भर्खरै

विपत्तिको पिरलो

  • प्रकाशित मिति : बुध, माघ ७, २०७७
  • - जीवनराम श्रेष्ठ (सिन्धुपाल्चोक)
title

काठमाडौं ७ माघ । नेपालको अधिकांश मानवीय बस्ती विभिन्न प्रकारले विपत्तिको जोखिममा छ । अझ देश कै राजधानी काठमाडौंको शहरी क्षेत्रका नागरिकले बाक्लो बसाई, व्यस्त सडक तथा प्रशस्त खुला ठाउँको अभावमा उकुसमुकुस जिन्दगी बिताईरहेका मानिसहरुको लागि त यो शहर विपत्तिको उच्च जोखिममा रहेका छन् ।
 
मानवीय क्रियाकलापले प्रकृतिजन्य समस्यामा अर्को विपत्तिलाई पनि निम्तो दिइरहेको छ । 
यसको पछिल्लो उदाहरण बनेको छ मुनाफा मात्रै कमाउने स्वार्थबाट प्रेरित केही व्यापारीको स्वार्थपूर्तिका लागि अव्यवस्थित रूपमा सञ्चालन भएका पेट्रोलपम्प र ग्यास डिपोहरू । जसले लाखौं जनता खतरामा बाँच्न विवश छन् ।
 
यी संरचनाबाट विशेषगरी आगलागी र ग्यास विस्फोटका खतरा उच्च रहन्छ । सानो त्रुटि भयो भने पनि यसबाट उत्पन्न समस्याले बस्ती नै सखाप पार्नेसम्मका घटना हुन सक्छ ।
अझ काठमाडौं उपत्यकाको हकमा यसले अझ ठूलो विस्तारित रुप लिने छ किनकी अव्यवस्थित तरिकाले बनेका घरहरु एकआपसमा जोडिएका छन् र त्यस सँगै सञ्चालनमा आएका पेट्रोलपम्पहरु । 
 
पेट्रोलपम्प तथा ग्यास प्लान्टमा लागेको आगो त झन् हतपत निभाउनै सकिँदैन । किनकि यी दुवै वस्तु हावामा छिटो फैलिन्छ । अति प्रज्ज्वलनशील यस्ता पदार्थको जोखिम कति रहन्छ भन्ने यथार्थ पछिल्ला केही घटनाले पुष्टि गरिसकेको छ । केही दिनअघि सातदोबाटो तथा केही वर्षअघि भक्तपुर, बल्खु, वीरगन्ज लगायतका ठाउँका पेट्रोलपम्पमा भएका आगलागी घटनालाई राम्रोसँग नियाल्ने हो भने पनि यसको जोखिम कति रहन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । 
 
यी घटना हेरेर अब पनि चेतिएर पनि हामीले शहरी क्षेत्रमा भएका पेट्रोलपम्पहरुको व्यवस्थापनमा ध्यान दिदंैनौ भने यसले जतिबेला पनि महाविपत्ति आउन सक्छ । जुन विपत्ति मानवीय नियन्त्रणभन्दा बाहिर रहन्छ । 
हाल पम्प र ग्यास डिपो सञ्चालनका सम्बन्धमा बनेका मापदण्ड कमैले पालना गर्ने गरेका छन् । पम्प र ग्यास डिपोहरूको जोखिम आंकलन नै नगरी मनपरी रूपमा पम्प र ग्यास भण्डारण गर्न दिनु नितान्त गलत कार्य हो । बस्तीको जोखिम आंकलन गरेर यस्ता संरचनालाई तत्काल स्थानान्तरण गर्नुपर्छ । बरु स्थानान्तरण गर्नुपर्ने पम्प तथा डिपोलाई जग्गा खोजी तथा अन्य काममा स्थानीय सरकारले सहजीकरण गरिदिनुपर्छ, तर जग्गा अभाव वा अन्य जटिल प्राविधिक समस्या देखाएर सञ्चालकहरू पन्छिन मिल्दैन ।
 
हाल सञ्चालनमा आएका पम्प तथा ग्यास डिपोहरुले आगो लागि हाल्यो भने नियन्त्रणका लागि आवश्यक सामग्रीको अनिवार्य व्यवस्था गरेको आसै पाइदैन । समय समयमा भएका यस्ता विपत्तिका घटनाहरुलाई मूल्याङ्कन गर्दै सञ्चालकहरुले आगो निभाउने यन्त्रका साथै तालिम प्राप्त कर्मचारीको व्यवस्था गर्नुपर्दछ । यसबारेमा स्थानीय प्रशासनबाट समय समयमा अनुगमन हुनु जरुरी छ । मापदण्ड पालना नगर्नेलाई कडा जरिमाना तथा सजाय दिनु आवश्यक छ ।

प्रतिक्रिया