भर्खरै

जेठ यता ४३ विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिए

  • प्रकाशित मिति : शुक्र, माघ १६, २०७७
  • - ऊर्जा खबर
title

काठमाडौं १६ माघ । पछिल्ल्लो साढे ८ महिनामा ९ सय १२ हजार मेगावाटका विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । २०७७ जेठ यता अध्ययन पूरा भई निर्माणमा जाने चरणका ४३ जलविद्युत तथा सौर्य विद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका हुन् ।
 
जलविद्युतबाट ८ सय ७१ मेगावाटको विद्युत उत्पादन गर्न ३६ आयोजनाका प्रवद्र्धकले उत्पादन अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार थप ४१.१७ मेगावाटका ७ सौर्य विद्युत आयोजना छन् ।
 
उत्पादन अनुमति पाउने आयोजनामध्ये सबैभन्दा ठुलो १ सय २८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजना छ । ताप्लेजुङको तमोर नदीमा निर्माण हुने यो आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले अघि बढाएको छ । यो आयोजनाको प्रवर्द्धक कम्पनीले गत असोज २५ गते विभागबाट उत्पादन अनुमति पाएको थियो ।
 
यस्तै, ९७.२ मेगावाटको इसुवा खोलाले जेठ २७ गते अनुमति पाएको हो । केबीएनआर इसुवा पावर कम्पनीले यो आयोजनाको अनुमतिपत्र लिएको छ । आयोजनाको अध्ययन पूरा भएपछि संरचना निर्माणको काम अघि बढाउन उत्पादन अनुमतिपत्र लिएको हो ।
 
यसैगरी, अन्नपूर्ण विद्युत विकास कम्पनीले ८६ मेगावाटको लान्दु्रक मोदी आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको छ । कालिका इनर्जी कम्पनीले पनि ६२ मेगावाटको भोटेकोसी–५ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विभागबाट उत्पादन अनुमतिपत्र लिएको छ । अन्य जलविद्युत आयोजना ६० मेगावाट भन्दा कम क्षमताका छन् ।
 
यस्तै, पिअर इनर्जी कम्पनीले १०/१० मेगावाटका २ सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको छ । कम्पनीले बाँकेमा संरचना रहने गरी अध्ययन पूरा भएका सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हो । कम्पनीले यी आयोजनाको अनुमतिपत्र गत मंसिर २९ र पुस २ गते लिएको हो ।
 
जी–आइ सोलारले ६.८ मेगावाट, ग्लोबल इनर्जी एण्ड कन्ट्रक्सनले ८ मेगावाट, सौर्य विद्युत पावरले २ मेगावाट, सगरमाथा इनर्जी एण्ड कन्सट्रक्सनले ३ मेगावाट  र नेपाल विद्युत प्राधिकरणले १.३७ मेगावाटको सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको छ । 
 
उत्पादन अनुमतिपत्र लिएका यी आयोजनाका प्रवद्र्धक कम्पनीले संरचना निर्माणको सुरु गर्नुअघिका प्रक्रियागत काम गरिरहेका छन् । केही आयोजना वित्तीय स्रोत जुटाउन लागेका छन् । विभागले अहिलेसम्म साढे ७ हजार मेगावाटका २ सय ४५  विद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ । 
 -ऊर्जा खबर

प्रतिक्रिया