भर्खरै

देशलाई सक्षम नेतृत्वको आवश्यकता छ

  • प्रकाशित मिति : बिही, बैशाख २, २०७८
  • - जगदिश्वर नरशिंह केसी नेता, नेपाली कांग्रेश /संविधान सभा सदस्य
title

 
मुलुकको राजनैतिक परिदृश्य भित्र रहेर अघि बढिरहेको नेपाली कांग्रेशका युवा नेता संविधान सभाका सदस्य जगदिश्वर नरशिंह केसीसँग विद्युत संसार साप्ताहिकका प्रधानसम्पादक रामप्रसाद पौडेलले गरेका कुराकानीको सम्पादित अंशः

जगदिश्वर नरशिंह केसी
नेता, नेपाली कांग्रेश /संविधान सभा सदस्य

देशको राजनैतिक परिदृश्य कसरी अगाडि बढेको छ ?
यतिखेर मुलुक कुन गतिमा अगाडी बढ्छ र बढ्नुपर्ने हो भन्नेमा नै दुविधापूर्ण रुपमा अगाडि बढेको छ । नेपाली जनताले पाँच वर्षको लागि बहुमतका साथ नेपाल कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्‍याएका थिए । तर तीन वर्ष पुरा नहुदै आफु–आफु बीच पदलोलुप्ताका कारण संसद विघटन गरी आन्तरिक झैझगडाका कारण सत्ता पक्ष र प्रतिपक्ष मात्र होईन आम जनता समेत अन्योलको भुमरीमा परेको देखिन्छ । 
असंवैधानिक कदम र प्रतिगमनको बाटोमा लागेर प्रधानमन्त्रीले जसरी संसद विघटन गरे यो मुलुकको लागि नै हानिकार भएकै कारण स्वतन्त्र न्यायलयले विघटित सांसदलाई पुनजिवित गरेको छ । संविधानका धारामा नै नभएको विषयलाई प्रधानमन्त्रीले तबरले सांसद विघटन गरे यसको विरुद्ध कांग्रेसले पहिले देखिने आवाज उठाउँदै आएको थियो । 
 
 स्वतन्त्र न्यायलयले असंवैधानिक कदमलाई प्रमाणित गराईसक्दा पनि सरकार राम्रोसँग चल्न सकेको छैन । यसैले मुलुक अझै अन्योलका बीचमै रुमलिएको छ । जसले गर्दा देश विकासको बाटोमा नै केही बाधा पुगेको मेरो बुझाई छ । यतिखेर देशलाई सक्षम नेतृत्वको आवश्यकता छ ।
 
नेपाली कांग्रेस कसरी अगाडि बढिरहेको छ ?
नेपाली कांग्रेस धेरै कठिन मोडमा पुगेको छ, किनभने हिजोको एमाले र माओवादी सहितको सरकार रहेको छ उनिहरु आफु बीचनै राजनैतिक द्धन्द्धमा हुनुहुन्छ । उनिहरु एकअर्काले विश्वासको मत फिर्ता नलिए सम्ममा कांग्रेस केही गर्न नसक्ने अवस्थामा रहेको छ । 
भोलीको दिनमा केपी ओलीको सरकार अल्पमतमा प¥यो, सरकार छाड्नुपर्ने अवस्था आएको खण्डमा प्रमुख प्रतिपक्षको हिसावले राजनैतिक दलहरु सँग त्रिपक्ष, बहुपक्ष वार्ताबाट सहकार्य गरी कांग्रेसले सरकार बनाउनेमा पछि पर्दैन । हाल यो परिस्थिति छैन् । 
 
 नेपाली कांग्रेस सत्ता भन्दा आफ्नो महाधिवेशन तर्फ केन्द्रित भएको हो ?
स्वभाविक रुपले भन्दा कांग्रेस १४औं महाधिवेशन केन्द्रित पनि भएकै हो यसो भन्दै गर्दा बीचमा सरकारमा जनुपर्ने अवस्था आएमा कांग्रेस पछि हट्दैन । जनताले दुई तिहाई मत दिएर पाँच वर्ष सरकार चलाउँ भन्दा समेत सरकार चलाउन सक्दैन भने कांग्रेस किन चुपबस्ने । सत्ता भन्दापनि अवसरको रुपमा १४औं महाधिवेशन केन्द्रित भएका छौ । हाल जिल्ला–जिल्लाबाट केन्द्रमा क्रियाशिल सदस्यहरुको विवरण आउनेक्रम जारी छ । क्रियाशिल सदस्यहरु फाईनल हुन साथ वडा देखि केन्द्र सम्मको महाधिवेशन गर्ने खाका आईसकेको छ यसैले कांग्रेसलाई भदौ महिना भित्र कुनैपनि हालतमा गर्नुपर्ने बाध्यकारी अवस्था छ । 
 
नेपाली काग्रेस आफ्नो विधान अनुसार चल्न नसकेको अवस्थामा मुलुकलाई कसरी चलाउन सक्छ भन्ने आरोप लाग्ने गरेको छ यस विषयमा के भन्न चाहनु हुन्छ ?
विधि र पद्धति विना चलेको भन्ने त होईन सबै राजनैतिक पार्टीहरु विधि र पद्धति अनुसार नै चलेको हुन्छ । यथार्थ हो विधि र पद्धति अनुसार हाम्रो महाधिवेशन चार वर्षमा हुनुपर्ने थियो त त्यसो हुन सकेन । यसको चाहान नेतृत्वमा भएकोलाई हुनुपर्ने हो तर उसमा चाहाना नभएकै कारण यस्तो अवस्था आएको हो । 
नेतृत्वकै कारण वर्षौ देखि महाधिवेशन नभएकाले भातृसंस्था पनि गतिहिन बनेको अवस्था छ । संविधानले दिएको अधिकारलाई नेतृत्वकर्ताले बेवस्था नगरिदिने हो भने यसले संगठनलाई अझ चुस्तदुरुत बनाउन मद्दत पुग्ने थियो ।
कानुनी विधि र पद्धतिको लागि लडेको कांग्रेसले आम जनतामा यस्ता प्रश्न उठाउन दिन हुँदैन थियो तर नेतृत्वकर्ताकै कारण यस्ता प्रश्न उब्जन थालेका छन् यो स्वाभाविक पनि हो । 
 
पार्टीलाई नेतृत्वकर्ताले नै धरापमा पारेको भन्न खोज्नु भएको हो ?
  यहि त भन्न मिल्दैन, तर भातृसंगठनहरुको समेत महाधिवेशन वर्षौ देखि हुन नसक्दा नेतृत्वकर्ता चुकेको भने पक्कै हो । कांग्रेसमा वडा देखि केन्द्र सम्मका पदाधिकारीहरु सबै तदर्थ समिति भएका छन यसमा कोभिडको प्रभाव पनि परेकै हो । अब भदौमा आउँदै गरेको महाधिवेशनलाई सफल पार्न हामी तयारी थालेका छौ ।
 
नेपाली कांग्रेसको अबको नेतृत्व कस्तो खालको आउनु पर्दछ ?
मेरो गुट यो हो भन्ने खालको नेताले नेतृत्व पाउन हँुदैन भन्ने पक्षमा म छु । पार्टीको सदस्यता दिएका सबैलाई साझा रुपमा लिएर नेतृत्व गर्नुपर्दछ भन्ने मेरो चाहाना हो । किनभने एउटा गुट भित्र रमाउने नेतृत्वले पुरा संगठनलाई चुस्त, दुरुस्त बनाउन सक्दैन । नेतृत्वकर्ता व्रिव्केस बोक्ने होईन योग्य चाहिन्छ ।

प्रतिक्रिया