भर्खरै

पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण सुरु गर्न, चिनिया“ टोली नेपाल आउँदै

  • प्रकाशित मिति : Tue-16-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं चैत । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको  अन्तिम नतिजाका लागि चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ ।
 
खानी तथा भूगर्भ विभाग काठमाडौंले दिएको जानकारी अनुसार अन्तिम ‘ड्रिलिङ’का लागि सडक यातायातको अवस्था, अन्य पूर्वाधारको तयारी लगायतका विषयमा अनुगमन गर्न टोली नेपाल आउन लागेको हो  । 
 
टोलीले अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुंगो लगाउने छ ।
अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेख वा नेपालको कुन भूभागमा कति परिमाणमा पेट्रोलियम छ भन्ने टुंगो लाग्नेछ । त्यसपछि व्यावसायिक रूपमा उत्पादनका कामहरू अघि बढ्ने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । 
पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । चीन फर्किएसँगै अन्तिम सर्वेक्षणका लागि  चिनियाँ टोली कोरोना महामारीका कारण केही समय रोकिएको थियो ।
 जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ अध्ययनका लागि टोली नेपाल आउन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले विद्युत संसारलाई बताए । उनले ‘विज्ञसहित २३ जनाको टोली चैत १९ (अप्रिल१)मा नेपाल आउने प्रक्रिया भइरहेको बताए ।
०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।
उक्त सहमति अनुसार २०७६ फागुनमा खानी तथा भूर्गभ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढ्न लागेको हो । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ ।
 
दैलेखको भैरवी गाउँपालिकाका, दुल्लु नगरपालिकाका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाका केही क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।
पहिलो चरणको सर्भेको नतिजा सकारात्मक आएका कारण अन्तिम अन्वेषणको काम सुरु गरिएको हो । दैलेखका  भैरवी, दुल्लु, डुंगेश्वर, नारायण, चामुण्डा बिन्द्र्रासैनी, महाबु गाउँपालिकासँगै जिल्लाका सीमावर्ती क्षेत्रहरू कालिकोट, जाजरकोट, अछाम र सुर्खेतका केही भूभागहरूमा चिनियाँ टोलीले सर्भेका कामहरू सम्पन्न गरिसकेको छ । 
 
०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मातृका यादवसहितको टोलीले दैलेखको नाभिस्थानमा आएर पेट्रोलियम अन्वेषणको औपचारिक कामको सुरुवात गरेको थियो । यसअघि तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोलीले ०७२ सालमै अन्वेषणको काम सुरु गरेको घोषणा गरेका थिए । अन्वेषणको सबै रकम चीन सरकारले नै व्यर्हाेने छ ।

प्रतिक्रिया