प्राधिकरणकै कारण रोकियो विद्युतीकरण, ‘उज्यालो वडा’ अभियानमा धक्का

  • प्रकाशित मिति : Thu-11-Mar-2021
  • - Admin
title

खोटाङ– नेपाल विद्युत् प्राधिकरणले आवश्यक सामग्री नपठाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ डिकुवाको विद्युतीकरण प्रभावित भएको छ ।
प्राधिकरणको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरबाट आवश्यक पोल, तार, ट्रान्सफर्मरलगायत उपकरण नआउँदा विद्युतीकरण प्रभावित भएको हो । सामान ढुवानी गर्ने, पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्नेलगायतको ठेक्का लिएको विश्वशिखर निर्माण सेवा उदयपुरले चालू आर्थिक वर्षदेखि नै काम नगरेको नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।
प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरले आवश्यक सामग्री पठाउन ढिलाई गरेकाले बाहुनीडाँडा र डिकुवाको विद्युतीकरणको काममा ढिलासुस्ती भएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । 
 
दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरी प्रदेश कार्यालयबाट सामान नआउँदा विद्युतीकरण रोकिएको बताउँछन् । ‘कतिपय पठाइए पनि थप सामान अभावमा करिब ६ महिनादेखि विद्युतीकरणको काम रोकिएको छ’, चौधरीले भने ।
तोकिएको समयमा आवश्यक सामग्री आपूर्ति नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको ‘उज्यालो वडा घोषणा’ अभियानमै असर पुगेको छ । ११ वडामध्ये वडा नम्बर १ बाहुनीडाँडा, वडा नम्बर २ डिकुवा र वडा नम्बर ३ च्यास्मीटारलाई मात्र उज्यालो वडा घोषणा गर्न बाँकी छ ।
 
 
 
विद्युतीकरणमा ढिलासुस्ती हुँदा उज्यालो वडा घोषणा गर्ने अभियानमा असर पुगेको नगरप्रमुख इवन राईले बताए । प्राधिकरणले आवश्यक सामग्री उपलब्ध गराउने गरी विश्वशिखर निर्माण सेवाले गत वर्ष ४७ लाख रुपैयाँमा विद्युतीकरणको ठेक्का लिएको हो । हालसम्म बाहुनीडाँडा र डिकुवामा अझै १ सय २५ किलोमिटर तार पुग्न बाँकी रहेको प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख उमेश महतोले जानकारी दिए ।
हालसम्म २ वटा वडामा १८ किलोमिटर तार मात्र पु¥याएर टाँगिएको छ । हाई–टेन्सनका १ सय ५ वटा र लो–टेन्सनका ८ सय ७८ वटा पोल भने पुगिसकेको प्राधिकरणको वितरण केन्द्रले जनाएको छ । 
 
यस्तै, ८ वटा ट्रान्सफर्मर पुग्नुपर्नेमा अझै ६ वटा पुग्न सकेका छैनन् । प्राधिकरणले आवश्यक सामग्री पठाउन नसक्दा करिब डेढ महिनाअघि विद्युतीकरणका लागि ६ महिना म्याद थप भएको प्राविधिक प्रमुख महतोले बताए ।
 
सामान पुगेका र जडान भइसकेका केही ठाउँमा गत १४ फागुनमा टेस्टिङ र चार्जिङ पनि गरिएको छ । डिकुवामा अझै हाई–टेन्सनकै ६५ वटा पोल अभाव रहेको वडाध्यक्ष हरिकुमार खड्काले बताए ।
 
खड्काका अनुसार बाहुनीडाँडामा हाइटेन्सनकै ४० वटा पोल अभाव छ । धेरैजसो ठाउँमा ठेकेदारको ढिलासुस्तीका कारण निर्माण अवरुद्ध हुने गरेको छ तर बाहुनीडाँडा र डिकुवामा भने प्राधिकरणकै कारण विद्युतीकरणको काममा ढिलासुस्ती देखिएको हो । 
 
 
 
विद्युतीकरणको काममा भइरहेको ढिलासुस्तीविरुद्धमा बाहुनीडाँडाका वडाध्यक्ष राई गत १९ माघमा प्रशासन, विद्युत् प्राधिकरणलगायतका कार्यालयमा डेलिगेसन जाने तयारी गरेका थिए । तर, नगरपालिकाकै दबाबपछि पछि हट्नु परेको राईले सुनाए ।
‘विद्युतीकरणमा अति नै ढिलासुस्ती भयो । ठेकेदारले टेरेन, प्राधिकरणले पनि हाम्रो कुरा सुनेन,’ वडाध्यक्ष राईले भने, ‘प्रदेशबाटै सामान आएन भन्दै आलटाल गर्ने काम भइरहेको छ ।’
 
आवश्यक सामग्री अभावमा खोटाङकै साकेला गाउँपालिकामा समेत विद्युतीकरणको काममा असर पुगेको छ । तार अभावमा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, मात्तिम र खिदिमामा विद्युतीकरण प्रभावित भएको हो ।
 
खिदिमामा ३० किलोमिटर तथा मात्तिम र बाँझेच्यानडाँडामा २२ किलोमिटर तार अभाव नहुँदा विद्युतीकरणको काम रोकिएको हो ।प्राधिकरणका प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारीले सामान आउने क्रम जारी रहेकाले काम अघि बढ्ने दाबी गरे । ‘कोरोनाले पनि असर ग¥यो । हाल सामान आपूर्तिका लागि गरिएको बोलपत्रबाट सामान आउने क्रम जारी छ,’ तिवारीले भने, ‘४÷५ महिनापछि गत आव र चालू आवको काम सँगसँगै अघि बढ्छ ।’ पालिका खबरदाता

प्रतिक्रिया