भर्खरै

दुर्गम गाउँ जलजलामा ५५ लाखको लागतमा केन्द्रिय प्रसारण लाइन

  • प्रकाशित मिति : सोम, माघ १९, २०७७
  • - विद्युत संसार संवाददाता
title

बागलुङ, माघ ।  नेपाल विद्युत प्राधिकरणले बागलुङको बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा पहिलो पटक विद्युत सेवा विस्तार गरेको छ । 
 
लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका त्यहाँका वडाबासी पहिलो पटक केन्द्रिय बिजुली आएपछि स्थानीयहरु हर्षित छन । 
करिब ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्रिय प्रसारण लाइनको विद्युतको पुगेपछि दैनिक सहज बन्दै गएको छ । 
 
भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको समाजसेवी झबिन्द्र बुढाथोकीले बताए । 
 
स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, व्यवसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीयहरुको भनाई छ । 
 
ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत झण्डै ५५ लाखको लागतमा विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । 
 
प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरमा रहेको सब स्टेसन बाट ११ केभी प्रसारण लाइन मार्फत गाउँपालिकाको खौलारा बजार देखि ट्यापिङ गरेर ४ किलोमिटरको दूरीमा झुलेडाँडामा ५० केवी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको प्रमुख गोशलिले बताए । 
विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उनको भनाई छ । 
 
आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने छ । उनले भने, यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने छ । 
 
केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास बडिगाड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम गलामीले बताए । 
 
केन्द्रिय विद्युतको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले स्विच अन गरेर उदघाटन गरेको थियो । 
 
केन्द्रिय विद्युतलाई क्रमशः गाउँपालिका भित्रका सबै वडाहरू र जिल्लभर विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत उदघाटन कार्यक्रम रुपा छन्त्याल श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया