भर्खरै

गौरवमय ऐतिहासिक धरहराः महाविनासकारी भुकम्पको ६ वर्ष पछि ठडियो भरिपूर्ण विशेषता सहित

  • प्रकाशित मिति : आइत, बैशाख १२, २०७८
  • - शिखर श्रेष्ठ
title

काठमाडौं १२ बैशाख । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी हिजो शनिवार ११ गते ऐतिहासिक धरहराको उद्घाटन गरेका छन् । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले २२ तले धरहराको उद्घाटन गरेका हुन ।
 
धरहराको उद्घाटनपछि मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नवनिर्मित धरहरा अब कहिल्यै नढल्ने बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिम पटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’
 
 
उनले यसको संरचना आफ्नै अवधारणा अनुसार निर्माण भएको भन्दै खुशी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘धरहरामा पार्किङस्थल लगायतका अन्य संरचना र पुरानो भग्नावशेषलाई संरक्षण गर्नेबारे मैले एकखालको अवधारणा दिएको थिएँ । त्यही अनुसार पुरातत्व विभाग लगायतका डिजाइनरले ती कुराहरुलाई ध्यानमा राखेकोमा म धन्यवाद दिन चाहन्छु ।’
 
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले घरघरमा साँझ दीपावली गर्न आव्हान गरे । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भएको उनको भनाई थियो ।
 
औपचारिक कार्यक्रमका अध्यक्षा गरेका पुननिर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ को भूकम्पबाट ढलेको धरहरा पुनः उठेसँग नेपालीहरुको आत्मविश्वास अझ उँचो भएको बताए । पुनर्निर्माणका क्रममा निजी आवासलगायतमा भएका प्रगतिहरुका बारेमा उल्लेख गर्दै उनले पुनर्निर्माण सम्पन्नताको चरणमा पुगेको बताए ।
कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, संघीय संसदका सदस्यहरु नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
 
 
तत्काल सार्वसाधारणलाई खुला नहुने

धराहरा बनेपनि अरु संरचना निर्माण भइरहेकाले सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण भइरहेको छ ।
 
प्राधिकरणका  अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ । ‘निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता अनुसार समयमा काम सकिएमा ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिने छ।
 
यस्ता छन् पुनर्निर्मित धरहराको मुख्य विशेषता

 बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भुईंतलासहित २३ तला हुनेछ । यसरी समग्रमा धरहरा २५ तल्लाको हुनेछ ।  जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ ।
 धरहराभित्र २ वटा लिफ्ट हुने छन। एकपटकमा १० जनाले यात्रा गर्न  सक्ने छन । यसबाट बृद्धवृद्धा एव अपाङ्गता भएका व्यक्तिहरुलाई धरहरामाथिको पहुँचमा सहजता हुनेछ । साथमा फलामको भ¥याङ पनि रहनेछ । धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औं तल्लाबाहिर २.५ मिटर चौडाईको बार्दली रहेको छ ।  २२औँ तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरा मुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भ¥याङबाट तल माथि गर्न सकिनेछ ।
 
 
यी हुनेछन् धरहरा क्षेत्रका मुख्य–मुख्य संरचना
 दुई तले भूमिगत संरचनासहितको धरहरा सँगै,  तीनतले भूमिगत पार्किङ, एउटा अर्ध–भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय, ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ विश्रामस्थल सहितको अत्यन्तै मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा, संरक्षित ऐतिहासिक भीमसेन स्तम्भ, संरक्षित ऐतिहासिक सुन्धरा जसमा हुनेछ २४ सै घन्टा पानी झर्ने व्यवस्था, धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल हुने प्राधिकरणले जनाएको छ ।
 
धरहराको इतिहास    

प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरासुन्दरीको सम्झनामा ६१.८८ मिटर अग्लो ११ तलाको धरहरा निर्माण गराएका थिए । १९९० सालको भूकम्पले उक्त धराहरा भत्काएको  दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो।    
 
  धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको
सम्झना स्वरूप निर्माण गरिएकोे ११ तले धरहरा यस धरहराको उचाई ६१.८८ मिटर थियो ।
 
त्यस्तै २०७२ बैशाख १२ गते गोरखा भुकम्पले ९ तले धरहरा फेरि तहसनहस बनाएको थियो । निकै लामो छलफल र तयारी पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो । निर्माणाधिन धरहरा हाल आधुनिक र  मजबुत धरहरा बनेको छ ।

प्रतिक्रिया