लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली आजदेखि हट्यो
- प्रकाशित मिति : शुक्र, माघ ९, २०७७
- - विद्युत संसार संवाददाता

काठमाण्डौ, माघ । यातायात व्यवस्था विभागले पुस १४ गतेदेखि खुला गरेकोे लाइसेन्सको अनलाइन फारम भर्ने कोटा प्रणाली आज देखि हटेको छ ।
विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारममा निश्चित संख्या तोकेर फारम भराउने व्यवस्था आज देखि हटाएको हो ।
निश्चित कोटा तोकेर फाराम भर्न पाउने व्यवस्थामा धेरै ग्राहकको गुनासो आएपछि विभागले यो प्रणालीलाई खारेज गरेको विभागले जनाएको छ । यो प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गरेको छ । कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताए । यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको थियो ।
