भर्खरै

अन्तरदेशीय बिजुली निर्यातका लागि कार्यविधि ल्याउने तयारीमा

  • प्रकाशित मिति : Mon-15-Mar-2021
  • - Admin
title

काठमाडौं, चैत । ऊर्जा मन्त्रालयले अन्तरदेशीय विद्युत व्यापारका लागि कार्यविधि ल्याउने तयारी भएको छ । 
भारत सरकारले गत फागुन १४ मा अन्तरदेशीय विद्युत व्यापार कार्यविधि जारी गरेपछि नेपाल सरकारले पनि कार्यविधि ल्याउने तयारी थालेको हो ।
आवश्यक विद्युत स्वदेशमा खपत गरेर पनि उपयोग गर्न नसकेको विद्युत अन्तरदेशमा निर्यात गर्न मन्त्रालयले कार्यविधि ल्याउने तयारी थालेको छ । 
मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधु भेटवालका अनुसार यस विषयमा केही समयअघि नै ऊर्जा मन्त्रालयसहित नेपाल विद्युत प्राधिकरण लगायतका निकायका अधिकारीहरुको एक कार्यदल गठन भइसकेको र यो कार्यदल पछिल्ला दिनमा सक्रिय भएको बताए । 
 
भारतले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता–बिक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । नेपालले पनि तीनवटै माध्यमबाट भारत र बंगलादेशमा अन्तर्देशीय विद्युत व्यापार गर्न मिल्ने गरी कार्यविधि बनाउन लागेको मन्त्रालयले जनाएको छ ।
‘कार्यविधिमार्फत विद्युत व्यापारको विषयमा कुन काम, कुन निकायबाट, कसरी गर्ने भनेर प्रक्रियाहरु तय गरिनेछ,’ । यो कार्यविधिले आएपछि आगामी वर्षायाममा नेपालमा खेर जान सक्ने बिजुली भारतमा बिक्री गर्ने बाटो खुल्नेछ ।
 
हाल नेपालको विद्युत उत्पादनको जडित क्षमता करिब १५ सय मेगावाट पुगेको छ । निजी क्षेत्रका आयोजनाबाट ७२८ मेगावाट विद्युत् उत्पादन हुन्छ । तामाकोसी जलविद्युत आयोजनाको समेत गरेर आर्थिक वर्ष २०७७÷७८ मा करिब ८२५ मेगावाट बिजुली प्रणालीमा थपिने अनुमान छ । 
नेपालको प्रणालीमा उच्चतम् लोड १४७५ मेगावाट रहेकाले वर्षायाममा उत्पादन हुने सबै बिजुली देशभित्र खपत हुन सक्दैन । विद्युत प्राधिकरणले निर्माणाधीन आयोजनाबाट उत्पादन हुने करिब ३ हजार ३०० मेगावाट विद्युत पनि केही वर्षभित्र किन्नुपर्छ । छ हजार मेगावाट बराबरका आयोजनासँग प्राधिकरणले ‘लेऊ वा तिर’ (पीपीए मोडालिटी) मा सम्झौता गरेको छ ।
यो कारण वर्षयाममा बढी हुने विद्युत भारतलाई बेच्नु प्राधिकरणका लागि अनिवार्य छ । त्यसो हुन नसके अर्बौ रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने अवस्था छ । गत वर्षायाममा नै रातिको समयमा २०० मेगावाटसम्म बिजुली खपत हुन नसकेर खेर गएको थियो । भारतले आफ्नो कार्यविधि ल्याइसकेकाले नेपालले पनि यस्तो कार्यविधि जारी गरेर यस्तो जोखिम टार्नेछ ।
 
नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ ।
आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्नका लागि प्रस्ताव राख्छन् । यस्ता डे–अहेड वा टर्म अहेड बजारमा विदेशबाट आयातित बिजुली बेच्न भारतको अन्तरदेशीय विद्युत व्यापार निर्देशिकाले बाटो खुला गरेको छ ।

प्रतिक्रिया