भर्खरै

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

  • प्रकाशित मिति : Fri-12-Mar-2021
  • - रासस
title

दार्चुला, फागुन । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ ।
 
जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेको छ । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले विद्युत् उत्पादनको थालनी भइरहेको छ ।
 
शैल्यशिखर नगरपालिका–१ बलाँचमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले चार वर्षअघिबाट विद्युत् उत्पादन शुरु गरिसकेको छ । चमेलिया जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण, सिजीजिसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण गरेको हो ।
 
सन् २००७ देखि निर्माण शुरु गरिएको यस आयोजनाको शुरुमा रु आठ अर्बको लागत अनुमान गरिएको भए पनि झण्डै रु १५ अर्ब ६० करोडमा आयोजना निर्माण भएको हो । यो विद्युतबाट अहिले सुदूरपश्चिम उज्यालो बनेको छ । नौगाड गाउँपालिकामा आठ मेघावाट क्षमताको अपर नौगाड र ८।५ मेघावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको छ । नौगाड खोलामा उत्पादन भएको विद्युत्लाई चमेलिया जलविद्युत् आयोजनाको शव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा विद्युत् जडान गरिएको छ । 
 
निजी क्षेत्रको अपि पावर कम्पनीले यी दुवै जलविद्युत् निर्धारित समयमै निर्माण सकेको हो । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको आयोजनाले गत वर्षबाट विद्युत् उत्पादन शुरु गरेको हो । मार्मा गाउँपालिका–२ घट्टेगाडमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेघावाटको अपर चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । 
 
अपि हाइड्रो प्रालिले निर्माण गर्न लागेको यस आयोजनाको चार महिनाअघिबाट काम शुरु गरिएको हो । अहिले आयोजनास्थलमा निर्माणको काम तीव्र गतिमा भइरहेको अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताउनुभयो । “अहिले सबै काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “निर्धारित समयमै काम सक्ने योजना छ ।”
 
बीस महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाले अहिले काम गरिरहेको छ । आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ । अपि पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको जलविद्युत यो तेस्रो हो । दुई सय पाँच मिटर हेड ९उचाइ० रहेको आयोजनाका लागि ३।२ मिटर ब्यास ९डायमिटर० को करीब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।
 
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सवस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । यस्तै अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड हाइड्रो निर्माणाधीन छ । दुई वर्षभित्रै निर्माण सक्ने गरी अहिले आयोजनाको काम चलिरहेको छ । 
 
जिल्लामा १३।९४ मेघावाट क्षमताको क्षतिगाड जलविद्युत् आयोजना, ३५ मेघावाटको मध्यचमेलिया जलविद्युत् आयोजना पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् । यस्तै यही खोला र आसपासका खोलाबाट विद्युत् निकाल्ने गरी कयौँ परियोजनाले डिपिआर तयार गरी निर्माणका लागि इजाजत लिने प्रक्रियामा रहेका छन् ।  
 
यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश, स्थानीयको सहभागितामा अपिहिमाल गाउँपालिकाको वडा नं ३ छति र वडा नम्बर ६ मज्जे खोलामा १०० किलोवाट क्षमताको विद्युत् निर्माणाधीन छ । क्षतिगाडमा निकस्ने विद्युत् नयाँ वर्षसम्म बाल्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल बताउनुहुन्छ । विकट क्षेत्रमा निकै मेहनताका साथ काम भइरहेको छ । अपि उज्यालो बनाउने अभियानअन्तर्गत यो विद्युत् निर्धारित समयमै सम्पन्न गर्ने गरी काम हुँदैछ ।
 
यस्तै अपिहिमाल–३ कै काटैमा १० किलोवाट क्षमताको विद्युत् गृह निर्माण हुँदैछ । मार्मा गाउँपालिकाको वडा नं २ घट्टेगाडमा २४ किलोवाट क्षमताको लघु जलविद्युत् निर्माणको अन्तिम चरणमा छ । विद्युत्को सफल परीक्षण भएको छ । निर्माणको काम थोरै बाँकी रहेको निर्माण समितिका अध्यक्ष कृष्णसिंह विष्टले बताउनुभयो ।
 
यसअघि जिल्लामा गरिबी निवारण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा लघु जलविद्युत् उत्पादनको काम भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्करमा समेत गरिबी निवारण कोषमार्फत विद्युत् निर्माण गरिएको छ । कालापानी नजिकैका गाउँमा हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेर विद्युत् निर्माण गरिएको हो । 
 
जिल्लामा गरिबी निवारण कोषको सहयोगमा विगतमा ४८ वटा साना लघु जलविद्युत् निर्माण गरिएको छ भने पाँच हजार ९६३ घरधुरीमा विद्युत्को पहुँच पुगेको जनाइएको छ ।

प्रतिक्रिया