भर्खरै

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

  • प्रकाशित मिति : बिही, बैशाख ९, २०७८
  • - रासस
title

काठमाडौँ, ९ वैशाख । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव एक प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलव आठ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।
 
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ अनुसार सेवा क्षेत्रअन्तर्गत कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव चार प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । त्यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८ दशमलव छ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी  छ ।
 
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले यस्तो सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल १५३ कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा  प्रतिवेदन तयार पारिएको बैंकले जनाएको छ ।
 
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आव २०७५/७६ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानी आठ दशमलव आठ प्रतिशतले कमी आई रु १८२ अर्ब ९२ करोड कायम रहेको छ । कूल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ४८ दशमलव दुई प्रतिशत, रिजर्भ ४२ दशमलव आठ प्रतिशत र कर्जाको अंश नौ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।
 
यसैगरी २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये भारतबाट सबैभन्दा बढी रु ५६ अर्ब पाँच करोड र त्यसपछि क्रमशः चीनबाट रु २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट रु ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट रु आठ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया