भर्खरै

फागुन १६ बाट मिस्ट्रीखोलाको विद्युत् उत्पादन हुने

  • प्रकाशित मिति : मंगल, माघ २७, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले फागुन १६ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन शुरु गर्ने भएको छ ।  
 
माउन्टेन इनर्जी नेपाल लिमिटेडले  निर्माण गरेको उक्त आयोजना फागुन १६ बाट परिक्षण उत्पादन सुरु गर्र्नेे तालिका सार्वजनिक गरेको हो । आयोजना निर्माणको सम्पूर्ण काम पूरा भएको आयोजनाले जनाएको छ ।  
 
अहिले सुरुङमा पानी भरेर अन्य उपकरणहरू पनि परीक्षण भइरहेको आयोजनाका आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए । फागुन दोस्रो सातासम्म व्यावसायिक उत्पादन गर्नका लागि तयारी भइरहेको उनले सुनाए । 
 
उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा लगेर जोडिनेछ । ४ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक आफैंले निर्माण गरेको छ ।
 
सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ बैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरिएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । विद्युतगृह नजिकै स्विचार्ड निर्माण भएको छ । एक सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
 
यसभन्दा पहिले जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने तालिका थियो तर आयोजनामा विविध समस्याका कारण बनाइएको कार्यतालिका विद्युत उत्पादन गर्न नसकेको इन्जिनियर खड्काको भनाई छ । 
 
५ अर्ब ६४ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाहरु भाटभटेनी समूह, आईएमई समूह, किया मोटसै, सिटी मनी एक्सप्रेस, लोमस ग्रुपलगायत व्यापारिक घरानाको ४ अर्ब २० करोड रुपैयाँ लगानी रहेको छ । 
 
आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जेनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो । 
 
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । म्याग्दी जिल्लाको नारच्याङलाई हाइड्रो भिलेजको रुपमा पनि लिने गरेको पाइन्छ । 
नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ । 
 
 विद्युत् विकास विभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । तीन सय ५३.८ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । 
 
तीन सय ४६.०३ मेगावाट क्षमताका छ वटा जलविद्युत् आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरेको छ । त्रियासी दशमलव पाँच मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया