भर्खरै

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

  • प्रकाशित मिति : बुध, बैशाख ८, २०७८
  • - रासस
title

काठमाडौँ, ८ वैशाख । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । 
 
कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उनका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्को वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उनको भनाइ छ । उनले भने, “यो वर्ष शुरु भएपछि अर्को वर्ष चार÷पाँच महिनामा सकिन्छ ।” 
 
केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ । विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिए । अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उहाँले जानकारी दिए । उनका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ । 
 
विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उनले बताए । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ । 
 
उपत्यकामा रहेका सबै बत्तीको कुन समयसम्म कुन बत्ती बल्ने भनी समयको निर्धारण र नियन्त्रणको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्तीका कारण सवारीसाधन व्यवस्थापन सजिलो बन्दै गएकाले उपत्यका र उपत्यका बाहिर पनि यसको माग आइरहेको छ । 
उपत्यका बाहिर पोखरा, वीरगञ्जलगायतका शहरी क्षेत्रमा पनि यसको माग छ । अहिलेसम्म काठमाडौँ उपत्यका बाहिरमा पोखरामा एउटा चोकमा बत्ती जडान भएको छ । विस्तारको क्रममा रहेको वीरगञ्ज–पथलैया सडकका विभिन्न खण्डमा बत्ती जडान गरिने भएको छ । सडक निर्माणको ठेक्कामा नै बत्ती जडान  समेटिएको बताइएको छ । काठमाडौँ उपत्यका बाहिरका जनसङ्ख्या र सवारी चाप बढी भएका शहरमा यसको माग गर्ने क्रम बढिरहेको छ । 
 
काठमाडौँ उपत्यकामा केही वर्ष पहिले नै विभिन्न चोकमा बत्ती जडान भएपनि प्रयोगमा आउन सकेको थिएन । जडीबुटी, कोटेश्वर, थापाथली लगायतका चोकमा कुनै निकायको सहयोगमा र कतै परीक्षणका लागि बत्ती जडान भएपनि प्रयोगमा आउन नसकेको हो । 
 
बत्ती नहुँदा सवारीसाधनको व्यवस्थापनको काम ट्राफिक प्रहरीले चोक चोकमा उभिएर गर्दै आएका थिए । अहिले बत्ती जडान भएका स्थानमा कम सङ्ख्यामा मात्रै ट्राफिक प्रहरी खटिएको देख्न सकिन्छ । विभागले चालु आबमा विभिन्न स्थानमा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । अहिलेसम्म चक्रपथ वा चक्रपथभित्रका स्थानमा मात्रै ट्राफिक बत्ती जडान भइरहेकामा उपत्यकामा चक्रपथको बाहिरी क्षेत्रमा यसको माग बढिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago