भर्खरै

मकवानपुरको सबै गाउँपालिकामा विद्युतीकरण

  • प्रकाशित मिति : मंगल, चैत १०, २०७७
  • - Admin
title

बाग्मती, चैत । मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिका–१ को  सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भएको छ । आजदेखि त्यस क्षेत्रका जनताले बिजुली बाल्न शुरु गरेको बताइएको छ । वडाको खोलाखर्क र फुलढुङ्गामा विद्युतीकरण भएसँगै सो वडाका ४२० घरमा बिजुली बलेको वडा नं  १ का  अध्यक्ष पेमा योञ्जनले जानकारी दिए ।
 
गत आवमा  नेपाल विद्युत् प्राधिकरण मार्फत उक्त क्षेत्रमा जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो पु¥याउने अभियान शुरु भएको थियो । सोही अभियानबमोजिम प्राधिकरणको बजेट विनियोजन गरी  कार्यान्वयन गर्दा कैलाश गाउँपालिका–१ मा पूर्णरुपमा बत्ती बलेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले जानकारी दिए ।
 
कैलाशसँगै मकवानपुरको थाहा नगरपालिका, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका दुर्गम गाउँमा पनि विद्युतीकरणको काम भइरहेको प्राधिकरण विद्युत् वितरण केन्द्र शाखा कार्यालय पालुङले जनाएको छ । केन्द्रका प्रमुख विनोद अधिकारीले योजनाबद्धरुपमा ग्रामीण विद्युतीकरणमा जोड दिएको बताए । कैलाश गाउँपालिका–१ मकवानपुरको थाहा नगरपालिकाबाट तीन घण्टाको यात्रापछि मात्रै पुगिने धादिङ जिल्लासँग जोडिएको छ ।   

प्रतिक्रिया