भर्खरै

फेरि बढ्यो दुई/दुई रुपैंया पेट्रोलियम पदार्थको मूल्य

  • प्रकाशित मिति : Tue-02-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाईइन्धनको मूल्यवृद्धि गरेको छ । 
सोमबारराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २÷२ रुपैँया बढाएको हो ।  
मूल्यवृद्धि भन्दा पहिले पेट्रोल रु.११४, डिजेल र मट्टितेल प्रतिलिटर रु.९७ मा बिक्रि वितरण गरिएको थियो । सोमबार रातिबाट पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैंया वृद्धि गरेर नयाँमूल्य सूची कायम गरिएको छ । 
त्यस्तै  हवाई  इन्धनमा  आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपियाँ वृद्धि गरी ७२ रुपियाँ कायम भएको छ । हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ  प्रतिकिलोलिटर  २५  अमेरिकी डलर वृद्धि गरी ८९३ कायम गरिएको निगमले जनाएको छ । 
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । इन्डियन  आयल  कर्पोरेसनबाट फागुन  १७  गते  प्राप्त  खरिद मूल्यअनुसार  पेट्रोलियम  पदार्थको मूल्य  बढेर  आएकाले  निगमले  मूल्य  समायोजन गर्नु परेको नेपाल आयल निगमको प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।  
इन्डियन  आयल  कर्पोरेसन र नेपाल  आयल  निगमबीच  सञ्चालन  हुँदै  आएको स्वचालित  मूल्यसूची  प्रणालीअनुसार  हरेक  १५÷१५  दिनमा  पेट्रोलियम  पदार्थको  मूल्य  समायोजन गरिन्छ । तर निगमले भने १५ दिनमा दुई या तीन पटक मूल्यवृद्धि गरिरहेको छ । यसभन्दा पहिले निगमले माघ ५, २८ र फागुन ४ गते मूल्य वृद्धि गरेको थियो । निगमले बारम्बार मूल्यवृद्धि गरेपछि चर्को विरोध पनि भएका छन् । तर जति नै विरोध गरेपनि निगमले विरोधको बेवास्था गरी मूल्यवृद्धि गरिरहेको देखिन्छ । 
तर जति नै मूल्यवृद्धि गरेतापनि पेट्रोलमा प्रतिलिटर ८ रुपियाँ, डिजलमा  ६  रुपियाँ  र  एलपी  ग्यासमा  प्रतिसिलिन्डर  ३९२  रुपियाँ  घाटा  रहेकोे विज्ञप्तिमा जनाइएको छ । 
 

प्रतिक्रिया