भर्खरै

कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, खपत र बजार विस्तार गर्नु अहिलेको नेतृत्वलाई चुनौती

  • प्रकाशित मिति : बुध, माघ २८, २०७७
  • - विद्युत संसार
title

काठमाडौं माघ । नेपाल विद्युत् प्राधिकरणमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई २६ गते सोमबार सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को २६ गते सोमबार बसेको बैठकबाट उनी चार वर्षको लागि कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
 
भदौ २८ गते कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका थिए । प्राधिकरण सञ्चालक समिति बैठकले कात्तिक २१ गते शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । 
 
झण्डै ३ दशक विभिन्न जिम्मेवारीमा रहेर काम गरेका शाक्य यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । भने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मा समेत काम गरेको अनुभव शाक्यसँग छ ।
एनइए इन्जिनियरिङमा रहेका शाक्यलाई पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणको कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । 
 
शाक्य कार्यकालको हकमा १९औं कार्यकारी निर्देशक र व्यक्तिको रूपमा १७ औं कार्यकारी भएता पनि प्राधिकरण ऐनअनुसार पूर्ण ४ वर्षे  कार्यकालको जिम्मेवारी पाउने दोस्रो व्यक्ति हुन् । यसअघि कुलमान घिसिङले ४ वर्ष काम गर्ने मौका पाएका थिए ।
तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । उनले आफ्नो कार्यकालमा देशबाट लोडसेडिङ अन्त्य सँगै घाटामा गएको प्राधिकरणलाई अर्बौको नाफामा लगेको जस समेत घिसिङले पाएका छन् ।
 
४ वर्षे कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यलाई अघिल्लो कार्यकालको तुलनामा अझै धेरै चुनौती थपिएको छ । पूर्वाधार संरचना, आन्तरिक व्यवस्थापन खपत योजनाका यवत विषय झनै जटिल बन्ने देखिन्छ । 
प्राविधिक संरचनाको सुधार सँगै समय–समयमा बत्ति जाने समस्याको आरोप खेप्नुपरेको अवस्थामा सुख्खायममा भारतबाट आयात गर्नुपर्ने अवस्था र बर्खायाममा आन्तरिक उत्पादन नै बढी हुने हुदाँ खपतको योजना सँगै विद्युत व्यवस्थापनमा प्राधिकरण ध्यान केन्द्रित हुनु पर्ने अवश्यकता छ । 
 
गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्रसारण तथा वितरण लाइन, सबस्टेसनको व्यापक सुधार गर्दै तार, ट्रान्सफर्मर लगायत उपकरण स्तरोन्नती गर्नुपर्नेछ । विद्युत् खपत बढाउनु, विद्युत् बजार विस्तार गर्नु र बढी हुने परिमाण निर्यात गर्नुपर्ने चुनौती पनि अहिलेको नेतृत्वलाई छ । 

प्रतिक्रिया