माथिल्लो त्रिशूली ३ बी निर्माण सुचारु, सम्पन्न हुन अझै दुई वर्ष लाग्ने

  • प्रकाशित मिति : मंगल, बैशाख १४, २०७८
  • - Admin
title

काठमाडौँ १४ वैशाख । कोरोना महामारीका कारण निर्माण अवरुद्ध भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण १४ महिनापछि सुचारु भएको छ । महामारीको पहिलो लहरसँगै गत फागुनमा निर्माण रोकिएको ३७ मेगावाटका आयोजना चिनियाँ प्राविधिक फर्किएपछि काम सुरु गरिएको आयोजनाले जनाएको छ ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समेटिएको यो आयोजना २०७७ फागुनभित्र सक्ने लक्ष्य थियो तर कोरोना प्रभावका कारण भएको ढिलाइले आयोजना सम्पन्न गर्ने लक्ष्य करिब दुई वर्षपछि धकेलिएको छ ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम भइरहेको आयोजनाको निर्माण करिब १४ महिना ठप्पप्रायः थियो ।
 
निर्माणका लागि ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत् गृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो । कामदार फर्किए पनि चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा सकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माण स्थलसम्म ल्याउन भने अझै समस्या छ । यो समस्या समाधान गरिदिन चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गर्नुभयो ।
 
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।
 
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बी ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनुपर्ने छैन । ३ ए को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । गौतमका अनुसार ३ ए को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन थालिएको आयोजनाले जनाएको छ ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया