सम्भावनाको बीचमा निरासाको चोट

  • प्रकाशित मिति : बुध, चैत ११, २०७७
  • - विमला पौडेल, नेपालगञ्ज
title

हिमालय शृंखलामा अवस्थित नेपाल भौगर्भिक विविधतायुक्त भएकाले विभिन्न प्रकारका धातु, अधातु र प्राकृतिक इन्धनको प्रचुर सम्भावना भएको देश हो । नेपालमा निर्माण सामग्री र प्राकृतिक ग्यास तथा तेल देखि कोइला, युरेनियम, फलाम, तामा, सिसा, सुन चाँदी आदिको पाइने सम्भावना बोकेको छ । 
 
खानी तथा भूगर्भ विभागले वल्र्ड बैंकलगायत दातृ निकायको सहयोगमा सन् १९८० को दशकमा पेट्रोलियम पदार्थको सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले नेपालको धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज, मलंगवा, नेपालगन्ज, चितवन, जनकपुर, राजविराज र विराटनगरमा गरी दशवटा ब्लकमा पेट्रोलियम पदार्थ रहेको देखाएको थियो । तर ति सम्भावना बोकेका प्राकृतिक सम्पदाको खोजीमा सरकारको खासै चासो गएको देखिदैंन । 
 
अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले नेपालमै पेट्रोलियम उत्पादन गर्ने र छिमेकीको भर पर्नुनपर्ने बताएका थिए, तर अहिलेसम्म उत्पादन, उत्खनन, अन्वेषण त परैको कुरा, खानी कहाँकहाँ छन् भनेर विस्तृत सूची समेत तयार गरिएको छैन ।
 
नेपालले पेट्रोलियम पदार्थको आयातमा वार्षिक डेढ खर्ब रुपैयाँ खर्चिदै आएको छ । गत आवमा मात्रै नेपालमा १ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको सरकारी तथ्यांक छ । तर प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन हुन्छ भनेकै झण्डै पाँच वर्ष पुग्यो, उनले गरेको घोषणा केबल घोषणामै सीमित भएको छ ।
पेट्रोलियम पदार्थ उत्खनन कै लागि बजेटमा पनि घोषणा हुन्छ, तर काम हुँदैन । पछिल्ला हरेकजसो बजेटमा खानी उत्खनन गर्ने घोषणा गरिँदै आए पनि त्यसअनुसार काम भने हुने गरेको छैन । पेट्रोलियम आयातमा वार्षिक डेढ खर्ब बाहिरिँदै गइरहेको छ  भने स्वदेशमै पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सरकारी नीति भने अलपत्रजस्तै  बनेको छ ।
 
केही आशाको केन्द्रको रुपमा पेट्रोलियम पदार्थ अन्वेषण कामको अन्तिम नतिजाका लागि चिनियाँ विज्ञ टोली चैत १९ गते नेपाल आइपुग्ने भएको छ । यो हाम्रा लागि सुखद् खबर हो । अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेख सँगै नेपालको कुन भूभागमा कति परिमाणमा पेट्रोलियम छ भन्ने टुंगो लाग्नेछ । त्यसपछि व्यावसायिक रूपमा उत्पादनका कामहरू अघि बढ्न सहज हुने छ ।
पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । चीन फर्किएसँगै अन्तिम सर्वेक्षणका लागि  चिनियाँ टोली कोरोना महामारीका कारण केही समय रोकियो ।
 
दैलेखको भैरवी गाउँपालिकाका, दुल्लु नगरपालिकाका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाका केही क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याउनेछ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । 
भारतबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थको नियमित आयात भईरहँदा देशभित्र रहेका पेट्रोलियम खानीको अन्वेषण र उत्खननमा चासो नदेखाउने र पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएका बेलामात्र सो विषयमा चासो देखाउने गरेको आरोप सरकारमाथि लाग्ने गरेको छ । 
प्राकृतिक रुपमा सम्भावना नै सम्भावना बोकेको देश नेपाल आफँै वर्षैनी व्यापार घाटा व्याहोर्न पर्दा आम नागरिकमा निरास जाग्नु स्वभाविक हो । यसैले आफ्नो देशमा भएका खनिज तथा प्राकृतिक सम्पदाको खोजी तथा उत्खनन गरी देशको आर्थिक, सामाजिक र औद्योगिक विकासमा जोड दिई समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । त्यसैले यी स्रोतहरुको खोजी कार्यलाई सबै तवरबाट प्राथमिकतामा राखेर काम गर्नुपर्दछ ।  
 
सम्भावना पहिचान भएका खनिजको विस्तृत अध्ययन हुनु आजको प्रथम आवश्यकता हो । आफ्नो देशमा रहेका सम्पूर्ण खनिज तथा प्राकृतिक सम्पदाको पूर्ण अध्ययन गर्नु सरकारको पहिलो दायित्व हो । नयाँ प्रविधि र उपकरणका साथै सम्बन्धित विषय मात्रै देशको आर्थिक, सामाजिक र औद्योगिक विकासमार्फत देशको मुद्रा निर्यात, व्यापार घाटा नियन्त्रण गर्दै समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया