भर्खरै

माथिल्लो तामाकोसीको बाँधमा शनिबारदेखि पानी भर्न सुरु

  • प्रकाशित मिति : आइत, बैशाख १२, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा शनिबारदेखि पानी भर्न सुरु गरिएको छ । 
दोलखाको लामाबगरमा निर्माण भएको ४५६ मेगावाट जलविद्युत आयोजनाको बाँध (ड्याम) मा शनिबारबाट पानी भर्न सुरु गरिएको हो ।
 आयोजनाको सबै परीक्षण सकिएर बैशाखको अन्तिम वा जेठको पहिलो सातामा एउटा युनिट (७६ मेगावाट) बाट बिजुली उत्पादन प्रारम्भ गर्ने तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार बैशाख १५ देखि सुरुङमा पानी हाल्ने तयारी भइरहेको छ । आठ दशमलव चार किलोमिटर लामो हेडरेस टनेल (मुख्य सुरुङ) भरिन १० देखि १२ दिन लाग्ने छ ।
 
आयोजनाको बाँधमा १२ लाख घनमिटर पानी जम्मा हुन्छ । ८२२ मिटरको उचाइबाट पानी खस्ने यो आयोजनाको बाँध र सुरुङमा पानी भर्दै सँगै परीक्षण गर्दै जाने र परीक्षणका सबै प्रक्रिया पूरा गरेपछि बिजुली उत्पादनका लागि बल्ल जेनेरेटर सञ्चालन गरिने कार्यसूचि छ ।
 
श्रेष्ठका अनुसार आयोजनामा यतिखेर केही झिना मसिना कामहरु बाँकी रहेको र त्यस्ता काम आज वा भोलिसम्म पूरा हुने छ । ‘पानी भर्न सुरु गरेपछि हामी औपचारिक तवरबाटै गर्नेछौं,’ हिजो बाँधमा पानी भर्दा हिन्दू, बौद्ध र लामा गुरुहरुले धार्मिक तथा सांस्कृतिक तवरबाट पूजाआजा गरी प्रारम्भ गरिएको थियो ।
यो आयोजना २०७३ सालमा पूरा हुनुपर्ने कार्यतालिका तय भएपनि भूकम्प, नाकाबन्दी, डिजाइन परिवर्तन र इलेक्ट्रो–मेकानिकल लटको ठेकेदारको लापर्वाहीले ढिला भएको छ । निर्धारित समयभन्दा निर्माण कार्य पूरा नभएकाले यसको लागत पनि वृद्धि भएको छ । सुरुको अनुमानित लागत करिब ४४ करोड १० लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजबाहेक) थियो । अहिले यसको लागत करिब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 
 
 
माथिल्लो तामाकोसीमा ६ वटा युनिट छन् । प्रत्येकको क्षमता ७६ मेगावाट छ । यो आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट हुने वार्षिक आम्दानीले हरेक वर्ष सय मेगावाटको आयोजना निर्माण गर्न सकिन्छ । 

प्रतिक्रिया