भर्खरै

चार्जिङ स्टेसन निर्माण थालिने

  • प्रकाशित मिति : शुक्र, चैत १३, २०७७
  • - लक्ष्मण दर्नाल/भउचप्रसाद यादव
title

काठमाडौँ, १३  चैत । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।
 
कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ (एलओआई) पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ । ”
 
एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको हप्ता दिनमा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउनेछ । ५० वटा स्टेसन निर्माणका लागि करिब ६० करोड रुपियाँ लागत अनुमान गरिएकोमा ग्लोबल टेन्डरमार्फत कम्पनीले करिब ३८ करोड रुपियाँको बोलपत्र दिएको थियो । सोहीअनुसार सम्झौता हुने प्रवक्ता तिम्सिनाको भनाइ छ ।
 
देशभर ५० वटा स्टेसन निर्माण गर्न १३ वटा कम्पनीले परियोजना प्रस्ताव पेस गरेका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच÷पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकताका आधारमा पूर्वपश्चिम राजमार्गमा राखिनेछ ।
प्राधिकरणका अनुसार प्रदेश १ को भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा प्रदेश २ को वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमास गण्डकी प्रदेशको नवलपुर (पूर्वी नवलपरासी), दमौली, स्याङ्जा र पोखरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ ।
 
त्यसैगरी लुम्बिनी प्रदेशको नेपालगन्ज, भालुवाङ, बुटवल, दाङ र बर्दघाट÷सुनवलमास कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ प्रणाली विकास गरिने प्रवक्ता तिम्सिनाले बताए ।
 
साधारण चार्जर प्रविधिले एउटा सवारीसाधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्छ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारीसाधन बढीमा एक घण्टा २० मिनेटमा चार्ज हुने गर्छ । सवारीसाधन एक पटक पूर्ण चार्ज भइसकेपछि ३५० किलोमिटरसम्म गुड्न सक्छ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटक तीन सवारीसाधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् ।
 
सुविधासम्पन्न स्टेसन
मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिनेछ । चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्नेछ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो, त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौैँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना र खाजाको व्यवस्था हुनेछ ।
 
मोतीपुरमा विद्युुतीय बसको एसेम्बल
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल राखिने भएको छ । नेपालको सुन्दर यातायात प्रालिसँग सहकार्य गरेर चीनको बीएके र एलडी मोटर्स कम्पनीले एसेम्बल प्लान्ट राख्ने भएका हुन् ।
 
नेपालमा एसेम्बल प्लान्ट राखेपछि एउटा विद्युतीय बसमा करिब ५० लाखसम्म सस्तो पर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुुभयो । तर एसेम्बल प्लान्ट राख्न उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट ढिलाइ भइरहेको अध्यक्ष थापाको भनाइ छ ।
उनले भने, “प्रधानमन्त्रीले पटक–पटक बोल्नुभएको छ । उहाँले चासो पनि दिनुभएको छ । त्यहीअनुसार हामीले मोतीपुरमा एसेम्बल प्लान्टको तयारी गरेका हौँ तर जग्गा उपलब्धलगायतका काममा ढिलाइ भइरहेको छ । सरोकारवाला निकायले छिटो पहल गरिदिनुप¥यो । ”
-गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago