भर्खरै

‘ग्यास र पेट्रोलियम आपूर्ति सहज’

  • प्रकाशित मिति : सोम, बैशाख १३, २०७८
  • - Admin
title

काठमाडौँ,१३ वैशाख । कोरोना महामारीका कारण ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा असहज नहुने बताइएको छ । नेपाल आयल निगमले आपूर्ति सहज भएकै अवस्थामा भण्डारण क्षमता पूर्ण राख्न डिपोहरूलाई निर्देशन गरेको छ । एलपी ग्यासको भण्डारण बढाउन उद्योगीलाई परिपत्र गरेको छ ।
 
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “भारतमा दिन प्रतिदिन महामारी बढिरहेको छ, जसले गर्दा पेट्रोलियम पदार्थको आपूूर्तिमा सहज नहुन पनि सक्छ तर हामी पूर्व तयारीमा छौँ । ” उनले त्यसका लागि पूर्ण क्षमताको भण्डारमा जाने भएकाले बजारमा ग्यास पाइँदैन कि तेल पाइँदैन कि भनेर चिन्ता गर्नु नपर्ने बताए । विगतमा छ महिना बन्दाबन्दी हुँदा पनि सहज रूपमा काम गरेको उनले उल्लेख गरे ।
 
उपभोक्ता अधिकारवादीले पनि भण्डारण वृद्धिसँगै सचेत गराउने काम भइरहेकाले उपभोक्ताहरू डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, “विगतमा जस्तै समस्या नहोस् भनेर ग्यास उद्योगीले खाली भएका सिलिन्डर भर्न लगाएका छन्, सचेत गराएका छन् । ” उनले भोलिको अवस्थालाई कसैले उपेक्षा गर्न नमिल्ने हुँदा बेलैमा सचेत गराउने काम सकारात्मक रहेको बताए ।
 
नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोनाको महामारी बढ्न थालेको जनाउँदै घरमा रहेका खाली सिलिन्डर भरेर राख्न दुुई दिनअघि सूूचना जारी गरेको थियो । ग्यासको अभाव नहोस् भनेर पहिल्यै अनुरोध गरिएको सङ्घले जनाएको छ । असहज परिस्थिति आउन सक्ने सम्भावना पनि रहेकाले खाली सिलिन्डर छन् भने भर्न लगाइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताए ।
 
उनले भने, “गत वर्ष आपूर्ति सहज हुँदा पनि सबैले एकैचाटी खाली सिलिन्डर ल्याउँदा असहज भयो त्यसो नहोस् भन्नका लागि सचेत गराइएको हो । ” उनले भने, “उपभोक्ताले सिलिन्डर भरेर हाम्रो माग बढ्ने होइन, भण्डारमा सुविधा हुने हो, त्यो सबैका लागि हो, यसमा पैसा कमाउन खोजे भन्ने हिसाबले बुझ्नु भएन । ”
हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल करिब २० हजार मेट्रिक टन मौज्दात छ । जुन १५ दिनलाई पुुग्ने ग्यास हो । 
–गोरखापत्र

प्रतिक्रिया