग भन्न नमिल्ने बताउँदै आएका छन् तर प्राधिकरणकै पूर्वअधिकारीहरु ‘विगतमा पनि अहिलेजस्तै फोर्स लोडसेडिङ्ग हुन्थ्यो’ भन्ने शाक्यको तर्कसँग सहमत छैनन् ।
 
लोडसेडिङ्ग हटाउने टिममा काम गरेका प्राधिकरणका पूर्व अधिकारीहरु लोड व्यवस्थापनमा सीप नपुग्दा अहिलेको अवस्था आएको बताउँछन् । 
तसर्थ आखिर के नेतृत्वको व्यवस्थापकीय कमजोरीका कारण यस्तो समस्या आएको हो ? विकास आयोजना निर्माणका कारण विद्युत अवरुद्ध भएको हो ? यस्ता प्रश्न भन्दापनि आम जनताले नयाँ नेतृवका कारण नै यस्तो समस्या आएको गुनासो बढेको छ । 
 
हुनत प्राविधिक कारण विद्युत सेवामा समस्या आएको पनि धेरै उदाहरण छन् । नेपालको प्रसारण लाईन देखि उपभोक्ताको पहुँचमा पुग्नको लागि प्रयोग भएका सम्पूर्ण प्रणाली नै कमजोर खालको छ । 
बढिरहेको मागलाई ध्यान नदिई तत्कालको अवस्था हेरेर मात्रै अघि बढ्दा साँझमा माग धान्न समस्या पर्न थालेको भन्नेपनि केही छन् । प्राधिकरणले संकटको अवस्थामा आन्तरिक रुपमा हुने उत्पादनलाई जतिसक्दो बढाउने र चुहावटलाई जतिसक्दो कम गर्ने पक्षमा ध्यान दिनुपर्ने हुन्छ । तर, माग र आपूर्तिबीच सन्तुलन कायम गर्न व्यवस्थापकीय सीप प्रयोग हुन छाड्दा लोडसेडिङ्गको त्रास उत्पन्न हुन थालेको स्पष्ट देखिन्छ ।
 
पछिल्ला दिनमा तराई क्षेत्रमा उच्च मात्रामा बिजुलीको माग भएको छ । अरु क्षेत्रको तुलनामा तराई क्षेत्रमा चुहावट धेरै हुने गरेको छ । कुलमानको कार्यकालमा चुहावटमा कमि आएपनि चुहावटको दर फेरि उकालो लाग्न थालेको छ ।
पछिल्ला दिनमा बढी बिजुली जानु र छिट्टै नआउनुमा प्राविधिक र माग आपूर्ति असन्तुलन मात्रै कारण नभएको विद्युत वितरण केन्द्रका अधिकारीहरुले नै बताएका समाचारहरु पनि बाहिर आएका छन् । प्राधिकरणले विगतमा जस्तो तल्लो तहसम्म कामका लागि प्रोत्साहन र नैतिक दबाव सिर्जना गर्न अहिलेको नेतृत्व चुकेको बताइन्छ यस्तो हो भने सक्षम नेतृत्वकै कमिका कारण यस्तो समस्या आएको हो भन्दा फरक नपर्ला ।
 
गत वर्ष यस्तै अवधिमा काठमाडौं उपत्यकामा ४२५ मेगावाट बिजुलीको माग थियो । अहिले ३७५ मेगावाटको हाराहारीमा छ । होटलहरु नचल्दा काठमाडौंमा उच्च दरमा माग बढेको छैन ।
कोरोनाका कारण आर्थिक गतिविधि सुस्ताएकाले काठमाडौंमा गत वर्षको भन्दा माग नबढेकाले कर्मचारीको मनोबल बढाउन सके संकट टार्न सकिने तर प्राधिकरण नेतृत्वको शैलीले समस्या आएको वितरण केन्द्रका अधिकारीहरुले नै आरोप लगाएका समाचार बहिरिएका छन् ।
 
रात–साँझ ट्रान्सफर्मर जल्दा कर्मचारी खटाउन नेतृत्वसँग ज्ञान नभएको, तल्लो तहका कर्मचारीको समस्या नबुझ्ने, कामको भुक्तानी नदिने र ओभरटाइमको लागि प्रोत्साहन पनि नगर्ने, पर्याप्त सामान उपलब्ध नहुने, यस्ता विषयमा धेरैपटक नेतृत्वलाई गुहार्दा पनि  प्राधिकरण नेतृत्वको मौन हुदाँ यस्तो समस्या आएको स्वयम् प्राधिकरणका कर्मचारीले आरोप लगाउँदा समेत नेतृत्वले कुनै चासो दिएको पाईदैन् ।
 
अर्कोतर्फ प्राधिकरणले काठमाडौं उपत्यकाको लागि विद्युत् आपूर्ति सहज पार्न थालिएको धेरैजसो काम अलपत्र परेको छन् । थानकोट(चापागाउँ–भक्तपुर १३२ केभी रिङ मेन प्रसारणलाइन निर्माणको काम अझै सकिएको छैन । यसमा स्थानीय वासिन्दाको लामो समयदेखि विवाद सल्टाउन प्राधिकरणले सकिरहेको छैन ।
 
यो प्रसारण लाइन निर्माण सम्पन्न भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारणलाइनको रिङ बन्छ । त्यो रिंगबाट बिजुलीको वितरण लाइनमा गुणस्तर थपेर लाइन आउने–जाने समस्या हल गर्न मद्धत गर्छ । मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहे पनि थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाईन बन्न नदिए प्रणालीमा मनग्गे बिजुली भएपनि काठमाडौंमा काम नलाग्ने अवस्था हुने जोखिम छ । वर्षेनी माग बढ्दै जादाँ विद्युत प्राणालीमा सुधार नहुने हो भने आउने वर्षहरुमा अझ विकराल रुप लिनेमा दुईमत छैन् ।

प्रतिक्रिया