४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

  • प्रकाशित मिति : शुक्र, फागुन ७, २०७७
  • - Admin
title

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिरिस्तीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
४२ मेगावाट क्षमताको मिरिस्ती खोला जलविद्युत् आयोजना निर्माणसँगै उत्पादन परीक्षणका लागि अन्तिम चरणमा पुगेको हो ।
 
माउण्टेन इनर्जी प्रालि नेपालले बनाइरहेको यस आयोजनाको अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी भौतिक प्रगति सकिएको आयोजनाले जनाएको छ । सुरुङ तथा पाइपमा पानी राखेर परीक्षण गरिसकिएको छ भने अब फेरि पानी राख्ने तयारी गरिएको छ । अहिले पाउवर हाउसभित्र विद्युतीयसम्बन्धी काम भइरहेको आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए ।
 
अबको दुई हप्ताभित्रमा विद्युतीयसम्बन्धी काम सकेर परीक्षण उत्पादन सुरु गरिने आवासीय इञ्जिनियर खड्काले बताए । उनका अनुसार २३ सय मिटर लामो सुरुङ तथा १६ सय मिटरको पाइपबाट ल्याइएको पानी तीन सय मिटर माथिबाट टर्वाइनमा खसालेर विद्युत् उत्पादन गरिनेछ । नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सब–स्टेशनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइनसमेत निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखिएको इञ्जिनियर खड्काको भनाइ छ ।  
 
नारच्याङमा रहेको आयोजनाको पावर हाउसदेखि दाना सब–स्टेशनसम्म लाइन निर्माणको काम सकिएकाले सुरुङतर्फ भौतिक निर्माणको पनि काम सम्पन्न भएको छ । आयोजनाको मुख्य काम सकिएको हुँदा अतिरिक्त कामलाई तीव्रताका साथ अगाडि बढाइएको छ । अहिले परीक्षण तयारी थालिएकाले संरचनाको परीक्षण सकिएपछि विद्युत् उत्पादनको परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।  
घलेम्दी र निलगिरी खोला मिसिएर मिरिस्ती नामाकरण भएको यस खोलाको सहायतामा ४२ मेगावाट क्षमताको विद्युत निकाल्ने तयारी थालिएको हो । आयोजनाका लागि मिरिस्तीखोलाको मुहानतर्फ ड्याम निर्माण गरी ढोका राख्ने कामलगायतका काम सकिएको आयोजनाको हाइड्रो मेकानिकल इञ्चार्ज दिलाराम श्रेष्ठले बताउनुभयो । आयोजना निर्माणको काम अन्तिम चरणसम्म आउँदा झण्डै चार वर्ष लागेको छ । 
 
गएको वैशाख महिनामा काम सम्पन्न गर्ने तयारी गरिएको भए पनि विश्वभर फैलिएको कोरोना भाइरसको कारण लगाइएको लकडाउनले आयोजना निर्माणमा ढिलाइ भएको हो । कालीगण्डकीको किनारमा निर्माण गरिएको मिरिस्तीको पावर हाउसको छेकबाँधका लागि ग्याबिन जाली तथा पर्खाल लगाइएको छ । 
 
अन्नपूर्ण गाउँपालिकाअन्तर्गत विभिन्न वडामा निलगिरी जलविद्युत् आयोजना र निलगिरी क्यास्केट–२ गरी एक सय १० मेगावाट, घारखोला जलविद्युत् आयोजना १४ मेगावाट र रेलेखोला जलविद्युत् आयोजना ६ मेगावाट निर्माणाधीन अवस्थामा रहेको नारच्याङका स्थानीय अगुवा तेजबहादुर गुरुङले बताए । 
 
यसैगरी कालीगण्डकी गर्ज एक सय ६४ मेगावाट, रुप्सेखोला जलविद्युत् आयोजना चार र मध्यकालीगण्डकी आयोजना ५३ दशमलव ५३ मेगावाट निर्माणको क्रममा छ । 
 
४२ मेगावाट क्षमताको मिरिस्तीखोलाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने तयारीमा छ । यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजना २२० केभी दाना सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उज्यालो अनलाइन

प्रतिक्रिया