भारतबाट आयात भइरहेको ८० मेगावाट बिजुली बन्द

  • प्रकाशित मिति : बुध, चैत १८, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । भारतको टनकपुर जलविद्युत् केन्द्र हुँदै नेपालमा ल्याइएकोे ८० मेगावाट बिजुली आयात बन्द भएको छ । भारतस्थित टनकपुर जलविद्युत केन्द्रको मर्मत कार्य गर्नुपर्ने भएकोले बिजुली आयात बन्द गरिएको हो । 
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले एक सूचना जारी गर्दै महेन्द्रनगर–टनकपुर १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली आयात बन्द भएको जनाएको छ । 
 
 विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका अनुसार बिजुली आयात बन्द हुँदा पश्चिम नेपालका अधिकाँश क्षेत्रमा अन्धकार भएको र त्यस क्षेत्रमा सञ्चालित उद्योगहरु समेत प्रभावित भएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार चैत १४ गते शनिबार देखि २० गते सम्म टनकपुर जलविद्युत् केन्द्र मर्मत गर्न समय लाग्ने भएकोले एक हप्ता विद्युत सेवा बन्द हुने जारी सूचनामा जनाइएको छ । यदि तोकिएको समय अगावै काम सम्पन्न भए अगावै पनि विद्युत आयात सुचारु हुने छ ।  
 
महेन्द्रनगर–टनकपुर १३२ केभी अन्तरदेशीय प्रशारण लाइनमार्फत आएको बिजुली अवरुद्ध हुँदा कञ्चनपूरको महेन्द्रनगर, कैलालीको अत्तरिया, पहलमानपुर, लम्की, भूरीगाउँ , बाँकेको कोहलपुर, कुसुम, दाङको लमही, शिवपुर र रुपन्देहीको बुटवल सवस्टेशनहरुबाट विद्युत् आपूर्ति हुने औद्योगिक करिडोरका उद्योग प्रभावित हुने छन् । 
विद्युत कटौतीले कोरोना महामारीपछि सञ्चालनमा आएका धेरै जसो उद्योगहरु प्रत्यक्ष मारमा परेका छन् । खासगरी, भैरहवा, बुटवल, दाङ, लमही, कञ्चनपुर, नेपालगन्ज, र महेन्द्रनगर क्षेत्रका साना तथा ठूला उद्योगहरु समस्यामा परेका छन्  ।
 
प्राधिकरणका जारी सूचना अनुसार बिजुली आपूर्ति बन्द भए पछि कुलेखानी आयोजना सञ्चालन गरी यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिरहेको छ । कुलेखानी आयोजनाको जडित क्षमता १०५ मेगावाट छ ।
महाकाली सन्धीअनुसार नेपालले टनकपुर आयोजनाबाट वार्षिक ७ करोड युनिट बिजुली निःशुल्क पाउँदै आएको छ । प्राधिकरणले ८० मेगावाट बिजुली व्यापारिक मूल्यमा भारतको विद्युत व्यापार गर्ने कम्पनी –एनभीभीएन) बाट खरिद गरेको हो । 

प्रतिक्रिया