भर्खरै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, निजी आवास निर्माण ९० प्रतिशत नाघेको दाबी

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १४ माघ । २०७२ सालको महाविनासकारी भुकम्प पछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 
 
 पछिल्लो   तथ्यांक अनुसार ७ लाख ९९ हजार २ सय ३८ लाभग्राहीहरू सँग अनुदान सम्झौता सम्पन्न भएको छ । सम्झौता गरिएको मध्ये ७० प्रतिशत भन्दा बढीले घर पुनर्निर्माण गरिसकेको र २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको र बाँकी लाभग्राहीहरू ले चालू आर्थिक वर्ष ०७७÷७८ भित्र निर्माण सम्पन्न गर्ने प्राधिकरणको दाबी छ । 
 
जोखिम एवंम् विपन्न वर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणमा सहयोग गरी तोकिएको समयमा सम्पन्न गर्न सहयोग गरिरहेको  प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ९०० जना घुम्ति डकर्मी र २५४ जना सामाजिक परिचालकहरुको परिचालन सहित विशेष अभियानमा अघि बढाएको छ । प्राधिकरणको सहयोगमा २ सय ४२ घर निर्माण सम्पन्न भइसकेका छन् । प्राधिकरणले ८१ प्रतिशत विद्यालय, ५८ प्रतिशत स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायका ९६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५१ प्रतिशत र सडकतर्फ ७० प्रतिशत पुनर्निर्माण भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 
 
 
 पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४८८ अर्ब रुपैंया रहेको र हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी कूल ३३९ अर्ब रुपैँया खर्च भइसकेको छ ।
 
निजी आवासको अन्तिम किस्ता लिने समयसीमा बैशाख मसान्तसम्म
प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने बैशाख मसान्तसम्म तोकेको छ । जसअनुसार सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरू ले निजी आवास पुनर्निर्माणको तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ को बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।
 
पहिलो किस्ता लिएका सबै पुनर्निर्माण लाभग्राहीले निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । त्यस्तै, अहिलेसम्म पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले ०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्ने र १५ पुस ०७७ सम्ममा पहिलो किस्ता लिनुपर्ने जानकारी गराएको थियो ।

प्रतिक्रिया