पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा, स्थानिय हर्षित

  • प्रकाशित मिति : बुध, फागुन १२, २०७७
  • - रासस
title

बलेवा, १२ फागुन, बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो । लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका पाण्डवखानीवासी पहिलोपटक केन्द्रीय विद्युत् पुगेपछि हर्षित भएका छन् । भौगोलिक विकटतासँगै लघुजलविद्युत् मर्मत सम्भारमा पटकपटक हुने समस्याले लामो समयदेखि हैरानी खेप्नु परेको अवस्थामा केन्द्रीय विद्युत् सेवा सञ्चालन भएपछि सहज भएको स्थानीय व्यवसायी देवनारायण श्रीसले बताए ।
 
ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पाण्डवखानीमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिए । विकट अनि दूरदराजका जनतालाई विद्युत् सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत् प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।
 
आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोलसँगै अन्य विद्युतीय सामग्री व्यवस्थापन गरिने बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिए । केन्द्रीय विद्युत्को पहुँच पुगेसँगै अब स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक समृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए ।

प्रतिक्रिया