लहानका ९० ग्राहकको काटियो लाइन

  • प्रकाशित मिति : मंगल, माघ ६, २०७७
  • - Admin
title

लहान,माघ । नेपाल विद्युत प्राधिकरण लहान (सिरहा) वितरण केन्द्रले ९० जना ग्राहककोे लाइन काटिदिएको छ ।  
लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन काटिएको हो । 
 
प्राधिकरणले पछिल्लो एक महिनामा वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियान शुरु गरेको थियो । सोही अभियान अन्र्तगत नै रहेर विद्युत महशुल नतिरेका ग्राहकको लाइन काटिदिएको प्राधिकरणले जनाएको छ । 
 
 विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असुल गरेको र बक्र्याैता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए । उनले भने पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेकोले लाइन काट्न बाध्य भएको उनको भनाई छ ।   
 
लहान वितरण केन्द्रले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत्  लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताए । उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने थ्री फेजका २२० जना ग्राहकको विद्युत्  लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत्  महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । 
 
गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख  र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया