भर्खरै

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

  • प्रकाशित मिति : बिही, माघ १५, २०७७
  • - रासस
title

चितवन, माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।
 
नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ । चित्रकारले भने, “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरेका थिए ।
 
इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । चित्रकारले भने, “यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।” उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।
 
भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको बताए । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् ।
महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताए । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको छ । “कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन” । 
 
नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, “जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।”
 
उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउँछन् ।
 
पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् । चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउनुहुन्छ । उहाँले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गर्नुभयो । उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उहाँले मजदुरका समस्या समाधान र पुनःसञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताउनुभयो । पण्डितले भने, “सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय सङ्कटमा पर्छ ।”
 
स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताउनुभयो । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए । नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।
 
महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।

प्रतिक्रिया